काठमाडौँ, १० माघ - कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको विषय उठाउँदा पार्टीकै नेता तथा कार्यकर्ता अचेल पत्याउँदैनन्।

आजकोे कान्तिपुर दैनिक लेख्छ- देउवा सार्वजनिक ठाउँमा जब यो विषय उठाउँछन्, आकांक्षीहरु केही समय सलबलाउँछन्। आफू हुन र कसैलाई बनाउन दबाब समूहहरु सक्रिय समेत बन्छन्। तर, विस्तारै उनीहरु पनि हार खाएर थन्किन्छन्।
नेतृत्व सम्हालेलगत्तैदेखि पदाधिकारी र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने भन्दै आएका देउवाले दस महिनामा पनि त्यो काम गर्न सकेका छैनन्। यतिबेला उनले पदाधिकारी होइन, कार्यसम्पादन समिति र विभाग गठनको चर्चा चलाएका छन्।
यो कुरा गरेको पनि महिना दिन बित्न लाग्यो। तर, साइत अझै जुरेको छैन।
पार्टीभित्र सभापतिका आलोचकहरु उनलाई संगठनभन्दा सत्ता राजनीतिमा बढी रुचि राख्ने देख्छन्। पार्टीको अपूर्णतामा कतै न कतै सत्ता राजनीति जोडिएको उनीहरुको तर्क छ।
कांग्रेस विधानको विविध खण्डको १९ नम्बरमा ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग, समिति, विभिन्न निकायहरु, महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने छ’ भन्ने छ। तर दस महिनामा १२ केन्द्रीय सदस्य मनोनयन गर्नेबाहेक विभाग र समिति बन्न सकेका छैनन्।
उनै देउवाले तत्कालिन पार्टी सभापति सुशील कोइरालाले विभाग र समितिहरुलाई पूर्णता दिन नसक्दा निर्णय क्षमता नभएको भन्दै कडा आलोचना गरेका थिए।