
काठमाडौं ११ पुस– १७ असोज २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावका लागि वामपन्थी गठबन्धनको घोषणा हुँदा दुवै दलका नेताले चुनाव लगत्तै पार्टी एकीकरण गर्ने घोषणा गरे । २१ कात्तिकमा चुनावमा लागि संयुक्त घोषणा पत्र जारी गर्दापनि दुई दलका नेताहरुले चुनाव लगत्तै पार्टी एकीकरणको घोषणा गरे ।
उनीहरुको घोषणालाई पत्याएका दुई पार्टीका मतदाताले वाम गठवन्धनका उम्मेदवारहरुलाई बहुमत दिए ।
तर चुनाव भएको झण्डै एक महिना वितिसक्दा पनि दुई दलबीच पार्टी एकीकरणको खाका समेत तयार हुन सकेको छैन ।
चुनाव लगत्तै ३ पुसमा बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैंठकमा धेरै नेताहरुले नयाँ सरकार गठन अगावै पार्टी एकता गर्नुपर्ने आवाज उठाए ।
सरकार गठन पहिला कि पार्टी एकता पहिला भन्नेमा अहिले माओवादी र एमालेका नेताहरुको मत बाझिएको छ । सरकार गठन भएपछि पार्टी एकता छायामा पर्ने भन्दै माओवादीका दोस्रो तहका नेताहरु पार्टी एकताका लागि आतुर देखिएका छन् ।
नेकपा एमालेका नेताहरु भने पार्टी एकता भन्दा पहिला सरकार गठन गर्नुपर्ने कुरा गरिरहेका छन् । माओवादी नेताहरु पार्टी एकतापछि पद बाडफाड गर्नुपर्ने पक्षमा छन३ भने एमालेका नेताहरु प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता एउटै व्यक्ति हुनुपर्ने धारणा राखिरहेका छन् । सरकार गठन पहिला कि पार्टी एकता भन्ने कुराले दुई दलबीचको एकता प्रक्रिया लम्बिएको मात्र नभइ नेताहरुबीचको सम्वन्धमा चिसोपना आएको टिप्पणी भइरहेका छन् ।
राजनीतिक गतिरोध लम्बिएको समयमा सरकार गठनका लागि निर्णायक मानिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदातालाई धन्यवाद दिन आफ्नै निर्वाचन क्षेत्र चितवनमा अलमलिइ रहेका छन् । देशका अन्य भागमा चुनाव पछिको घरदैलो कार्यक्रम सकिएपनि प्रचण्ड चितवनमै अलमलिदा आशंका बढेको देखिएको छ ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य भानुभक्त ढकाल सरकार गठन लगत्तै पार्टी एकता हुने दावी गर्छन् । ‘हामीले चुनावमा जाँदा वामपन्थी गठबन्धनलाई सुविधानजनक बहुमत दिनुस हामीले समृद्धि दिन्छौ भनेका थियौ । जनताले हामीलाई बहुमत दिए’ एमाले नेता ढकाल भन्छन्, ‘हामी एउटै चुनावी घोषणापत्र लिएर जनतामा गइसकेका पार्टी एकता हुँदैन भन्ने आशंका किन ?’
सरकार गठनमा भइरहेको अलमल र पार्टी एकतामा भइरहेको ढिलाइलाई लिएर अनेक आशंका भइरहेका छन् । एमाले नेता ढकाल वामपन्थी एकता नभए अस्थिरतामा खेल्न पाइन्छ भन्ने शक्तिहरुले तुष्टि पोखेको बताउँछन् ।
‘सत्ताको नेतृत्वमा बसेको पार्टीलाई भविष्यमा फेरि यस्तो अबसर आउँदैन कि भन्ने भयले गर्दा नयाँ सरकार गठनमा विलम्ब भइरहेको छ, वामपन्थी दलका कारण होइन’ ढकालले लोकान्तरसंग भने, ‘वामपन्थी गठबन्धनबीच पार्टी एकता हुँदैन भनेर सन्तुष्टि लिनेहरु धेरै दिन खुसी हुने छैनन् ।’ उनले पुस महिना भित्रमै नयाँ सरकार बन्ने र त्यसको केही दिनमा पार्टी एकता हुने दावी गरे ।
माओवादी केन्द्रका नेता गणेश साह सरकार गठन र पार्टी एकताको प्रक्रिया समानान्तर ढंगले अगाडि बढाउनु पर्ने बताउछन् ।
‘दुवै कुरा समानान्तर ढंगले लैजानु पर्छ र यसका लागि दुईवटा छुट्टा छुट्टै समायोजन समिति बनाउनु जरुरी छ’ नेकपा संयुक्तलाई माओवादीमा पार्टी एकता गरेका माओवादी नेता भन्छन्, ‘दुवै पार्टीको शीर्ष नेतृत्व बसेर समायोजन समितिले बैचारिक, सैद्धान्तिक र कार्यक्रकमिक एकताको लागि गृहकार्य गर्नु पर्छ ।’
यसबीचमा नेकपा एमालेले संघीय समाजवादी फोरम र नयाँ शक्तिसँग मिलेर सरकार गठनको प्रयास गरेका गाइगुइ पनि बाहिर सुनिए । माओवादी र एमालेका नेता मात्र नभइ स्वय फोरमका नेतापनि त्यस्तो प्रयास नभएको बताउँछन् ।
फोरम नेता लालबाबु राउतले सरकार गठनको बिषयमा पार्टीमा औपचारिक छलफल समेत नभएको बताउँछन् । एमाले र माओवादी नेताहरु पनि राष्ट्रिय सभा गठन सन्बन्धी विबादका कारण सरकार गठनमा विलम्ब भएपनि वामपन्थी गठबन्धन कै सरकार बन्ने बताउछन् ।
‘एमालेको नेतृत्वमा सरकार गठन हुनु प्राकृतिक न्यायको सिद्धान्त नै हो’ माओवादी नेता शाह भन्छन् ।
प्रचण्डलाई कांग्रेस राजपाको 'ग्रिन सिग्नल'
वाम गठवन्धनलाई तोड्नका लागि नेपाली कांग्रेसले हरसंभव प्रयास गरिरहेको छ । त्यसका लागि कांग्रेससभापति देउवाले नै प्रचण्डलाई प्रस्ताव गरेका छन् । उनका किचन क्याविनेटमा रहेका नेताहरुले प्रधानमन्त्रीमा प्रचण्डलाई सहयोग गर्न सकिने बताएका छन् । जसलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै सार्वजनिक रुपमा आश्वासनहरु आएको बताएका छन् । तर, दुई पार्टी मिल्नु को विकल्प नभएको उनको भनाइ छ ।
त्यस्तै राजपाका नेताहरुले प्रचण्डलाई प्रधानमन्त्रीमा सहयोग गर्ने‘ग्रिन सिंग्नल’ दिएका छन् ।
माओवादी, नेपाली कांग्रेस, फोरम र राजपाको गठजोड पनि बहुमतमा हुने हँदा त्यसलाई देखाएर प्रचण्डलाई प्रधानमन्त्री बन्ने बाटो भने हुनेछ ।
सशंकित माओवादी
नेकपा एमालेका महासचिव इश्वर पोखरेलले प्रधानमन्त्री, संसदीय दलको नेता र पार्टी अध्यक्ष एकै व्यक्ति हुने भन्दै अभिव्यक्ति दिएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झस्किएका छन् ।
एकताको प्रकृया शुरु नहुँदै पदका विषयमा एमालेका उच्च तहको नेताको अभिव्यक्तिले माओवादी बृत्तमा आशंका उत्पन्न भएको छ ।
पार्टी एकता गर्ने गरि भएको ६ बुँदे सहमतिमा नलेखिएको भनिएको आलोपालो सरकारको नेतृत्वका विषयमा पनि एमालेका नेताहरु चुप लागेका छन् । जसलाई माओवादी अध्यक्षले‘जेन्टलमेन्ट’ ऐग्रिमेन्ट भनेका छन् ।
एमालेले नेताको व्यवस्थापनमा माओवादी पक्षलाई पाखा लगाउने आशंकामा रहेको माओवादीलाई आश्वस्त पार्न एमाले का अध्यक्ष र अन्य नेताले समेत पहल कदमी नगरेका कारण दुई वामपार्टीबीचको एकतामा शंकाको सुविधा भएको कतिपयको बुझाइ छ ।