
काठमाडौं ११ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपेली युनियन (ईयु)ले नेपालमा धर्म प्रचारमा छूट नदिएको झोंकमा नेपाललाई हेपेर बोलेको टिप्पणी गरेका छन् ।
नेपालको संविधान विपरितका अभिव्यक्ती र प्रतिवेदन स्वीकार्य नहुने उनले स्पष्ट पारे ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षक समितिको निर्वाचन पर्यवेक्षेण सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमिकतामाथि धावा नबोल्न ईयुलाई चेतावनी दिएका हुन् ।
‘ईयुको नाममा हाम्रा सामाजिक प्रवन्ध, संविधान र उपलब्धीहरुलाई अण्डरमाइन गर्ने काम नहोस्’ ओलीले भने, ‘प्रतिवेदन सच्याउला भनेको थप जिद्दि गर्यो । म ईयुलाई प्रतिवेदन सच्याउन पुनः आग्रह गर्छु ।’
नेपाल सार्वभौम मुलुक भएको स्मरण गर्न ओलीले ईयुलाई चुनौती दिए । ‘निर्वाचन पर्यवेक्षणका नाममा नेपालको संविधान, सामजिक संरचना र उपलब्धिमाथि धावा बोल्ने छुट छैन’ ओलीले भने ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले पनि निर्वाचन पर्यवेक्षण सम्बन्धी ईयुको प्रतिवेदव अस्वीकार्य भएको बताएका थिए ।
निर्वाचन पर्यवेक्षण सम्बन्धी इयुको प्रतिबेदनप्रति परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग, प्रेस काउन्सिल लगायतका सरकारी निकायले आपत्ति जनाइसकेका छन् ।