काठमाडौं, २८ फागुन — कोरियाली प्रायद्वीपमा तनाव घट्ने संकेत देखिएको छ । उत्तर कोरियाले अमेरिकासँग कुराकानी गर्न सहमति जनाएको छ ।
दक्षिण कोरियाका अनुसार, प्योङयाङले सुरक्षाको प्रत्याभूति पाइएमा आणविक हतियार समेत त्याग्ने बताएको छ । यो घटनाक्रम आफैंमा महत्त्वपूर्ण भएपनि अनेकौं प्रश्नको उत्तर पाउन बाँकी छ ।
पहिले पनि तनाव कम गर्नका लागि कोशिशहरू भएका थिए तर कहिले उत्तर कोरिया त कहिले अमेरिकाले दृष्टिकोण परिवर्तन गरेर प्रयासहरू असफल पार्थे । किमका हजुरबुवा देशलाई आणविक हतियारबाट मुक्त पार्न चाहन्थे भनी सुनिएको छ । अहिले किमले हजुरबुवाको अन्तिम इच्छा पूरा गर्नका लागि प्रयास गरेका हुन् त ?
प्योङयाङको आणविक हतियारलाई अंकुश लगाउनका लागि पश्चिमी देशहरूले दशकौंदेखि गरेको प्रयास अहिलेसम्म असफल नै रहेको छ । सन् १९९४ मा एक सम्झौता भएको थियो जसअन्तर्गत आणविक हतियार छोडेमा उत्तर
कोरियालाई गैरसैनिक आणविक रिएक्टर तथा अन्य सहायता दिइनेछ । तर यो प्रयास पनि खेर गयो । त्यतिखेर उत्तरले गोप्य रूपमा आणविक हतियार कार्यक्रम बनाएको भनी अमेरिकाले आरोप लगाएको थियो । यसकारण
सहायता पुग्न ढिलाइ भयो र प्योङयाङ रिसायो ।
सन् २००३ मा चीनको नेतृत्वमा ६ पक्षबीच वार्ता भयो । अमेरिका, उत्तर र दक्षिण कोरिया, रुस, जापान र चीन यस प्रक्रियामा संलग्न भए । उत्तर कोरियाले सन् २००५ मा आणविक कार्यक्रम बन्द गर्ने वाचा ग–यो तर अर्को वर्ष नै उसले पहिलो आणविक परीक्षण ग–यो । यसले गर्दा तनाव बढ्यो ।
तीन वर्ष बितेपछि उत्तरले दोस्रो आणविक परीक्षण ग–यो । त्यसपछि वर्षैपिच्छे प्योङयाङले हतियारको संख्या बढाउँदै लगेको छ । सन् २०११ मा किम सत्तामा आएपछि उत्तरको आणविक र क्षेप्यास्त्र कार्यक्रम झनै बढ्यो । अघिल्लो वर्ष उत्तरले छैठौं आणविक परीक्षण गरेर संसारभरि हंगामा मच्चायो । अझ, उसले त अमेरिकासम्म पुग्ने क्षेप्यास्त्र आफूले तयार पारिसकेको बतायो ।
अब भने तनाव घटाउने वार्ताको सम्भावना बढेको छ । दक्षिण कोरियाका दुई वरिष्ठ अधिकारीहरूले वाशिङटन पुगेर प्योङयाङसँगको वार्ताका विषयमा जानकारी दिइसकेका छन् । अनि किम र दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनबीच हुने वार्ताका बेलामा पनि विशेष आदानप्रदान हुनसक्छ ।
यी दुवै नेता सीमावर्ती गाउँ पान्मुनजोममा भेटघाट गर्नेछन् । तर उत्तर कोरियाका तर्फबाट धेरै कुराहरू खुलेर बाहिर आउन बाँकी नै छ । उत्तरले त सउलमा भएका अमेरिकी सैनिकहरूलाई फिर्ता लगिनुपर्ने अनि सउल र
वाशिङटनबीचको सुरक्षा साझेदारी अन्त्य हुनुपर्ने बताएको छ ।
उता, अर्को हप्तादेखि सउल र वाशिङटनले संयुक्त युद्धाभ्यासको तयारी गरेका छन् । यसअघि फेब्रुअरी र मार्च महीनाको पहिलो हप्तामा दुई अभ्यासहरू स्थगित गरिएका थिए । त्यतिखेर सउलले शीतकालीन ओलम्पिकमा
उत्तरलाई भाग लिन लगाउनका लागि प्रयास गरेको थियो ।
उत्तर कोरियाको सञ्चारमाध्यमले यो विकसित घटनाक्रमको उल्लेख गरेन तर विश्लेषकहरूले किमको प्रस्तावका सम्बन्धमा कुनै पनि किसिमको आन्तरिक गतिरोधको सम्भावनालाई खारेज ग–यो । नर्थ कोरियन स्टडीजका
प्राध्यापक कू काब वूले भने, ‘यसका बारेमा हाम्रा सर्वोच्च नेताले नै केही भन्नुहुनेछ ।’ उनले किमको स्वायत्त शासनको यो एक उदाहरण भएको बताए ।
सउलका अधिकारीहरूका अनुसार, दक्षिण कोरियाको प्रतिनिधिमण्डलसँगको वार्तामा किमले आफ्ना पिता र हजुरबुवाको अन्तिम इच्छा नै आणविक हतियार त्याग्नु थियो भनेका थिए । आफ्ना पूर्वजहरूको इच्छालाई पूरा गर्दै सबै
आन्तरिक विवादलाई अन्त्य गर्न सकिने कूले बताए । किमले प्रयोग गर्न सक्ने यो नै अचुक हतियार भएको उनी बताउँछन् ।
एजेन्सी