३० असार २०८३, मंगलबार

आज कृष्णजन्माष्टमी, यसरी गर्नुस् पूजा आराधना

साउन ३१, २०८२
काठमाडौं
आज कृष्णजन्माष्टमी, यसरी गर्नुस् पूजा आराधना

‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । 

यस अवसरमा देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने गर्छन् । 

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ । 

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए । 

यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, उपत्यकाको पूर्वी भेगस्थित गोठाटारको नवनतधाम र उत्तरी भेगस्थित बुढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कृष्ण मन्दिरमा पनि विशेष मेला लाग्दछ । 
यसै उपलक्ष्यमा देशभर विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन छ । 

सच्चा मनले व्रत गर्ने मानिसलाई मोक्षप्राप्ति हुन्छ र ऊ मोहमायाको बन्धनबाट मुक्त हुन्छ । कुनै कामना राखेर व्रत गर्दा त्यो कामना सिद्ध हुन्छ ।

जन्माष्टमीमा बिहान छिटो उठेर स्नान गर्नुपर्छ र सबै देवतालाई नमस्कार गरेर पूर्व वा उत्तरतिर फर्किएर मुख फर्काएर संकल्प गर्नुपर्छ । फलाहार व्रत गर्ने कि एकचोटि भोजन गर्ने कि त्यसअनुसारको संकल्प लिनुपर्छ ।

त्यसपछि माता देवकी र भगवान् श्रीकृष्णको चित्र वा प्रतिमा स्थापित गर्नुस् । भगवानलाई नयाँ वस्त्र अर्पण गर्नुस् ।

उनलाई पहेंलो वस्त्र चढाउनुपर्छ । पूजा गर्दा देवकी, वसुदेव, बलराम, नन्द, यशोदा र लक्ष्मीको नाम पनि उच्चारण गर्नुस् । अन्त्यमा माता देवकीलाई अर्घ्य दिनुस् । भगवान् श्रीकृष्णलाई फूल चढाउनुस् ।

राति १२ नबजुञ्जेलसम्म भजनकीर्तन, भागवत श्रवण गरिरहनुस् । मध्यरातमा उहाँको जन्मोत्सव मनाउनुस् । झुलामा उनको प्रतिमा झुलाउनुस् ।

पञ्चामृतमा तुलसी राखेर अनि मक्खन मिश्रीको भोग लगाउनुस् । आरती गर्नुस् र राति स्तोत्रहरू र गीता पाठ गर्नुस् । अर्को दिन बिहान फेरि स्नान गरेर व्रतपारायण गर्नुस् ।
 

salt training

कमेन्ट गर्नुहोस्