
विराटनगर, २७ चैत- विराट गोेल्डकपको जारी सिजनको खेल सकिएको छ । २०७२ सालमा भएको विराट गोल्डकप २०७३ सालमा हुन सकेन, २०७४ मा भएको भव्य प्रतियोगिता आतिसबाजीसहित गएराति सम्पन्न भएको छ ।
प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जित्यो । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराएर थ्रीस्टारले उपाधि उचालेको हो । विजेताले १२ लाख ७१ हजार पाउने बताइए पनि थ्रीस्टार ९ लाख ५३ हजार २ सय ५० रुपैयाँ मात्र हात परेर फर्किएको छ । त्रिभुवन आर्मी क्लबले ५ लाख ५१ हजार हात पारेको छ ।
खेलभन्दा व्यापार हावी
विराटनगरमा विराट गोल्डकप चलिरहँदा धेरै चर्चाको विषय बन्यो, ‘विराट गोल्डकपले मनपरी रकम असुल्यो ।’ हरेकका फेसबुक वालमा देखिएका यस्ता खालका स्टाटसले साँच्चिकै विराट गोल्डकपले बढी नै रकम असुलेकै हो त ? सिजलन टिकटको नाममा आयोजकले शुरुका दिनमा १५ हजारसम्म राखिएको भए पनि टिकट बिक्री हुन नसकेपछि १० हजारमा झारिएको थियो । यहाँ पनि व्यापारको गन्ध देखियो । विराटनगरको विकासँग जोडेर हेरिएको विराट गोल्डकप पछिल्लो समय विवादमुक्त रहन सकेन । दर्शकहरूले कार्यक्रम स्थलमै नाराबाजी गर्दै आक्रोश पोख्दा आयोजक रमिते बनिरह्यो, समाधानका लागि कुनै पहल भएन ।
खेलमा यस्तो व्यापार
‘विराटनगरको सान फुटबलको विकास’ अर्को नारा दिइएको थियो । प्रतियोगिता रातिको समयमा भयो । फ्लाइड लाइटका लागि कोलकत्ताबाट फ्लड लाइटको व्यवस्थापनका लागि प्राविधिक टोली नै झिकाइएको थियो । उनीहरूलाई झण्डै १० लाख दिइएको आयोजक समितिका एक सदस्यले बताए । डे नाइट प्रतियोगिताको नाम दिइएको विराट गोल्डकपमा पहिलो दिन दर्शकको चाप थेगिनसक्नु थियो । आयोजकले सोचेभन्दा धेरै दर्शकको उपस्थिति रह्यो । त्यो दिन एक सय ५० देखि २ सयसम्मको टिकट काटेर दर्शक फुटबल हेर्न रंगशाला प्रवेश गरेका थिए । तर त्यसको भोलिपल्टदेखि नै त्यसको मूल्य बढाएर २ सय ५० पुर्याइयो । अर्थात् आयोजकको मनोबल बढ्यो रकम जति उठाए पनि हुने रहेछ भनेर ।
एकाएक मूल्य बढाएर व्यापरीहरूले आफ्नो शैली फुटबल प्रतियोगितामा पनि मूल्यवृद्धि गरेर व्यापार देखाए । त्यसमा हात आयोजक समितिका संयोजक नविन रिजालकै रह्यो । दुई दिन अघिसम्म स्थानीय अनलाइनलाई लाइभ गर्ने अनुमति दिइएकोमा आयोजक समितिका संयोजक रिजालले अनलाइनबाट लाइभ गर्न प्रतिबन्ध लगाए ।

गैरजिम्मेवार संयोजक
विराट गोल्डकप आयोजक समितिले सोचेकोभन्दा बढी दर्शक आएपछि टिकट लिएकाहरूले नै खेल हेर्न नपाएर मैदानबाहिरै तनाव भयो । त्यसको कारण थियो, दर्शक थेग्न नसक्नु । मूल गेटमा १० हजार र ४ सय दरका टिकट हातमा लिएर रंगशाला खेल मैदानमा प्रवेश गर्न लागेका दर्शकहरूलाई भित्र प्रवेशमा आयोजक समितिका संयोजक नविन रिजाल आफैंले माइकबाट टिभीमा घरमा गएर हेर्न भनेपछि दर्शक आक्रोशित भएका थिए । संयोजक रिजालले भने, ‘तपाईहरूलाई राख्न सक्दैनौँ, स्थानीय मकालु टेलिभिजनबाट लाइभ गरेका छौँ, घरमै बसेर हेर्नुस् ।’ खेल शुरु भएदेखि खेल नसकिँदासम्मका लागि १० हजार टिकट काटेर आफ्नो सिट सुरक्षित राखेका दर्शकलाई आयोजक समितिका संयोजकको त्यो कुरा ठीक लागेन उनीहरूले प्रवेशद्वार नै भत्काउँला झैँ गरी आक्रोश पोखे । अवस्थालाई नियन्त्रणमा लिन प्रहरी नै परिचालित गर्नु परेको थियो ।
ब्लाकमेलमा टिकट बिक्री
विराट गोल्डकपको खेल मैदानबाहिर टिकटको समेत कालोबजारी भएको पाइयो । टिकट सर्वसाधारणले सहजै पाउने अवस्था नभएपछि आयोजकहरू मध्येकै स्वयम् सेवकको बिल्ला भिरेकाहरूले टिकटको कालोबजारी गराएर बढी मूल्यमा टिकट बेचेका थिए । सजिलोका लागि लाइनमा बस्नु नपर्ने भएपछि दर्शकले पनि ३ सय पर्ने टिकट चार सय र चार सय भनिएको टिकट पाँच सयसम्ममा बेचेका थिए ।
रमिते प्रशासन
नेपालको प्रचलित नियम कानुनविपरीत गएर ठूला खालका पटाका पड्काउँदा स्थानीय प्रशासन रमिते बन्यो । यतिमात्र होइन प्रतियोगिता शुरु भएको दिन प्रदेशका मुख्यमन्त्री शेरधन राईकै अगाडि ठूला ब्लास्टहरू भए, त्यसलाई मनोरञ्जनका रूपमा लिइयोे । ठिकै होला पहिलो दिन उत्सवको रूपमा लिइएको बताइए पनि प्रतियोगिताको फाइनल खेलमा आयोजकले पहिलो दिनको गल्ति फेरी दोहोर्यायो ।
ठूला–ठूला आवाजमा आतिसवाजी सहितको पटाका पड्काउन स्थानीय प्रशासनले रोक्न सकेन । फाइनल खेलमा नेपाल सरकारका खेलकुद मन्त्री जगतबहादु्र सुनुवार, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की तथा जिल्लास्थित सुरक्षा अधिकारीहरूको समेत उपस्थितिमा आतिसवाजी भइरहँदा आफ्नो घरमा भएका सर्वसाधारण निद्राबाट ब्यूझिएका थिए । केही दिनअघि मात्र विराटनगमा एक पूजारीमाथि गोली प्रहारको घटना थाहा पाएका सर्वसाधारण आतिसवाजीले त्रसित देखिन्थे ।