
काठमाडौं, २० फागुन– संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक सोमवार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न लागेको हो ।
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण आज अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण ५ बजेका लागि तय भएको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार आइतबार बिहान १० बजे आगामी कार्यसूची तयारीका लागि सदनमा प्रतिनिधित्व गर्ने पाँच दलका नेतासँग परामर्श हुनेछ ।
कार्य सञ्चालन नियमावली नबनुञ्जेलका लागि अन्तरिम कार्यविधि पारित गर्नुपर्ने भएकाले सचिवालयले त्यसको मस्यौदा तयार गरेको छ ।
मस्यौदालगायत अन्य कार्यसूचीबारे दलसँग छलफलपछि कार्यसूची बन्नेछ । एकै दिन एकै समयमा दुवै सदनको बैठक आह्वान भए पनि ती सदनको बैठक अलगअलग रूपमा सम्बन्धित सदनको कक्षमा बस्नेछ । सो छलफलमा सभामुख, राष्ट्रियसभाको अध्यक्ष चयनको प्रक्रियाका बारेमा समेत छलफल हुनेछ ।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्ष फरक दल र फरक लि¬ङ्गको व्यक्ति हुनुपर्ने प्रावधान छ ।