
बुटवल, २ जेठ– बुटवल बहुमुखी क्याम्पसमा लामो समयदेखि अध्यापनरत आंशिक प्राध्यापकहरुले मासिक ज्यालादारी व्यवस्थापनको माग राख्दै क्याम्पसमा पठन पाठन ठप्प पारेका छन् ।
आन्दोलनरत शिक्षकहरुले अध्यापन बहिष्कार गरेसँगै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुमा गम्भिर अन्यौल सिर्जना भएको छ । वैशाख ६ गते बुटवलमा आयोजित नेपाल आंशिक प्राध्यापक संघको राष्ट्रिय भेलाले निर्णय गरेबमोजिम वैशाख १५ गतेदेखि क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकहरुले अध्यापन कार्य बहिष्कार गरेका हुन् । हाल क्याम्पसमा ५२ जना आंशिक शिक्षकहरुले सेवा दिइरहेका छन् ।
१६ दिनदेखि नियमित कक्षा संचालन नहुँँदा परीक्षा नजिकिँदै गरेका विद्यार्थीहरु मर्कामा परेका छन् । स्नातक तह पहिलो वर्षमा अध्ययनरत विज्ञान संकायतर्फका विद्यार्थीहरुले पाठ्यक्रमको २० प्रतिशतसमेत पढेर नसकिएको गुनासो गरे । त्रिभुवन विश्वविद्यालय प्रत्येक वर्ष भदौ महिनामा प्रथम वर्षको परीक्षा लिने गर्दछ । क्याम्पस प्रशासन र आन्दोलनरत शिक्षकहरुले आ–आफ्नो स्वार्थ परिपूर्तिका लागि आफूहरुलाई प्रयोग गरिरहेको विद्यार्थीहरुको गुनासो छ ।
यता क्याम्पसमा सक्रिय विद्यार्थी संगठनहरुले नियमित कक्षा सञ्चालनको माग गर्दै पटकपटक प्रेस विज्ञप्ति निकाल्दै आएपनि क्याम्पस प्रशासनले समस्या समाधानमा तागरुकता देखाउन नसकेको आरोप लगाएका छन् ।
आ–आफ्ना अडानका कारण विद्यार्थीको भविष्यप्रति गैरजिम्वेवार भएको भन्दै आइतबार आक्रोशित विद्यार्थीहरुले आनदोलनरत केही शिक्षकहरुलाई केही समय प्रशासनिक कार्यालयमा थु्नेर राखेका थिए । त्यस्तै तत्काल कक्षा सञ्चालनका लागि क्याम्पसले तागरुकता नदेखाएको भन्दै क्याम्पस प्रशासन अगाडि नाराबाजीसमेत गरेका थिए । ‘एक हप्ताभन्दा बढी भैसक्यो पढ्न नपाइ घर फर्केको,’ विज्ञान संकायतर्फ प्रथम वर्षमा अध्ययनरत छात्र विमल पाण्डेले भने ‘प्रशासनको निष्कृयताका कारण हाम्रो भविष्यमाथि गम्भीर खेलवाड भैरहेको छ ।’
‘क्याम्पस आएपछि शिक्षक र प्रशासनसंग झगडा गरेर घर फर्कीने काम मात्र भएको छ,’ विज्ञान संकायका अर्का छात्र रामकृष्ण घिमिरेले भने,‘हाम्रो माग न त शिक्षकहरु जिम्वेवार देखिन्छन् न त क्याम्पस प्रशासन नै ।’
विद्यार्थीहरुले शिक्षक र प्रशासनको एक आपसको समस्यामा विद्यार्थीहरुको भविष्यलाई नपार्ने कामका लागि दुवै पक्षलाई आग्रह गर्दै आइरहेका छन् । अब छिट्टै कक्षा सञ्चालनको वातावरण मिलाउन नसके थप गहन आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने विद्यार्थीहरु बताउँछन् ।
अनेरास्ववियु क्याम्पस कमिटी सभापति भरत अर्यालले शिक्षकहरुको विद्यार्थीहरुमाथि देखाएको गैर जिम्मेवारीपन कमिटीलाई सह्य नहुने बताए । उनले निरन्तर कक्षा संचालनमा प्रशासनले तत्काल तागरुकता नदेखाए कडाभन्दा कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने बताए । बुधबार (आज) देखि नियमित पठनपाठन नभए प्रशासन र आन्दोलनरत शिक्षकहरु दुवैपक्षका विरुद्ध आन्दोलनका कार्यक्रहरु सार्वजनिक गर्ने कमिटी सभापति अर्यालले चेतावनी दिए ।
‘विद्यार्थीको भविष्यप्रति दुवै पक्ष गम्भीर नहुनु निकै निन्दनीय छ, अब पनि कक्षा सञ्चालनमा ढिलाइ भए कमिटीले बुधबार कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछ ।’ क्याम्पस कमिटी सभापति भरत अर्यालले भने ।
आन्दोलनरत शिक्षकहरुले आफ्नो मागहरुप्रति क्याम्पस प्रशासन गम्भीर नभएको आरोप लगाएका छन् । प्रशासनले विभिन्न बाहानामा आफ्ना मागहरुलाई आलटाल गर्दै आएकोले संघको राष्ट्रिय भेलाको निर्णयअन्ुरुप आफूहरुले आन्दोलन गरेको उनीहरुले बताए ।
‘हामीले स्थायी दरबन्दीको माग गरेका होइनौँ, यो त्रिविले झुटा आरोप लगाएको मात्र हो, ’ क्याम्पसमा विगत १२ वर्षदेखि अध्यापनरत शिक्षक तथा आनदोलन संयोजक मानध्वज गिरीले भने,‘हाम्रो मुख्य माग भनेको स–सम्मान मासिक ज्यालादारीको व्यवस्था हुनुप¥यो ।’ संघको यो अन्तिम चरणको आन्दोलन भएकाले विना कुनै निष्कर्ष आनदोलन फिर्ता नलिने उनको अडान थियो ।
यता क्याम्पस प्रशासनले आंशिक शिक्षकहरुको जायज मागहरु पूरा गर्न क्याम्पस प्रतिबद्ध रहेपनि करारमा शिक्षक नियुक्तिगर्न क्याम्पसको स्रोत र साधनले नपुग्ने बताएको छ । यद्यपि कक्षा सञ्चालन गर्न नियमित पहल गरिरहेको क्याम्पसले बताउँदै आएको छ ।
आंशिक शिक्षकहरुसंग लागातार वार्ता जारी गर्दै तत्काल कक्षा सञ्चालनका लागि क्याम्पसका स्थायी शिक्षकहरुलाई समय व्यवस्थापन गर्न आग्रह गर्ने क्याम्पस प्रशासनले बताएको छ । त्यसबापत स्थाई शिक्षकहरुलाई अतिरिक्त सुविधाको व्यवस्था गरिने बुटवल बहुमुखी क्याम्पसका निमित्त प्रमुख भुवन खनालले बताए । ‘स्थायी शिक्षकहरुसंग समय व्यवस्थापनको लागि आग्रह गर्ने निर्णय भएको छ, उहाँहरुले मान्नुभएमा कक्षाहरु छिटै् सञ्चालन हुनेछन्,’ निमित्त प्रमुख खनालले भने ।