
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशमा उत्पन्न तात्कालिक राजनीतिक संकट समाधानका लागि ३ बुँदे प्रस्ताव अगाडि सारेको छ । कार्यवाहक सभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सुशासन, लोकतान्त्रिक मूल्य–मान्यता र न्यायिक छानबिनलाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।
रास्वपाले पहिलो बुँदामा सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेनजी पुस्तासहितको अनिवार्य सहभागिता सुनिश्चित गरी सर्वपक्षीय सहमतिबाट प्रस्तावित प्रधानमन्त्रीको उम्मेदवारलाई समर्थन गर्ने जनाएको छ ।
पार्टीले उक्त उम्मेदवारले वृहत् राजनीतिक अनुमोदन पाओस् भन्ने शुभेच्छा पनि व्यक्त गरेको छ ।
दोस्रो बुँदामा, रास्वपाले नेपालको संविधानको मर्म, संघीय गणतान्त्रिक शासन व्यवस्था, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक अधिकारजस्ता आधारभूत लोकतान्त्रिक मूल्य–मान्यतामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ ।
संविधानको धारा ८३ अनुसार संघीय व्यवस्थापिका दुई सदनात्मक हुने व्यवस्था स्मरण गराउँदै पार्टीले राष्ट्रिय सभाको स्थायित्व कायम राखी अन्तरिम सरकारले ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गराउनुपर्ने माग राखेको छ ।
यसरी आन्दोलनको म्यान्डेट र ताजा जनमतबीच सन्तुलन कायम गर्नुपर्ने रास्वपाको भनाइ छ ।
तेस्रो बुँदामा रास्वपाले राष्ट्रपतिको प्रत्यक्ष पहल र संवादमार्फत आसन्न संक्रमणकालीन राजनीतिक कोर्सलाई संरक्षकत्व दिइनुपर्ने उल्लेख गरेको छ ।
साथै, संविधानको व्यापक संशोधन, २०८२ भदौ २३ को आन्दोलनमाथि भएको बर्बर दमन र त्यसपछि भएका मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमा आक्रमणजस्ता घटनाको उच्चस्तरीय न्यायिक छानबिन गरिनुपर्ने माग राखिएको छ ।
त्यससँगै २०४६ पछिका उल्लेखनीय भ्रष्टाचार प्रकरणहरूको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणका लागि स्वतन्त्र आयोगहरू नयाँ सरकार गठन भएको १५ दिनभित्र बनाउनुपर्ने प्रस्तावसमेत गरिएको छ ।
रास्वपाले आन्दोलनपश्चात् उत्पन्न राजनीतिक गतिरोध तोड्न सबै दलहरूलाई गम्भीर संवादमा सहभागी हुन आह्वान गरेको छ ।