
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
जेनजी पुस्ताको आन्दोलनसँगै प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि नेपाली सेनाले छलफल अघि बढाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानअनुसार बुधबार दिनभर विभिन्न पक्षसँग संवाद गरेका प्रधानसेनापति अशोकराज सिग्देलले थप छलफलका लागि बिहीबार विभिन्न पक्षलाई बोलाएका छन् ।
बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा दुई पक्षबीच औपचारिक छलफल हुन सकेको थिएन । जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद बढेपछि नेपाली सेनाले जंगीअड्डा बाहिर पुगेका प्रतिनिधिलाई बिहीबारमात्रै ग्रुप लिडरको नाम लिएर आउन आग्रह गरेको थियो ।
००००
यसैबीच जेनजीको अधिकांश सदस्यले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेका छन् । सोहीअनुसार कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको होमवर्क भइरहेको छ । तर, उनको नाममा विवाद भने चलिरहेकै छ ।
विशेषगरी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले असन्तुष्टि पोखका हुन् । उनले कि आफू कि बालेनले नेतृत्व गर्नुपर्ने तर्क गर्दै आएका छन् । सोहीअनुसार उनी बुधबार जंगीअड्डामा समेत पुगेका थिए ।
००००
तर, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भने कार्कीको नेतृत्वमा सहमति जनाएका छन् । शाहले सोहीअनुसार अन्तरिम सरकार गठनका लागि राष्ट्रपति समक्ष आग्रह गरेका छन्।
फेसबुकमार्फत् प्रतिक्रिया दिँदै शाहले अहिले देश ‘इतिहासमै नभएको फरक परिस्थितिमा’ रहेको उल्लेख गरेका छन् । उनले यस्तो पृष्ठभूमिमा नेपाली जनतालाई संयमता र धैर्य अपनाउन आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘देश अन्तरिम सरकारमा जाँदैछ, जसले नयाँ चुनाव गराउनेछ। यसको मुख्य काम देशलाई नयाँ जनादेश दिलाउनु हो।’
शाहले कार्कीको नाममा आएको प्रस्तावलाई नेपालीहरूको परिपक्वता र सुझबुझको परिचायक भन्दै सम्मान प्रकट गरेका छन्।
००००
प्रधान सेनापति अशोकराज सिग्देलले दुर्गा प्रसाईंसँग पनि छलफल गरेका छन् । प्रसाईंलाई पनि आन्दोलनको एउटा स्टेकहोल्डर मान्दै उनले छलफल गरेका हुन् ।
प्रधान सेनापतिसँगको छलफलपछि प्रसाईंले जेनजीको प्रस्तावअनुसार सुशीला कार्की वा बालेन शाह जोसुकैको नेतृत्व स्वीकार्न तयार रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ– मलाई नेतृत्वको मोह छैन । देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो ।’
००००
विभिन्न कारागारबाट फरार भएका ३०३ जना कैदीबन्दी पक्राउ परेका छन् ।
नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपछि बुधबार दिउँसो १ बजेदेखि ५ बजेसम्मको अवधिमा सुनसरीमा २०२, सप्तरीमा ४, रुकुम पश्चिममा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ जनालाई पक्राउ गरिएको हो ।
००००
नेपाली कांग्रेसले लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढंगले सुनिश्चित गर्नुपर्ने बताएको छ ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै संयम, संवाद र एकताले शान्ति समाधान पहिल्याउन अपिल गरेका हुन् ।
००००
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा छिरेको हुललाई नेपाली सेनाले लखेटेको छ ।
अन्डरग्राउन्डमा सुन र पैसा छ भन्दै बिहानैदेखि हुलका हुल मानिस देउवा निवासमा छिरेका थिए । दिउँसो सेनाको टीमले त्यहाँबाट भगाएको हो ।
००००
नेपाली सेनाले काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञा खुकुलो बनाइएको सेनाले जनाएको छ ।
नागरिकलाई अत्यावश्यक कार्यको लागि आज बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न सकिने गरी समय निर्धारण गरिएको छ ।
००००
नेपाल विद्युत प्राधिकरणले मर्मत कार्यमा खटिने अत्यावश्यक सवारी साधनलाई सहज आवागमनको व्यवस्था मिलाइदिन अपिल गरेको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले कार्यालय सञ्चालन र अत्यावश्यक सवारी आवागमनमा सहजीकरणका लागि अपिल गरेको हो ।
००००
कास्की जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणसँग आग्रह गरेको छ ।
प्रशासनले आज सूचना जारी गर्दै जेनजी प्रदर्शनका क्रममा यही भदौ २३ र २४ गते जिल्लाका विभिन्न स्थानमा भएको विरोध प्रदर्शनका क्रममा अवाञ्छित तत्वसमेत प्रवेश गरी सरकारी, अर्ध सरकारी तथा निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, होटल आदि तोडफोड, आगजनी तथा लुटपाट भएको जनाएको छ ।
००००
आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार साँझदेखि सञ्चालन भएको छ । यससँगै बुधबार राति विमानस्थलमा यात्रुहरूको भीड लागेको छ ।
विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल आज साँझदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेपछि अहिले विदेश जाने यात्रुहरूको भीड बढेको विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए ।