
काठमाडौं, १६ वैशाख– चुनावी समीक्षाका लागि एक महिनादेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक एक–अर्काको आलोचनामै केन्द्रीत बनेको छ । सहमतिका लागि भन्दै शुक्रबार स्थगित भएको बैठक शनिवार बस्दै बसेन। बिहान ९ बजे बोलाइएको बैठक साँझ पौने ७ बजेसम्म बस्न नसकेपछि आइतबारका लागि पुनः बोलाइएको छ ।
सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टी पराजित हुनुको जिम्मेवारी लिनुपर्ने/नपर्ने भन्नेमा विवाद बढेपछि केन्द्रीय कार्यसमितिको शनिबार सम्पन्न गर्ने भनिएको बैठकै बस्न सकेन । निर्वाचनको हारमा आफू दोषी नभएको भन्दै सभापति देउवाले जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।
शनिबार शीर्ष नेताबीच अनौपचारिक छलफल भएपनि सहमति बन्न सकेन । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितको संस्थापन इतर पक्षले वाम गठबन्धनका कारण मात्रै नभएर सभापतिको कार्यशैली र सरकारमा छँदा देउवाले गरेका अलोकप्रिय निर्णय नै निर्वाचन हार्नुका कारण रहेको औंल्याउँदै आएका छन् ।
पौडेल र सिटौला पक्षले पार्टी निर्णयमै सभापतिले हारको जिम्मेवारी लिनुपर्ने अडान राखेका थिए । तर देउवाले नमानेपछि शनिबार दिनभरको प्रयासमा पनि सहमति जुट्न सकेन ।
सभापति देउवाले पदाधिकारी मनोनयन गर्न वैशाख १७ गते निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेका छन् । स्रोतका अनुसार उनले आफू निकट नेताहरूसँग पदाधिकारी मनोनयनबारे छलफल गरेका हुन् ।
सांसदलाई साढे ६ अर्ब बाँड्ने प्रपञ्च– सरकारले सांसद विकास कोषको नाममा फेरि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यमार्फत अर्बौ रुपैयाँ वितरण गर्ने तयारी थालेको छ । सांसद विकास कोषको रकम चरम दुरुपयोग भएको आलोचना आइरहेकै बेला फेरि सरकारले सांसदलाई तजबिजीमा खर्च गर्न पाउने गरी ६ अर्ब ६२ करोड बाँड्ने तयारी गरेको हो ।
अघिल्लो संसद् सदस्यका लागि आएको रकम नयाँ सांसदका लागि बाँड्ने गृहकार्य सुरु भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार सांसद विकास कोषको रकम अघिल्लो सांसदका लागि व्यवस्था भए पनि हाल संघीय संसद् स्थापना भई नयाँ सांसद आएकाले उक्त रकम नयाँ सांसदले नै विकास योजनामा खर्च गर्न पाउने गरी निर्णय गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ।
मन्त्रिपरिषद्ले पुराना सांसदको साटो नयाँ सांसदले विकास आयोजनामा खर्च गर्न पाउने निर्णय गरे प्रत्यक्षबाट निर्वा्चित १ सय ६५ जना सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत प्रतिसांसद ३र३ करोडका दरले पाउनेछन् भने निर्वाचन क्षेत्र विशेष कार्यक्रमअन्तर्गत संघीय संसद्मा रहेका ३ सय ३४ सांसदले प्रतिसांसद ५०र५० लाखका दरले पाउनेछन्। यो रकम उनीहरूले जेठ र असारभित्र सक्नु पर्नेछ ।, अन्नपूर्ण पोस्टमा खबर छ।
भारतीय ज्यादतीप्रति सरकार मौन– पछिल्लो एक वर्षयता कञ्चनपुरका नागरिकले एक पटक होइन, पटक–पटक भारतीय पक्ष (खासगरी सुरक्षाकर्मी)को ज्यादती खेपेका छन् । आफ्नै भूमिमा संरचना निर्माणको क्रममा मात्रै होइन, भारतीय सीमावर्ती बजारमा किनमेल गर्दा, हिँडडुल गर्दा समेत भारतीय पक्षको ज्यादती सहनु परेको छ ।
तर नेपालको सरकारी निकाय भने निरिह बनेका छ, नत सीमा विवाद सुल्झेको छ, नत ज्यादतीको श्रृंखला नै हटेको छ । वैशाख १२ गते पुनर्वास नगरपालिका–९ बिचफाँटामा स्थानीयले दुई पक्षीय सहमतिमा नेपाली भूमिमा विद्युतीय तारबार गरिरहेका थिए ।
पुनर्वास नगरपालिका–९ का वडा अध्यक्ष नारायण जैशीले नेपाली भूमिमा तारबार भैरहेको बेला एसएसबीले अवरोध पुर्याउनुका साथै नेपाली सुरक्षाकर्मीकै सामुने तारवार उखेलेर फालेको बताए ।
गत वर्ष फागुनमा पुनर्वास नगरपालिका–४ आनन्द बजारमा कल्र्भट निर्माणको विषयमा दुई पक्षबीचको विवादले उग्ररुप लिएको थियो । उक्त घटनामा भारतीय सुरक्षाकर्मीको गोलीबाट पुनर्वासका गोबिन्द गौतमले ज्यान गुमाउनु परेको थियो ।
गत कात्तिक महिनामा पुनर्वासको सीमा क्षेत्रमा भारतीय पक्षले ट्रेन्च खनेको थियो । कात्तिक महिनामै भीमदत्त नगरपालिका–१० जिमुवामा होमपाईप बिछ्याउने बेला एसएसबीबाटै अवरोध सिर्जना भएको थियो ।
त्यस्तै, गत माघ महिनामा बेलौरी नगरपालिका–१० मा नेपाली पक्षले सडक चौडा गर्ने क्रममा भारतीय पक्षले अवरोध पुर्याउँदा स्थानीयले विकासको कामै ठप्प गर्नु परेको थियो ।
भारतीय पक्षबाट श्रृङ्खलावद्ध रुपमा हुँदै आएको ज्यादती र हस्तक्षेपबाट स्थानीयबासी त्रसित बनेका छन् । तर नेपाल सरकारले हालसम्म निकासको दिगो पहल गर्न सकेको छैन ।
प्रदेश ७ को बजेट पारित– प्रदेश नं. ७ को शनिवार बसेको संसद बैठकले अल्पकालीन बजेट पारित गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बैशाख ९ गते संसदमा प्रस्तुत गरेको १ अर्ब २ करोड ५ लाखको बजेट पारित भएको हो ।
प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपा नेपालका सांसदले प्रस्तुत बजेट सम्भाव्यतामा मात्रै केन्द्रीत रहेको भन्दै खर्च कटौतीको माग गरी संशोधन प्रस्ताव पेश गरेका थिए । तर, बैठकमा प्रतिपक्षी दलका सांसदले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएपछि प्रस्तुत अल्पकालीन बजेट पारित भएको हो ।
कांग्रेस सांसदद्वारा संसद अवरुद्ध– नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले प्रदेश दुईको बैठक अवरुद्ध गरेका छन् । आज बसेको प्रदेश सभाको २२ औं बैठक कार्यसूचीमा प्रवेश गर्नु पूर्व नै कांग्रेसका सांसदहरुले अवरुद्ध गरेका हुन् ।
बिनाप्रतिपक्ष सरकार सञ्चालन भइरहेकाले यस विषयलाई समयमै टुंगो लगाउन माग गर्दै कांग्रेस प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका हुन् । सभामुख सरोज यादवले सांसदहरुलाई दुईपटक सम्म बस्न अनुरोध गर्दा पनि नमानेपछि आगामी बिहीवारसम्मका लागि बैठक स्थगित गरे ।
मण्डपबाटै बेहुला बेहुली समातिएपछि रोकियो विवाह– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ९ को सिम्ली प्रहरीले बाल विवाह गर्दै गरेका दुई किशोर किशोरीलाई नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाएको छ ।
सानीभेरी गाउँपालिका ७ सिम्ली फुक्रुकी १७ वर्षीया किशोरी र सानीभेरी गाउँपालिका १० अर्माका १८ वर्षीय किशोरबीच विवाह हुन लागेको खवर पाएपछि प्रहरी चौकी सिम्लीबाट खटिएको प्रहरी टोलीले उक्त विवाह रोकेको हो ।
केटी पक्षले माईती फुक्रुमै धुमधामका साथ विवाह गराएर छोरीको कन्यादान दिने तयारी गरिरहेको बेला प्रहरीले मण्डपबाटै केटा र केटीलाई नियन्त्रणमा लिएर विवाह रोकेको हो । सानीभेरीमा बाल विवाह न्युनिकरणको अभियान नै चलिरहेको छ ।
पछिल्लो दुई महिनामा मात्र १३ वटा बालविवाह रोकेको जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत मानविर ओलीले जानकारी दिए ।
खरको छानो हटाउने अभियान शुरु– दाङको तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित आवासका लागि खरको छानो हटाउने अभियान शुरु गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले वडा नम्वर १ को भ्यूडहर सुनपुरबाट शनिवार अभियानको शुरुवात गरे ।
पहिलो चरणमा २० घर परिवारलाई जस्ता पाता वितरण गरिएको छ । घरको साईज हेरेर एउटा परिवारलाई २७ वटा सम्म जस्ता पाता उपलब्ध गराइको छ । तुलसीपुरको वडा नं. १ भ्यूडहर सुनपुरमा १ सय ६५ वटा खरको छाना भएका घर छन् ।
भारत र चीनबीच सीमा तनाव कम गर्ने सहमति– भारत र चीनबीच सीमामा तनाव कम गर्ने सहमति भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुवै मुलुकले सैन्य तथा सुरक्षा सम्पर्क सुधार गर्न कदम चाल्ने सहमति भएको हो ।
सीमानामा तनाव कम गर्ने नयाँ उपायहरू घोषणा गर्दै दुई देशबीचको अनौपचारिक शिखर वार्ता सकिए हो । चिनियाँ शहर वुहानमा भएको वार्तालाई दुवै पक्षले आपसी सम्बन्धलाई सुधार्ने मौकाका रुपमा लिएका छन् ।
दुई दिने चीन भ्रमणका क्रममा मोदीले चिनियाँ राष्ट्रपति सीसँग ९ घण्टा बिताएको बताइएको छ । उनीहरु विभिन्न सात वटा कार्यक्रममा समेत सहभागी भएका थिए ।
माइभ्याली गोल्डकपको उपाधिकालागि थ्रीस्टार र मनाङ भिड्ने– इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लब पुगेका छन् । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टारले सशस्त्रको एपिएफ क्लबलाई २–० को अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
यसअघि नै त्रिभुवन आर्मीलाई हराउँदै मनाङ फाइनलमा प्रवेश गरेको छ । माइभ्याली गोल्डकपको फाइनल खेल सोमबार दिउँसो ३ बजे हुनेछ ।