काठमाडौँ, १९ माघ - सर्वसाधारणको बचतमा न्यून प्रतिफल दिइरहेका बैंक र वित्तीय संस्थाले सानाठूला सबै ऋणको ब्याज भने धमाधम बढाउन थालेका छन् । तरलता अभाव भएको भन्दै ३ प्रतिशत विन्दुसम्म ऋणको ब्याज बढाइरहेका वित्तीय संस्थाले साधारण र अन्य नाममा ल्याइएका बचत (सेभिङ्स) मा भने बढाएका छैनन्, कान्तिपुरमा खबर छ ।

यसबाट सर्वसाधारण सबैभन्दा बढी मर्कामा परेका छन् । गत मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा व्यक्तिगत (सर्वसाधारण) को अंश करिब ५३ प्रतिशत छ । त्यसमध्ये १०/१२ प्रतिशत मुद्दतीमा रहेको मान्दा पनि कुल निक्षेपमा करिब ४० प्रतिशत सर्वसाधारणको बचत देखिन्छ । यसले पनि बैंक तथा वित्तीय संस्थाको निक्षेपमा सर्वसाधारण बचतको योगदान महत्त्वपूर्ण रहेको स्पष्ट हुन्छ । तर, अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले उनीहरूको योगदान बेवास्ता गर्दै ३ प्रतिशतभन्दा कम ब्याजदर दिइरहेका छन् । उक्त ब्याजदर करिब एक वर्षअघि (वित्तीय प्रणालीमा अधिक तरलता हुँदा) को हो ।
लगानीयोग्य रकम नभएर ऋण प्रवाह नै रोक्नुपर्ने अवस्था आउँदा पनि सर्वसाधारणको निक्षेपको ब्याजदर नबढ्नु गम्भीर भएको पूर्वबैंकर शोभनदेव पन्तले बताए ।