
स्याङ्जा, ९ माघ– स्याङ्जाको पुतलीबजार नगरपालिका–४, भालु पहाडमा नेपालमै पहिलो अत्याधुनिक बायो ग्यास पावर प्लान्ट सञ्चालनमा आएको छ । सातजना स्थानीयले भिरकोट–६ मा ४० रोपनी क्षेत्रफलमा ५० करोडमा सञ्चालन गरेको देशकै ठूलो अत्याधुनिक खिलुङ्कालिका एग्रो फार्मले प्लान्ट सञ्चालनमा ल्याएको हो ।
पावरप्लान्ट एग्रोबाट निस्केको सुलीको व्यस्थापन गर्न र प्लान्टका लागि आवश्यक ऊर्जा व्यवस्थापन गर्न सञ्चालनमा ल्याएको कम्पनीका कार्यकारी अधिकृत शोभाकान्त ढकालले जानकारी दिनुभयो । ३५ रोपनी क्षेत्रफलमा बनाएको बायोग्यास प्लान्टमा फिडिङ, ग्यास डाइजेस्टर, फटिलोरी टयाङ्क, बी क्यान्टर निर्माण गरिएको छ ।
जसबाट मल फिट्ने, ग्यास बनाउने, बिजुली निर्माण, बाँकी रहेको मल सुकाउने र मललाई प्याकिङ गर्ने काम सहज भएको छ । प्लान्टबाट दैनिक एक टन अर्थात् असी बोटल ग्यास, ३५० किलोवाट विद्युत् र १५ टन जैविक मल उत्पादन हुने गरेको छ ।
झण्डै २० करोड रुपियाँको लगानीमा कम्पनी सञ्चालनमा आएको बताउँदै ढकालले भन्नुभयो, एउटै प्लान्टबाट तीन थरीका वस्तु उत्पादनका हिसाबले यो प्लान्ट देशकै पहिलो हो ।
उत्पादित बिजुली पावर प्लान्टमा प्रयोग गरिएको छ भने मल र ग्यास स्थानीय बजारमा एक महिनामा बिक्री गर्ने तयारी प्लान्टले गरेको छ । कार्यकारी अधिकृत ढकालले विदेशबाट आउने एलपी ग्यासलाई प्रतिस्थापन गर्नुका साथै मलिलो जैविक मलले कृषकलाई टेवा पुर्याउने बताउनुभयो ।
एकै दिनमा दुई लाख अण्डा उत्पादन गर्ने क्षमता भएको खिलुङ्कालिका एग्रो फार्मबाट दैनिक निस्कने १२ टन कुखुराको सुली मुख्य कच्चा पदार्थको स्रोत रहेको प्लान्टलाई चार टन गाई भैँसीको मल र दैनिक करिब दुई टन जैविक पदार्थको मिश्रण पछि तीन थरीका वस्तु उत्पादन भएको ढकालले बताउनुभयो, गोरखापत्रमा खबर छ ।