
काठमाडौं, १२ चैत– एसियाली फुटवल महासंघ एएफसीको उच्चस्तरीय टोली आज काठमाडौं आउँदैछ । अखिल नेपाल फुटवल संघ एन्फामा देखिएको विवाद बारे बुझ्न टोली काठमाडौं आउन लागेको हो ।
एन्फाको निर्वाचन रोक्न सर्वोच्च अदालतले दिएको आदेशसँगै बढेको अन्यौलताबारे बुझ्न एएफसीका एसोसिएट निर्देशक रविकुमार नेतृत्वको उच्चस्तरीय टोली काठमाडौं आउन लागेको हो । टोली बिहान ११ बजे काठमाडौं आईपुग्ने छ ।
अखिल नेपाल फुटवल संघ एन्फाको निर्वाचन बुधबारका लागि तय गरिएको थियो । तर सर्बोच्चको आदेशपछि आइतबार सुचना टाँसेर एन्फाले निर्वाचन स्थगीत भएको जानकारी गराएको थियो ।
टोलीले पछिल्लो विवाद समाधानका लागि एन्फासँगै सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गर्नेछ । एएफसीको टोलीले फिफाको निर्देशन अनुसार निर्वाचनमा जाने की अर्को विकल्पमा जाने भन्ने बिषयमा नेपाली पक्षसँग छलफल गरी निर्णय गर्ने बताइएको छ ।