२८ असार २०८३, आइतबार

मुख्य समाचार : संघीय संसदका सांसदद्वारा शपथ, काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्दै

फागुन २१, २०७४
मुख्य समाचार : संघीय संसदका सांसदद्वारा शपथ, काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंह भिड्दै

काठमाडौं, २१ फागुन– प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । संघीय संसद भवन नयाँबानेश्वमा आइतबार आयोजित छुटटछुट्टै कार्यक्रममा जेष्ठ सदस्यहरुले उनीहरुलाई शपथ खुवाएका हुन् ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधिसभाका सदस्यहरूलाई शपथ खुवाए भने राष्ट्रियसभाका जेष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रियसभाका सदस्यहरुलाई शपथ खुवाइन् । मैथली भाषामा शपथ खाएका ठाकुरले नेपाली भाषामा शपथ खुवाएका थिए । आइतबार नै जेष्ठ सदस्यका रुपमा ठाकुर र भट्टले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । 
शपथ ग्रहणका लागि संसद भवन पुगेका सांसदहरु आफ्नो जात, भाषा, धर्म अनुसारको भेसभुषामा सजिएरका थिए ।  

आठ सांसदले शपथ लिएनन्– प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको आइतबार भएको शपथ ग्रहणमा आठजना सांसद अनुपस्थित रहे । प्रतिनिधिसभाका ४ जना सांसद शपथमा अनुपस्थित रहे । संसद सचिवालयका अनुसार शपथमा माओवादी केन्द्रका दुई र राष्ट्रिय जनता पार्टी (राजपा), नेपालका दुई सांसद अनुपस्थित रहेका हुन् । 
टीकापुर हत्या प्रकरणका योजनाकार भनिएका कैलाली–१ बाट निर्वाचित रेशम चौधरी थुनामा छन्। सर्लाही–२ बाट निर्वाचित राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव पनि अनुपस्थित रहे । शपथ ग्रहणमा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र धर्मशीला चापागाईं पनि अनुपस्थित रहे । 
५९ सदस्यीय राष्ट्रिय सभामा ५५ जना सांसदले शपथ लिए । राष्ट्रिय सभामा राजपा नेपालका सांसद रमेशप्रसाद यादव अनुपस्थित रहे । सर्वोच्च अदालतको आदेशपछि केपी ओली सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत युवराज खतिवडा, विमला पौड्याल र रामनारायण विडारीको शपथ पनि रोकियो ।


उम्मेदवारी दर्ता– नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी परेको छ । सांसद विजयकुमार गच्छदारले सभापति देउवालाई प्रस्ताव र मानबहादुर विकले समर्थन गरे ।
त्यसैगरी प्रकाशमान सिंहको उम्मेदवारीलाई सांसद सीतादेवी यादवले प्रस्ताव र सञ्जयकुमार गौतमले समर्थन गरे । संसदीय दलको नेताको उम्मेदवारका लागि आइतबार साँझ ६ बजेदेखि साँझ ७ः३० बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । निर्वाचन तालिकाअनुसार मतदाता नामावली प्रकाशन भइसकेको छ । 
सोमबार बिहान ८ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संसदीय निर्वाचन समितिका सदस्यसचिव केशव रिजालले जानकारी दिए । सोमबार बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुनेछ । 

चौधरीसहित २४ जना अनशनमा– टीकापुरको घटनाका मुख्य आरोपी मानिएका रेशमलाल चौधरीसहित २४ जना आइतबार साँझदेखि कारागारभित्रै अनशनमा बसेका छन् । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीसहित टीकापुर घटनालगत्तै प्रहरीले पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका २४ जना विभिन्न माग राख्दै अनशनमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले जानकारी दिए । 
अनशनमा बसेका सबै बन्दी टीकापुर काण्डका आरोपित हुन् । उनीहरूले प्रतिनिधि सभामा विजयी चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टिकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पुरा गर्नुपर्ने लगायतका माग राखेका छन् । 

४५ लाख धरौटी बुझाएर छुटे चूडामणि– कर फर्स्यौट आयोगका तत्कालीन सदस्य सचिव तथा राजश्व अनुसन्धान विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा अकूत सम्पत्ति आर्जन गरेको मुद्दामा ४५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । 
शर्माले सरकारी पदमा रहँदा अकूत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ १५ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । 
शर्माले सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् २०७३ मंसिर मसान्तसम्म ४ करोड २९ लाख बराबर अकुत सम्पत्ति आर्जन गरेको अख्तियारले आरोपपत्रमा जनाएको छ । अख्तियारले आरोपपत्रमा उल्लेख गरेको विवरणअनुसार शर्माले चल–अचल सम्पत्ति एवं सेयर लगानी लगायतका शीर्षकहरुमा समेत गरी ७ करोड ९३ लाख २७ हजार ८५ खर्च गरेको देखिएको छ । 
शर्माले गरेको कूल आर्जनमध्ये ४ करोड २९ लाख ५४ हजार १ सय २४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको तथा सम्पत्ति विवरण अमिल्दो देखिएको भन्दै अख्तियारले सो बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको थियो । 
अख्तियारले मुद्दा दर्ता गरेपनि उनी पक्राउ भने परेका थिएनन् । शर्मा उपस्थित नभएपछि विशेष अदालतले उनीविरुद्ध म्याद जारी गरेको थियो । अदालतले जारी गरेको म्याद अनुसार शर्मा आइतवार विशेष अदालतमा उपस्थित भएका थिए । आइतवार द्वारिकामान जोशी र चण्डीराज ढकालको संयुक्त इजलासले शर्मालाई धरौटीमा छाड्न आदेश जारी गरेको हो । 

अदालतको आदेशअनुसार शर्मा आइतवारै ४५ लाख रुपैयाँ बुझाएर छुटेका छन् । शर्माले ४५ लाखको धरौटीका लागि नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टी बुझाएको विशेष अदालतका प्रवक्ता नगेन्द्र पोखरेलले बताए ।


सकिललाई नेपाल ल्याइयो– सातजनाको हत्या गरेको आरोप लागेका मोहम्मद सकिल हुसेनलाई आइतबार कतारबाट नेपाल ल्याइएको छ । सकिल हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सचिवालयले विसं २०७२ असार ७ गते ‘रेडकर्नर नोटिस’ जारी गरेको थियो ।
इन्टरपोलको समन्वयमा कतार प्रहरीले केही दिनअघि पक्राउ गरेकोमा इन्टरपोल कतारबाट खटिआएका प्रहरी अधिकृतले हुसेनलाई नेपाल ल्याएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सप्तरीका इद्रिस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मिया, सगिरा खातुन, दुलारी देवी साह र निर्मला देवी साहसमेत सातजनाको हत्या गरी फरार रहेको अभियोगमा हुसेनविरुद्ध सप्तरी जिल्ला अदालतमा सर्वस्वसहित जन्मकैद सजाय माग दाबी गरिएकोमा उनी फरार भएर वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए ।

सभामुखको निर्वाचन– प्रतिनिधिसभाको सभामुखको निर्वाचन आगामी २६ गते शनिवार हुने भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख पाँच दलको बैठकले २६ गते सभामुखको निर्वाचन, २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने र ३० गते राष्ट्रियसभाका अध्यक्षको निर्वाचन गर्ने तय गरेको हो । 
राष्ट्रपतिको निर्वाचन २९ फागुनलाई तोकिएको छ । सर्वदलीय बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अन्तरिम कार्यविधिलाई अन्तिम रुप दिएको छ । कार्यविधिलाई सोमबार बस्ने संसदको पहिलो बैठकले पारित गर्ने माओवादी केन्द्रका सांसद दिनानाथ शर्माले जानकारी दिए । 
निर्वाचन आयोगका अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारले ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।


राजेन्द्र खड्की जेल चलान– ११ जनालाई अवैध रुपमा कोरिया पुर्याएकोभन्दै मानव बेचबिखनको मुद्दा खेपिरहेका फिल्मकर्मी राजेन्द्र खड्गी पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश टेकनारायण पौडेलको इजलासले खड्गीलाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।
खड्गीलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ । खड्गीसँगै कोरिया फिल्म बनाउने भनेर कोरिया गएका ११ जना नफर्किएपछि नेपालस्थित कोरियन दूतावासले नेपाल प्रहरीलाई यसबारे जानकारी दिएको थियो । 

पेट्रोलको मूल्य घट्यो– नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । 

नेपाल जिम्बाब्वेसँग पराजित– आइसिसी विश्वकप छनोटअन्तर्गत आइतबार भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ११६ रनले पराजित भएको छ । ३८१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६४ रन मात्र जोड्न सक्यो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ३२, दिलिप नाथले दुई, कप्तान पारस खड्काले ४०, दिपेन्द्रसिंह ऐरीले २३, शरद भेषवाकरले ५२, अरिफ शेखले ५०, रोहित कुमारले ३०, सोमपाल कामीले ११, वसन्त रेग्मीले २ र सन्दिप लामिछानेले छ रन बनाएका थिए ।

यसअघि जिम्बाब्वेस्थित क्वीन्स स्पोटर््स क्लबमा टस जितेर पहिले व्याटिङ रोजेको आयोजक जिम्बाब्वेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रनको योगफल बनाएको थियो ।
जिम्बाब्वेका लागि शिकन्दर राजा र ब्रेन्डन टेलरले शतक प्रहार गरे । शिकन्दरले सर्वाधिक १२३ रन जोडे भने ब्रेन्डन १०० रन जोड्दै आउट भए । नेपालका लागि वसन्त रेग्मीले दुई विकेट लिए भने सोमपाल कामी, ललितनारायण राजवंशी र सन्दिप लामिछानेले एक÷एक विकेट लिए । 
हारसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना झनै क्षीण हुँदै गएको छ । नेपालले अर्को खेल आगामी विहीबार स्कटल्याण्डसँग खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्