
चितवन, २८ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायित्व र देश विकासका लागि वामपन्थी शक्तिहरुले ल्याएको एजेण्डालाई नेपाली जनताले अनुमोदन गरेको बताएका छन् ।
पत्रकार महासंघ चितवनले आयोजना गरेको शुभकामना कार्यक्रममा अध्यक्ष प्रचण्डले वाम गठवन्धनको उत्साहजनक जीतलाई विश्व समुदायले ध्यानपूर्वक हेरेको भन्दै वामपन्थीले जित्दा अधिनायकवाद आउँछ भनेर गरिएको प्रचारलाई अन्र्तराष्ट्रिय समुदायले पनि नपत्याउने बताए ।
वामपन्थीहरु नै बढी लोकतान्त्रिक भएको पुष्ट्याइ विगतका घटनाक्रमले गरेको उनको भनाइ छ । कांग्रेससहित केही शक्तिले वामपन्थीले जिते मुलुकमा अधिनायकवाद ल्याउने र निरंकुशता जन्मने बताइरहेका बेला प्रचण्डले सबै मिलेर जारी भएको लोकतान्त्रिक संविधान अनुसार नै नयाँ सरकार अघि बढ्ने बताए ।
एमाले स्थायी कमिटी सदस्य एवं चितवन– १ का नवनिर्वाचित सांसद् सुरेन्द्र पाण्डेले देशका विकासका लागि संकल्पसहितको सरकार र परिश्रमी जनता भए एक दशकमा देश बदलिने बताए ।