
साविकको सिक्किम अधिराज्य भारतको एक प्रान्त बनेको ४३ वर्षपछि अब छिटै भारतीय रेलसेवाको सञ्जालमा आउने भएको छ । ‘डेली न्युज एण्ड एनालिसिस (डिएनए)’ पत्रिकाको अन्लाइन संस्करणमा आएको खबर अनुसार, रेल्वेसेवा शुरू भएपछि चीनसित सिमाना जोडिएको सिक्किममा सैनिक आवागमन सहज हुनेछ ।
यो रेल परियोजना बाटोमा पर्ने गोर्खाल्याण्ड टेरिटोरिएल एड्मिनिस्ट्रेसन (जिटीए)बाट अनुमोदन हुन केही ढिलाइ भएकोले रेलसेवाको काम अघि बढाउन अलमल भएको थियो । अब आवश्यक सहमति जुटिसकेको छ । रेल्वे लाइनको सबैजसो (५१ किलोमिटर) खण्ड गोर्खाल्याण्डलाई छिचोल्दै जानेछ । बाँकी एक किलोमिटर खण्डमात्र सिक्किममा पर्दछ । यो ब्रोडगेज रेल्वे लाइनको महत्व गतवर्ष डोक्लाममा भारत र चीनबीच ७० दिने तनाउले बढाएको छ । डोक्लाम चीनको तिब्बत, भारत र भुटानको एक आपसमा भेट हुने भू-खण्ड हो ।
यतिन्जेल सिक्किमको बाँकी भारतसितको यातायात सम्पर्क राष्ट्रिय राजमार्ग-१० बाट हुँदै आएको छ, तर पहिरो गैरहने क्षेत्रबाट जानुपर्ने हुनाले बरोबर अवरोध भैरहन्छ । यो रेल्वे परियोजनाको अनुमानित लागत १,३३९.४८ करोड रुपिञा छ ।