२२ असार २०८३, सोमबार

कञ्चनपुरमा माकुरा समूहको प्रभाव : कुलोको विवाद मिलेपछि गाउँले खुसी

चैत १३, २०७४
कञ्चनपुरमा माकुरा समूहको प्रभाव : कुलोको विवाद मिलेपछि गाउँले खुसी
फाइल तस्बिर

महेन्द्रनगर, १३ चैत– कञ्चनपुरकाे बेदकोट नगरपालिका–५ धरमपुरकी भागरथी पन्तको बछेला खोला किनारमा चार कठ्ठा जमिन छ । बछेला खोलाको कुलो नभत्किएसम्म पाँच बोरासम्म अन्न उब्जनी हुन्थ्यो । अहिले कुलो भत्किएर एक बोरामा पुगेको छ । उब्जनी घटेर पन्त परिवार चिन्तामा परेको बेला दुई वर्ष अघि वस्तीमा झलेखोला लिफ्ट सिँचाई आयोजना पुग्यो । यो आयोजना पुगेपछि पन्त परिवार पहिलाका जस्तै उब्जनी हुने आशमा खुसी भयाे । अहिलेसम्म खेतमा सिँचाइ नपुगेपछि पन्त निराश भएकी छन् । उनी भन्छिन्, ‘कुलो भत्किएर उब्जनी घट्यो, चार पाँच बाेरा उब्जी हुने जमिनमा एकाध बाेरा मात्रै भयो, आयोजना आएपछि पूरानो हिसाबको आम्दानी होला भनेर खुसी भयौं, विवादसंगै त्यो खुसी पनि हराएर गयो ।’

जिल्ला विकास समितिको साना सिँचाई आयोजना कार्यक्रम अन्तर्गत एक करोड बजेटमा धरमपुरका शिर, मध्य र पुछारका ९१ घर परिवारका खेतबारीमा सिँचाई सुविधा पुगाउन निर्माण निर्माण कार्य शुरु गरियो । स्थानीय स्तरमा उपभोक्ता समिति गठन गरियो । सिँचाईको कुलो सहितका संरचना बनाउन निर्माण व्यवसायीलाई जिम्मा दिइयो । सिँचाई आयोजनाको निर्माण कार्य पनि शुरु गरियो । कुलोमा परेको जमिन खन्न थालिएपछि गत बैशाखमा स्थानीय विरोधमा उत्रिए । ठेकेदारले विरोध देखिएर काम बन्द गरेपछि स्थानीयबीच आरोप प्रत्यारोप चल्यो । पाँच महिनासम्म चलेको विवाद स्थानीय स्तरमा मिल्न नसक्ने अवस्थामा आएपछि राष्ट्रिय प्राकृतिक स्रोत द्वन्द्व नेपालसम्म पुग्यो ।

केन्द्रको सहजीकरणमा झण्डै वर्ष दिनपछि स्थानीयले आपशी सहमतिमा विवाद सुल्झाएका छन् । विवाद सहजीकरणका लागि गठन गरिएका माकुरा समूहले विवादलाई ९ बुँदे सहमतिमा पुगाएर समाधान गरेको छ । 
माकुरा समूहका सदस्य झलेखोला लिफ्ट सिँचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष टिकादत्त पन्तले कुलो खन्दा स्थानीयबीच ढल निकास, पम्प सेट राख्ने स्थान र कुलोमा परेको जमिनलाई लिएर विवाद देखिएको बताए ।

‘कुलोको पानीले सिँचाई गरौला भनेर सोचेका थियौ, खन्दा टोला टोलमा विवाद आयो’ विगत सम्झदैं पन्तले भने,‘पटक पटक मिलाउने प्रयास पनि गर्यौं, केही सीप चलेन, त्यसपछि प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण पुग्यौं, छलफल गरी आपशमा समाधान गरेका छौ, यसबाट सबै खुसी छौ ।’

गाउँमा मिलाउन नसकेर केन्द्रसम्म पुगेको विवाद फेरि गाउँमा छलफल गरी समाधान गरिएको सबै स्थानीय खुसी भएको अध्यक्ष पन्तले बताए । ‘टोल टोलमा विवाद थियो, मर्दापर्दा पनि समस्या आउने हाे कि भन्ने चिन्ता थियो,’ उनले भने,‘यता नमिलेर उता गएका थियौ, गाउँमा सबै मिलेर मिलाएका छौ, अब त्यसै अनुसार कुलो बनाउनेछौ ।’

स्थानीयले सहमतिलाई बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम गरी सार्वजनिक गरे । सबै स्थानीयले ताली बजाएर सहमतिमा समर्थन जनाए । 

स्थानीयबीच सिँचाई आयोजनाको कुलो नक्साङ्कन अनुसार निर्माण गरिनु पर्ने, आकाशे पानीको भर भएका स्थानीयलाई पहिलो प्राथमिकता दिनु पर्ने, कुलोको इष्टमेटमा भल्भ नराखिएका स्थानमा थप भल्भ राख्ने, कुलो खन्दा मासिएको क्षतिपूर्ति ठेकेदारबाट अशुल गर्ने, कुलो निर्माणमा जनश्रमदान गर्ने मानिसको खेतसम्म पानी पुगाइने, पानी बाँडफाँटका लागि सबै टोलको प्रतिनिधित्व हुने गरी समावेशी समिति गठन हुनु पर्ने, सिँचाई आयोजनाको भवन र टंकी निर्माण गरिएको जग्गाको क्षतिपूर्ति दिनु पर्ने र तारजाली तटबन्ध निर्माणका लागि उपभोक्ता समितिले पहल गर्ने  सहमति भएको छ । शान्ति टोलका एक दर्जन घर आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका छन् । कुलो निर्माणमा अवरोधले यो टोलका वासिन्दा सबैभन्दा बढी चिन्तामा परेका थिए ।  

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रका राष्ट्रिय स्रोत व्यक्ति धर्मानन्द पन्तले द्वन्द्वरत सबै पक्षलाई समेटेर गठन गरिएको माकुरा समूहको पहलमा विवाद समाधान गरिएको बताए । ‘माकुरा समूह गठनपछि सबै पक्षबीच पटक पटक पटक बैठक, छलफलपछि समाधान भएको छ’ उनले भने,‘विवादका पक्ष आफैंले समाधान खोज्दा यहाँ हार न जितको भाव कसैमा पनि देखिएका छैन, सबैले जितको अनुभूति गरेका छन् ।’


सिँचाई आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले पनि इष्टमेट बाहिर गएर कुलो खनेपछि स्थानीयलाई थप आक्रोशित बनाएको थियो । स्थानीयबीच बोरिङ्ग बनाउन असहयोग गरेको भनेर आपशमा विवाद उब्जिएको थियो । 

२०३८ सालदेखि बसेका तीन टोलका स्थानीय सबै मिलेर यस अघि गाउँमा सडक बनाएका थिए । सडक बनाउँदा एक भएका उनीहरु कुलोलाई लिएर एक आपशमा बाँडिएका थिए । स्थानीय जमुना खत्रीले गहुँ पाक्ने बेलामा कुलो खनेकाले स्थानीय विरोधमा उत्रिएको बताइन् । ‘पहिला रोड खनियो, कुलो नआउने भनेर गहुँ लगाएका थियौ, कुलो आएर गहुँ मासियो’ उनले भनिन्,‘बिचमा विवाद आयो, त्यसले कसैलाई फाईदा भएन, अब सहमति भएर खेतमा पानी आउने भएपछि खुसी छौ ।’

salt training

कमेन्ट गर्नुहोस्