
काठमाडौं, २९ फागुन — बंगलादेशबाट प्रकाशित हुने द डेली स्टार पत्रिकाको अन्लाइन संस्करणमा मंगलवार एक बंगलादेशी जोडीको कथा छापिएको छ ।
त्यसमा लेखिएको छ :
सन्जिदा हक र उनका पति रफिक जमान दुवै कामकाजी व्यक्ति हुन् । महीनौंसम्म काम गरेर बोर भएका उनीहरूले विदेशमा छुट्टी मनाउने योजना बनाए । साथीहरूको सल्लाहमा उनीहरूले नेपाललाई गन्तव्य छाने । उनीहरूले आफ्नो सात वर्षीय छोरालाई पनि बिदामा घुमाउन सँगै लाने योजना बनाए ।
जोडीले आआफ्नो कार्यालयबाट छुट्टी पाए अनि योजनामुताबिक यूएस–बांग्ला विमानमा सोमवार चढे । उनीहरू ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान चढेका थिए ।
यो नै उनीहरूको अन्तिम उडान बन्यो ।
सत्सट्ठी यात्रु र चार चालक दल सदस्य बोकेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भयो । त्यसमा परी ४९ जनाको मृत्यु भयो ।
‘काठमाडौंस्थित अस्पतालले जारी गरेको पीडितको सूचीमा सन्जिदा, उनका श्रीमान् र उनीहरूको छोराको मृत्यु भएको हामीले थाहा पायौं,’ सुशासोनेर जोन्नो नागोरिक नामक नागरिक समाज संस्थाका सचिव आलम मजुमदारले बताए । सन्जिदा उक्त संस्थामा संयोजकको भूमिकामा थिइन् ।
रफिक चाहिँ अपांगता भएका व्यक्तिको हितमा काम गर्ने एक संस्थामा आबद्ध थिए ।
अनि त्यसै विमानमा चढेका इमराना कबिर हाशी र रोकिबुल हसनले पनि लामो समयदेखि छुट्टी मनाउने योजना बनाइरहेका थिए ।
राजशाही यूनिभर्सिटी अफ इन्जिनियरिङ टेक्नोलोजीमा कम्युटर साइन्स र इन्जिनियरिङ पढाउने शिक्षक हाशीले हालै १५ दिनको बिदा लिएकी थिइन् । उनी र उनका श्रीमान् हसनले काठमाडौं भ्रमण गर्ने योजना बनाए । हसन सेफालो बंगलादेश लिमिटेडमा सफ्टवेयर इन्जिनीयर थिए ।
तर उनीहरूको छुट्टी त्रासदीमा परिणत भयो । दुर्घटनामा रोकिबुलले ज्यान गुमाए । हाशी चाहिँ गम्भीर अवस्थामा छिन् ।
हाशी राजशाही शहरको तलाईमारी क्षेत्रमा भाडाको घरमा एक्लै बस्थिन् भने उनका श्रीमान् ढाकामा बस्थे ।
सोमवार विमान चढ्नुअघि अर्का यात्रु पियस रोयले ढाका विमानस्थलमा एक सेल्फी खिच्दै फेसबूक स्टेटस हालेका थिए ।
‘पाँच दिनका लागि देशलाई बाईबाई । सगरमाथाको मुलुकतिर जाँदैछु,’ उनले क्याप्सनमा लेखेका थिए ।
शेख सायेरा खातुन मेडिकल कलेजका पूर्वविद्यार्थी पियस दुर्घटनामा मारिए ।
अर्का यात्रु आल्मुन नाहर एन्नीले पनि लामो समयदेखि भ्रमणको योजना बनाएकी थिइन् । उनले आफ्नी तीन वर्षीया छोरी तमारा प्रियोन्मोयीलाई देशबाहिर भ्रमणमा लगेकी थिइन् ।
एन्नीसँग उनका श्रीमान् एफएच प्रियोक, उनका जेठाजु मेहेदी हसन र हसनकी पत्नी सैयदा कामरुननहर स्वर्णा पनि थिइन् ।
एन्नी र उनका परिवारका ती सदस्य दुर्घटनामा बाँचे तर तीन वर्षीया छोरीको मृत्यु भएको मेहदीका बुवा तोफाजेल होसेनले बताए ।
प्रियोकको अवस्था गम्भीर रहेको उनले थपे ।
बंगलादेशको योजना आयोगको जेनेरल इकोनोमिक्स डिभिजनमा कार्यरत नाजिया आफ्रिन चौधरी र उम्मे सल्मा पनि उक्त विमानमा थिए । उनीहरू वातावरणीय मामिलासम्बन्धी एक सम्मेलनमा भाग लिन काठमाडौं आएका थिए ।
उनीहरूको अवस्था अज्ञात छ । बाँच्ने मानिसको सूचीमा उनीहरूको नाम छैन ।