
काठमाडौं, ३ माघ — अमेरिकाको वायुसेनाले गुआममा ६ वटा आणविक शक्तिसम्पन्न बी–५२ बम्बर विमानहरू तैनाथ गरेको अमेरिका प्रशान्त वायुसेनाले जनाएको छ ।
यसैबीच उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आणविक बटनको आकारसम्बन्धी ट्वीटलाई ‘खुस्केटको बर्बराहट’ भनी मजाक उडाएको थियो ।
किम जोङ–उनले गुआममा अमेरिकाले थप आणविक शक्तिसम्पन्न बम्बर विमान तैनाथ गरेको विषय उठाउन सक्छन् । अमेरिकाले आफूलाई भड्काएमा गुआमलाई ध्वस्त पार्ने भनी उनले बारम्बार धम्की दिने गरेको छन् ।
शीतकालीन ओलम्पिकअघि उत्तर र दक्षिण कोरियाबीचको तनाव घटेको भएपनि किमले आणविक कार्यक्रमलाई अझै पनि वार्ताको विषय बनाउन चाहेका छैनन् ।
अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसन र साझेदारहरूले मंगलवार उत्तर कोरियामाथि विश्वका मुलुकले व्यवहार परिवर्तन गर्नका लागि दबाब दिइरहनुपर्ने अनि वार्ता हुने भयो भनी ढुक्क भएर बस्न नमिल्ने बताएका छन् ।
टिलरसनले कूटनीतिक समाधानका लागि पहल गरिरहेको भएपनि अमेरिकी सैन्य अधिकारीहरूले द्वन्द्वको स्थितिका लागि तयार रहन अभ्यास जारी राखेका छन् ।
सीएनएनबाट