
काठमाडौं, १ फागुन — संसार घुम्नका लागि एक जोडीले आफ्नो सिरीखुरी सम्पत्ति बेचेका भएपनि एउटा दुर्घटनामा परी उनीहरूको सबै कुरा छिनियो ।
यात्रा शुरु हुनुअघि नै उनीहरूको डुंगा डुब्यो र सबै सम्पत्ति स्वाहा भयो ।
ट्यानर ब्रोडवेल र निकी वाल्शले २८ फीट डुंगामा चढेर विश्व भ्रमण गर्ने योजनामुताबिक यात्रा शुरू गरेका थिए । यात्रा शुरू गरेको दुई दिनमै उनीहरूको डुंगा मेक्सिकोको खाडीमा म्याडेरियानजिक डुब्यो ।
उनीहरूको डुंगाको तल्लो भाग कुनै अदृश्य वस्तुसँग ठोक्कियो अनि डुंगामा पानी भरिन शुरू भयो । समयमै इमर्जेन्सी सर्भिसले जोडीलाई बचायो तर उनीहरूको लगभग सबै सामान डुब्यो । उनीहरूको दुई वर्षीय कुकुर रेमी,
सामाजिक सुरक्षा कार्डहरू, एक मोबाइल फोन, कुकुरको खानेकुरा र कपडा मात्र बाँकी रह्यो ।
ब्रोडवेलले दुर्घटनापछि भने, ‘मैले यही यात्राका लागि सबै कुरा बेचिदिएको थिएँ । जम्मा २० मिनेटमा मेरो सबै कुरा नाश भयो ।’
अमेरिकाको फ्लोरिडामा बस्ने ब्रोडवेल मार्केटिङको काम गर्थे । उनले २४ वर्षीया वाल्शलाई कामकै सिलसिलामा फिलाडेल्फियामा भेटेका थिए ।
जोडीका अनुसार, उनीहरू आफ्नो जीवनशैलीबाट वाक्कदिक्क भइसकेका थिए । त्यसैले उनीहरूले जीवनमा केही रोमाञ्चक कुरा गर्ने निर्णय गरे । तलबबाहेक अतिरिक्त आय कमाउन उनले उबर क्याब पनि चलाए ।
अप्रिल २०१७ मा यस जोडीले सबै सम्पत्ति बेच्यो । एसयूभी समेत उनीहरूले बेचे । त्यसपछि उनीहरूले डुंगा बेचे । रोमाञ्चक यात्रा शुरु गरेको दुई दिनभित्र उनीहरूले दुर्घटनामा सबै कुरा गुमाए ।
एजेन्सी