
काठमाडौं, २२ वैशाख– नयाँ शैक्षिक सत्र शुरु भएसँगै विद्यार्थी भर्नाका नाममा निजी विद्यालयले चर्को शुल्क असुलेको भन्दै आन्दोलनरत विद्यार्थीले आन्दोलन फिर्ता लिएका छन् ।
आज (शनिवारा) शिक्षा मन्त्रालयमा भएको ४ बुँदे सहमति पछि आन्दोलन फिर्ता लिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए ।
निजी विद्यालयको भर्ना शुल्क लगायतका विषयमा छलफल गर्न आज शिक्षा मन्त्रालयमा शिक्षामन्त्री, शिक्षा सचिव, स्थानीय तहका प्रमुख, विद्यार्थी संगठनका पदाधिकारी, प्याब्सन एनप्याब्सनका प्रतिनिधि तथा अभिभावक संघका पदाधिकारीबीच भएको बैठकपछि विद्यार्थी संगठनले आन्दोलन फिर्ता लिने निर्णय गरेका हुन् ।
बैठकमा ४ बुँदे सहमति भएको छ । सहमतिको पहिलो बुँदामा संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ लाई कायान्वयन गर्दै गैरकानूनी रुपमा बढाइएको शुल्क फिर्ता गर्ने विषय समावेश छ ।
यस्तै १० प्रतिशत छात्रबृत्तिलाई पारदर्शी गरी सूचना पाटीमा टाँस्ने, निर्देशिका पालना गराउन अनुगमन समिति बनाइ स्थानीय तहबाट अनुगमन गर्न मन्त्रालयले सहजिकरण गर्ने तथा विद्यालय हाताभित्र झोला, ड्रेस, पाठ्यपुस्तक बिक्री वितरण तत्काल रोक्ने र विद्यार्थी संगठले आन्दोलन फिर्ता लिने विषय सहमतिमा उल्लेख छ ।
