काठमाडौं, १४ चैत — उत्तर कोरियाका नेता किम जोङ–उनले सुटुक्क चीन भ्रमण गरेको कुरा खुलेसँगै उनकी पत्नीको लवाइखवाइको पनि चर्चा भएको छ ।
सरकारी टेलिभिजनले किम र उनकी पत्नी री सोल–जु बेइजिङमा दुई दिन बस्दा तीनथरी लुगामा देखाएको थियो ।
री प्रायः जसो उत्तर कोरियामा भएका कार्यक्रममा मात्र देखिन्थिन् र बेइजिङमा उनी दुर्लभ रूपमा सार्वजनिक भएकी थिइन् ।
किम सत्तामा आएको सात वर्षपछि पत्नी रीसँग पहिलोपटक विदेश भ्रमणमा निस्केका हुन् । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँगको सम्भावित बैठकअघि किमको यो भ्रमण हुन लागेको हो ।
धेरै चिनियाँ इन्टरनेट प्रयोगकर्ताले रीको लवाइखवाइको प्रशंसा गरेका थिए र उनको स्टाइललाई चीनकी प्रथम महिला पेङ लियुआनसँग तुलना गरेका थिए ।
एक प्रयोगकर्ताले रीको ‘शक्तिशाली उपस्थिति’ रहेको र उनी पेङभन्दा सुन्दर देखिएको अनि पेङले चाहिँ बढी राम्रो लुगा लगाएको टिप्पणी गरे ।
किमपत्नी री एक रहस्यमयी व्यक्ति हुन् र उनका बारेमा निश्चित रूपमा कमै मात्र कुरा थाहा छ । किमले उनीसँग सन् २०१२ मा विवाहको घोषणा गरेका थिए । केही विश्लेषकहरूले री सेप्टेम्बर १९८९ मा जन्मेको बताएका छन् । किम र
रीका तीन बालबालिका रहेको विश्वास गरिन्छ ।
साउथ चाइना मर्निङ पोस्टबाट