
काठमाडौं, २१ वैशाख– यातायात क्षेत्रमा व्याप्त आलोपालो प्रथा (सिण्डिकेट) खारेज गर्ने सरकारी निर्णयका विरुद्ध यातायात व्यवसायीले आज देशव्यापी आम–हड्ताल आह्वान गरेका छन् । व्यवसायीहरुले आफ्ना सवारी साधन ग्यारेज र घरमा थन्क्याउँदा यात्रुहरु अलपत्र परेका छन् ।
देशभर छोटो तथा लामो दुरिका सवारी साधनहरु बन्द छन् । गैर नाफामूलक संस्थाका रुपमा दर्ता हुने यातायात समितिको दर्ता नवीकरण नगर्ने सरकारी निर्णयको बिरोधमा यातायात व्यवसायीले गरेको चरणवद्ध आन्दोलनलाई सरकारले भने पर्ख र हेरको रुपमा लिएको छ ।
आज (शुक्रवार) यातायात व्यवसायीले गरेको बन्दका कारण अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्याउन व्यवसायीसँग वार्ताको प्रयास भइरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ । यातायात व्यवस्था विभागले भने सेवा बन्द गर्ने व्यवसायीको विवरण शंकलन भइरहेको जनाएको छ ।
‘आज सेवा बन्द गरेका सबै व्यवसायीको विवरण शंकलन गर्दै छौं,’ यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले लोकान्तरसँग भने, ‘यातायात व्यवसायीले गरेको बन्द सामना गर्न आन्तरिक छलफलमा छौं । दिउँसोसम्म केही न केही निर्णय हुन्छ ।’
यातायात व्यवसायीहरुले गरेको चरणवद्ध आन्दोलन अन्तर्गत आज एक दिनका लागि यातायात व्यवसायीले बन्द आह्वान गरेका हुन् । आजको बन्दलाई सरकारले असफल बनाउने रणनीति लिएको छ ।
यातायात व्यवसायीले २८ गते अनिश्चितकालीन रुपमा सेवा बन्द गर्ने घोषणा गरेका छन् । त्यस्तो अवस्थामा व्यवसायीबाट थुतेर गाडी चलाउने घोषणा गरेको थियो । यद्यपि त्यसबारे कुनै पहल चालिएको छैन ।