३२ असार २०८३, बिहीबार

अवकाशमा जानै लागेका बेला महानिर्देशक कुमार दहालको सरुवा

साउन २८, २०८२
काठमाडौं
अवकाशमा जानै लागेका बेला महानिर्देशक कुमार दहालको सरुवा

अन्ततः वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक दहालको सरुवा गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशक दहाललाई समावेशी आयोगमा सरुवा गर्ने निर्णय गरेको हो । 

वाणिज्य विभागमा आएलगत्तै अधिकतम खुद्रा बिक्री मूल्य अर्थात् एमआरपी लागू गर्ने र निजी विद्यालयको शुल्कमा अनुगमन अभियान चलाएका दहाललाई लामो समयदेखि सरुवा गर्ने कसरत चलिरहेको थियो । 

गत फागुन अन्तिम साता विभागमा आएका दहाल ३ महिनापछि अनिवार्य अवकाशमा जाँदै थिए । 

२०७३ सालमा  उपसचिवबाट खुला प्रतिस्पर्धामार्फत् सहसचिवमा सिफारिस भएपछि दाहालको पहिलो जिम्मेवारी नै वाणिज्य विभागको महानिर्देशकमा भएको थियो । तर, ११ महिनापछि उनलाई सरुवा गरिएको थियो । 

करिब ९ वर्षपछि वाणिज्य विभागमा दोहोरिएका दहाललाई ६ महिना नबित्दै सरुवा गरिएको थियो । विभागमा करिब ९ वर्षपछि दोहोरिएका महानिर्देशक दहाल बजारमा एमआरपी अनिवार्य गरेपछि व्यापारीहरूका छाता संठनहरूले शुरूमै आपत्ति जनाएका थिए ।

सरकारले प्रत्येक उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरेको छ । यसका साथै, उपभोग्य वस्तुहरूमा सम्पूर्ण विवरण खोलेर लेभल समेत लगाएको हुनुपर्ने व्यवस्था समेत गरिएको छ । 

अनिवार्य गरिएको व्यवस्थालाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडाइका साथ लागू गरेपछि व्यवसायीहरूले आपत्ति जनाएका थिए । यसका साथै वीरगञ्ज उद्योग वाणिज्य संघ, मोरङ उद्योग व्यापार संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शुरूआतदेखि नै विभागले अनिवार्य गरेको एमआरपीलाई नमान्ने अडान लिएका थिए । 

निजी विद्यालयहरूका छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)ले संयुक्त रूपमा उद्योग मन्त्री दामोदर भण्डारीलाई भेटेरै विभागले गरेको अनुगमनका विषयमा आपत्ति जनाएका थिए ।  

बजार अनुगमनलाई बढाएपछि सानादेखि ठूला व्यवसायीहरूसम्म आत्तिएको भन्दै व्यापारिक छाता संगठनहरूले आपत्ति नै जनाएका थिए । 

२०४७ सालमा नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका कुमार दहाल २०५५ सालमा शाखा अधिकृत भएका थिए । २०६२ सालमा उपसचिव भएका दहाल २०७३ सालमा सहसचिव भएका हुन् । सहसचिव भएपछि उनको पहिलो पदस्थापन तत्कालीन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग अर्थात् हालको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकका रूपमा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्