
काठमाडौं, १७ वैशाख–तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल २०६६ साल भदौ २५ सुदुरपश्चिममा एक कार्यक्रमको उद्घाटन गर्न कैलालीको धनगढी पुगेका थिए ।
कार्यक्रम सकेर राजधानी फर्किँदा रात पर्यो । असुरक्षा हुने भन्दै सेनाको हेलिकप्टरले रातिमा नजान आग्रह गरेपछि हेलिकप्टर नेपालगञ्जमा अवतरण गरियो ।
भोलिपल्ट मन्त्रीपरिषद् बैठक रहेका कारण प्रधानमन्त्री नेपाल भने विमानबाट भए पनि काठमाडौं आउन चाहान्थे । तर एउटा विमानमा आएको सामान्य समस्याका कारण नेपालगञ्ज विमानस्थल बन्द थियो । त्यसरात उनीहरू नेपालगञ्जको स्नेहा होटलमा बसे ।
भोलिपल्ट सेनाको हेलिकप्टरबाट काठमाडौं फर्किने तयारीमा थिए, रुकुममा एक जना महिला सुत्केरी व्यथाले छटपटिएको कुरा थाहा पाए । तत्कानीन प्रधानमन्त्री नेपालका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार नेपालले सुत्केरीलाई काठमाडौं लिएरै जाने निधो गरे ।
काठमाडौं विमानस्थलमा प्रसुतीगृहको एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिएर प्रधानमन्त्री नेपालले बिरामी कमला चन्दलाई रुकुमबाट उद्धार गरे । सुत्केरी व्यथाले छटपटाएकी कमलालाई प्रसुती गृहमा भर्ना गरियो ।
भर्ना गरिएको भोलिपल्ट पनि नेपालले अस्पताल गएर भेटे । ९ वर्षपछि नेता नेपालले सोमवार रुकुममको मुसिकोट नगरपालिकामा गएर कमलाको परिवारलाई भेटे ।
प्रधानमन्त्रीले सुत्केरी व्यथाले छटपटाएकी महिलाको उद्धार गरेको भन्दै नेपालको प्रसंशा भएको थियो । सोमवार पूर्वप्रधानमन्त्री नेपाल आफ्नो घरमा आउँदा कमला पनि दंग थिइन् । ‘उहाँले मेरो जीवन रक्षा गर्नुभएको थियो’ कमला भन्ने गर्छिन् ।
तस्वीर सौजन्य : सुरेन्द्र खत्रीको फेसबुक