२२ जेठ २०८३, शुक्रबार

मोदीको भ्रमणबारे डा. सुरेन्द्र केसीको विश्लेषण– ‘धार्मिक आवरणमा रणनीतिक चलखेल’

बैशाख २७, २०७५
मोदीको भ्रमणबारे डा. सुरेन्द्र केसीको विश्लेषण– ‘धार्मिक आवरणमा रणनीतिक चलखेल’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो ५ वर्षे कार्यकालको करीब अन्तिममा आइपुग्दा तेस्रो पटक नेपाल भ्रमणमा आउन लागेका छन् । मोदी शुक्रबार (भोलि) दुईदिने नेपाल भ्रमणका लागि आउँदैछन् ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण सकिएको एक महिना पनि नबित्दै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

मोदीको नेपाल भ्रमणले नेपाली राजनीतिक वृत्त तरंगित भएको छ । नेपालसँग रोटीबेटीको सम्बन्ध छ भन्दै पहिलो पटकको नेपाल भ्रमणका क्रममा संसदमा भाषण गरेका मोदीले त्यसलगत्तै नेपालमाथि नाकाबन्दी लगाएका थिए । जसका कारण उनको आसन्न नेपाल भ्रमणमा नेपाली जनता र सर्वसाधारण आक्रोशित बनेका छन् । सामाजिक सञ्जालहरूमा मोदीविरुद्ध चर्का अभिव्यक्ति सार्वजनिक भइरहेका छन् ।

मोदीले नेपाल भ्रमणमा कुटनीतिक मर्यादा नमानेको वा हेपेको भन्दै विरोध भइरहेको छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरेर मोदी आफ्नै सेनाको विशेष सुरक्षामा हेलिकप्टरमार्फत् जनकपुरमा अवतरण गर्ने तयारीमा छन् ।

धार्मिक भन्दै अन्तर्राष्ट्रिय कूटनीतिक मान्यताविपरीत प्रचलित हवाइ रुटसमेत नाघ्दै उनी जनकपुर प्रवेश गर्न लाग्दा नेपाल सरकारले तयारीको कुनै कसर भने बाँकी राखेको छैन । मोदीको भ्रमणका अवसरमा सार्वजनिक बिदादेखि लिएर जनकपुरमा २ दिन पर्यटकीय रुट समेत बन्दको निर्णय गर्दा यसअघि नाकाबन्दीविरुद्ध खरो रूपमा उत्रिएका प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना भइरहेको छ ।

मधेसको राजनीतिमा भारतले खेल्ने गरेको आरोप लाग्ने गरिरहेका बेला मोदी जनकपुरलाई भारतको कुनै प्रान्त जस्तो देखाउने प्रयास गर्दै हेलिकप्टर यात्राबाट नेपालमा अवतरित हुँदैछन् । मोदीको नेपाल भ्रमणका विभिन्न विषयलाई समेटेर मनीषा अवस्थीले राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीसँग कुराकानी गरेकी छन् ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

मोदीको भ्रमणलाई धार्मिक भ्रमणका रूपमा व्याख्या गरिँदैछ, यो धार्मिक नै हो कि राजनीतिक भ्रमण ?

धार्मिक त हुँदै होइन । यसलाई धार्मिक हो कि राजनीतिक हो भनेर विषयान्तर गर्नु ठीक होइन । स्पष्ट छ, धार्मिक आवरणमा हुन लागेको रणनीतिक राजनीतिक भ्रमण हो । राजनीतिक तहबाट हुने भ्रमण धार्मिक आवरणमै भए पनि राजनीतिक नै हुन्छ । यो मोदीको नीजि आकांक्षासँग जोडिएको भ्रमण हो ।

मोदी अन्तर्राष्ट्रिय हवाइ रुट छाडी सिधै आफ्नो हेलिकप्टर प्रयोग गरेर जनकपुर आउँदैछन्, यसलाई कसरी लिने ?

कूटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय कानूनविपरीत सिधै जनकपुर आउनु परम्परा, मर्यादा तथा कूटनीतिक परिधि उलंघन गरेर नेपालमाथि खेल्नु हो । नेपाललाई पेल्ने भारतको हेपाहा प्रवृत्तिको अभ्यासको नयाँ श्रृंखला हो मोदीको यो भ्रमण । दुई देशको सार्वभौमिकता जस्ता कुनै पनि कुराको वास्ता नगर्नु हेप्नुबाहेक केही होइन । हाम्रो सरकारको आत्मसमर्पणवादी चिन्तनका कारण नेपालीहरूले अर्को अपमान बेहोर्नुपर्ने अवस्था आउँदैछ ।

जनताको अत्यधिक मत पाएको सरकारसँग मोदीको भ्रमणका विषयलाई लिएर जनता नै आक्रोशित देखिएका छन्, यसबारे के भन्नुहुन्छ ?

नेपालीहरूले मान्छेको मूल्याङ्कन घटनामा गरे । कुनै पनि व्यक्तिको मूल्याङ्कन एक घटनालाई मात्र हेरेर गर्नु र उसलाई पूरा विश्वास गर्नु हाम्रो कमजोरी हो । समष्टिगत अभ्यासमा मानिसको मूल्याङ्कन गर्नुपर्छ । हाम्रा प्रधानमन्त्री केपी ओली राष्ट्रवादी होइनन्, राष्ट्रवादको परिभाषा समेत दिन सक्दैनन्, भनेर त मैले पहिल्यै भनेको थिएँ । मान्छेहरु बढी हौसिए ।

त्यसो भए नाकाबन्दीविरुद्ध ओलीको अडान केही पनि थिएन ?

नाकाबन्दीविरुद्ध जे गरे, ओलीको समष्टि त्यही हो भनेर जनताले बुझे, त्यै कमजोरी भएको छ । ओलीले त आफू जे हो त्यही देखाएका छन् । रणनीतिक हिसाबले सत्तामा पुग्नका लागि नाकाबन्दीको पनि विरोध गरेको हो कि जस्तो देखिएको छ । अझै पनि पूर्ण भइसकेको छैन, अझै हेर्नुपर्ने हुन्छ । अहिले ओलीले जे गरे, त्यो ठीक गरेनन् । उनले यसो नगर्नुपर्ने, आफ्नो पहिचान र बनेको छवी नबिगार्नुपर्ने, यो चाहीँ उनकै लागि घाटा हुने विषय हो ।

मोदीको नेपाल भ्रमणबाट नेपालीले के अपेक्षा गर्ने ?

नेपालीहरूको अपेक्षा त मसिना कुराहरूमा मात्रै छ । तटबन्धका कारण सीमा क्षेत्रका जनताहरू डुबानमा पर्ने गरेका छन्, त्यसको समाधानका लागि काम गर्नुपर्छ । यस्तै भारतले ल्याएको विमुद्रीकरणको नीतिले नेपालहरूले दुखजिलो गरी कमाएको पैसा छ, त्यो त्यसै थन्किएको छ, त्यसलाई व्यवस्थापन गर्नुपर्छ । सिमानामा नेपालीहरूले रातदिन भारतीय सुरक्षा निकायबाट दुःख पाउनुपरेको छ, प्रताडित हुनुपरेको छ, त्यसको समाधान गर्नुपर्छ । गोविन्द गौतमलाई सीमाभित्र आएर मारिएको छ, त्यसको क्षतिपूर्तिको कुरा छ ।

तपाईंले भनेका समस्या समाधान गर्न नेपालले पहल गर्न सक्ला ?

वर्तमान नेतृत्वबाट यी कुनै कुराको पनि अपेक्षा गर्नै सकिँदैन ।

यो पनि पढ्नुहोस् :
'मोदीले नेपालमाथि हस्तक्षेप गरे भन्नु राजनीतिक प्रोपागाण्डा मात्र'

salt training

कमेन्ट गर्नुहोस्