
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड र कार्यकारी समिति बैठक बस्न नसकेर लामो समयदेखि रोकिएको खेलाडीहरूको विशेष प्रशिक्षण पुन: शुरू भएको छ । मिसन– २०२६ अभियानमा समावेश गरिएकामध्ये पाँचवटा खेलको बन्द प्रशिक्षण फेरि शुरू भएको हो ।
राखेपको बोर्ड र कार्यकारी समिति बैठक बस्न नसक्दा मिसन– २६ अन्तर्गत महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा रहेका खेलाडीहरूको नियमित प्रशिक्षण लामो समयदेखि अवरुद्ध भएको विषयमा लोकान्तरले साउन २३ गते समाचार प्रकाशित गरेको थियो ।
‘विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडीमध्ये आइतबारदेखि पाँचवटा खेलको प्रशिक्षण फेरि शुरू भएको छ । अन्य खेलका खेलाडीको प्रशिक्षण पनि छिट्टै शुरू हुनेछ,’ मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टीम तयारीका उप–निर्देशक दीपक श्रेष्ठले भने ।
राखेपले आगामी एसियाली खेलकुद प्रतियोगितामा ऐतिहासिक स्वर्णसहित दोहोरो संख्यामा पदक जित्ने महत्त्वाकांक्षी लक्ष्यसहित मिसन– २०२६ सञ्चालन गरेको हो । यो अभियानअन्तर्गत एसियाली खेलकुदमा पदकको सम्भावना बोकेका विभिन्न खेलका खेलाडीले लामो समयदेखि अभ्यास गर्दै आएका थिए ।
तर, गत असार ३२ गतेदेखि मिसन–२०२६ मा रहेका खेलाडीको प्रशिक्षण रोकिएको थियो । लामो समय प्रशिक्षण अवरुद्ध हुँदा खेलाडीको प्रदर्शनमा नकारात्मक असर पर्ने भन्दै विभिन्न खेलका प्रशिक्षकहरूले चिन्ता व्यक्त गर्दै आएका थिए ।
हाल तेक्वान्दो, कबड्डी, भलिबल, कुस्ती र गल्फको प्रशिक्षण शुरू भएको जानकारी उप–निर्देशक श्रेष्ठले दिए । उनका अनुसार, अहिले विशेष प्रशिक्षणमा समावेश गरिएका विभिन्न खेलका खेलाडीको संख्यामा पनि वृद्धि भएको छ ।
लामो समयदेखि सञ्चालित विशेष प्रशिक्षणमा विभिन्न १० खेलका १२ टोली सहभागी छन् । विशेष प्रशिक्षणमा कराँते, तेक्वान्दो, बक्सिङ, उसु, जुडो, महिला कबड्डी, पुरुष कबड्डी, महिला भलिबल, गल्फ, कुस्ती, एथलेटिक्स र पारा तेक्वान्दोका खेलाडी सहभागी छन् ।
त्यसमध्ये, आइतबारदेखि शुरू भएको प्रशिक्षणमा तेक्वान्दो (पारा तेक्वान्दोसहित), महिला कबड्डी, महिला भलिबल र कुस्तीमा चार–चारजना खेलाडी थप गरिएको छ । त्यसपछि विशेष प्रशिक्षणमा तेक्वान्दोका १३, कबड्डीका १६, भलिबलका १६ र कुस्तीका १० खेलाडी पुगेका छन् ।
यसैगरी, गल्फमा एकजना खेलाडी थप गरिएको छ । अब विशेष प्रशिक्षणमा रहेका गल्फ खेलाडीको संख्या चार पुगेको छ । कराँतेमा पाँच र जुडोमा चारजना खेलाडी थपिएको छ । त्यसपछि विशेष प्रशिक्षणमा कराँते खेलाडीको संख्या १५ र जुडो खेलाडीको संख्या १० पुगेको छ ।
उसु, बक्सिङ र एथलेटिक्समा भने दुई–दुईजना खेलाडी थप गरिएको बताइएको छ । त्यसपछि विशेष प्रशिक्षणमा रहने उसु, बक्सिङ र एथ्लेटिक्स खेलाडीको संख्या १०–१० पुगेको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपका सदस्यसचिव टंकलाल घिसिङबीचको तिक्तताका कारण लामो समयदेखि राखेपको बोर्ड र कार्यकारी समिति बैठक बस्न सकेको छैन । सोही कारणले खेलाडीको विशेष प्रशिक्षण पनि प्रभावित हुँदै आएको थियो ।
राखेप स्रोतका अनुसार, विशेष प्रशिक्षणमा आर्थिक पक्षसमेत जोडिएकाले सम्बन्धित पक्षहरू सकेसम्म कार्यकारी समितिबाट निर्णय गराएरै प्रशिक्षण पुन: सुचारू गर्ने पक्षमा थिए ।
तर, प्रशिक्षण लामो समय अवरुद्ध भएपछि राखेपका सदस्यसचिव घिसिङले पछि कार्यकारी समिति बैठकबाट पारित गराउने गरी आफैंले विशेष प्रशिक्षण अघि बढाउने बाटो खुला गरिदिएका हुन् ।
हाल विशेष प्रशिक्षणमा १० खेलका खेलाडीमात्र समावेश गरिएकोमा अन्य खेल संघहरू पनि आफ्ना खेलाडीलाई विशेष प्रशिक्षणमा समावेश गराउन अनुरोध गर्दै आएको जानकारी राष्ट्रिय टीम तयारीका निर्देशक दीपक विष्टले दिए ।
‘अन्य खेल संघबाट पनि अनुरोध आएको छ । हामीमाथि पक्षपात किन ? भन्ने उहाँहरूको प्रश्न छ । तर, बजेटको सीमिताले गर्दा हामीले चाहेर पनि अन्य खेलका खेलाडीलाई विशेष प्रशिक्षणमा समावेश गराउन सकिरहेका छैनौं,’ उनले भने ।
यस विषयमा आफूहरूले सम्बन्धित निकायमा जानकारी गराइसकेको पनि उनले बताए ।
विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई नियमित प्रशिक्षणका अतिरिक्त खुराकका लागि दैनिक पाँच सय रुपैयाँ पनि उपलब्ध गराइँदै आएको छ । बन्द प्रशिक्षणका लागि छुट्याइएको हालको बजेटले आगामी ६ महिना मात्र थेग्ने अवस्था छ । त्यसपछि बजेटको अभावमा पुन: प्रशिक्षण प्रभावित हुने अवस्था छ ।
दक्षिण एसियाली र एसियाली खेलकुदमा पदक जित्ने सम्भावना बोकेका विभिन्न २५ खेलका तीन सय ८० जना खेलाडीलाई विशेष प्रशिक्षणमा राख्न बजेट सुनिश्चितताका लागि गत असारमै राखेपमा पत्र पठाइएको थियो ।
राष्ट्रिय टीम तयारीले यसका लागि ६ करोड ९१ लाख रुपैयाँ बजेट माग गरेको थियो । कार्यकारी समिति बैठकले पनि यसलाई अनुमोदन गर्दै प्रक्रिया अगाडि बढाएको थियो । तर, हालसम्म यस विषयमा कुनै निर्णय हुन सकेको छैन ।
‘राष्ट्रको गौरवसँग जोडिएको अभियान भए पनि विशेष प्रशिक्षणका लागि छुट्याइएको बजेट निकै कम छ । हालको बजेटले ६ महिना (माघ मसान्तसम्म) मात्र विशेष प्रशिक्षण सञ्चालन गर्न सकिन्छ । त्यसपछि के गर्ने अर्को समस्या छ । सम्भवत: कुनै विकल्प निस्किएला,’ विष्ट भन्छन् ।
नेपालले सन् १९५१ मा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना भएको एसियाली खेलकुदको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । तर, नेपालले एसियाली खेलकुदमा हालसम्म स्वर्ण पदक जित्न सकेको छैन ।
पहिलो संस्करणमा सहभागिता जनाएको ३५ वर्षपछि आएर मात्र नेपालले एसियाली खेलकुदमा पदक जित्न सकेको थियो । नेपालले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा आयोजित १०औं संस्करणमा पहिलोपटक पदक जितेको थियो । एसियाली खेलकुदको त्यो संस्करणमा नेपालले बक्सिङ र तेक्वान्दोमा गरी कुल आठवटा कांस्य पदक हात पारेको थियो ।
एसियाली खेलकुदमा सहभागिताको ७४ वर्ष लामो इतिहासमा नेपाल पदक तालिकामा रजतभन्दा माथि उक्लन सकेको छैन । नेपालले एसियाली खेलकुदमा हालसम्म तीनवटा रजत पदक जितेको छ । एसियाली खेलकुदको इतिहासमा नेपालको सबैभन्दा ठूलो उपलब्धि त्यही तीन पदक हो ।
सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न १३औं एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले पहिलोपटक नेपालका लागि रजत पदक जितेकी थिइन् ।
त्यसपछि सन् २०१८ मा इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा सम्पन्न १८औं एसियाली खेलकुदमा नेपालको प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो ।
यसैगरी, सन् २०२३ मा चीनको हाङ्झोउमा सम्पन्न एसियाली खेलकुदमा नेपालका लागि कराँते खेलाडी एरिका गुरुङले रजत पदक जितेकी थिइन् ।
पढ्नुहोस्, यो पनि :
राखेपमा न बोर्ड न त कार्यकारी समिति बैठक, रोकियो खेलाडीको प्रशिक्षण