०२ असार २०८३, मंगलबार

ताल मासेर बस्ती, अप्राकृतिक दोहनले अस्तित्व गुमाउँदै प्राकृतिक तालतलैया

जेठ ६, २०७५
ताल मासेर बस्ती, अप्राकृतिक दोहनले अस्तित्व गुमाउँदै प्राकृतिक तालतलैया

धनगढी, ६ जेठ– कुनैबेला वर्षैभरि पानीले भरिभराउ रहने प्राकृतिक तालतलैयाहरु  सुकेका छन् ।

दिन प्रतिदिन प्राकृतिक सम्पदामाथि मानवीय हस्तक्षेप तथा अतिक्रमण बढेपछि त्यस्ता तालतलैयाहरु सुकेका हुन् । फलतः केही तालहरुमा खेतीपाति हुन थालेको छ, भने केहीमा मानव बस्ती समेत बसेको छ । कैलालीको भजनी नगरपालिकास्थित पुरैना र भगरहिया ताल त्यसको उदाहरण हो । 

आफै उत्पत्ति भएका तालहरुको अप्राकृतिक रुपमा दोहन हुन थालेपछि जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिने तालहरुको अस्तित्व संकटमा परेको छ । खासगरी, जिल्लाको संरक्षित क्षेत्र, बसन्ता कोरीडोरमा रहेका प्राकृतिक तालहरुको अस्तित्व संकटमा परेको हो । 

६६ हेक्टर क्षेत्रफलमा फैलिएको पुरैना ताल लोपोन्मुख पंक्षी सारसको बासस्थानको रुपमा चिनिन्छ । तर हाल कृषि योग्य जमिनमा परिणत भएको उक्त तालमा चालु वर्ष स्थानीय किसानले चैते धान खेती गरेका छन् । विक्रम सम्वत २०६९ सालमा यो ताल पूर्ण रुपमा सुकेको थियो ।  त्यस्तै, भगरहिया ताल पनि सुकेर कृषि योग्य जमिनमा परिणत भएको छ ।

एक सय भन्दा बढी ताल रहेको बसन्ता कोरीडोरमा कम्तीमा पाँच ठूला तालको अस्तित्व समाप्त भइसकेको बताइएको छ । बसन्ता कोरीडोरमा रहेका प्राकृतिक तालहरुको अप्राकृतिक रुपमा दोहन, वन अतिक्रमण, जथाभावी चरिचरन लगायतका कारणले संरक्षित क्षेत्रभित्र रहेका प्राकृतिक तालहरुको अस्तित्व संकटमा परेको स्थानीय संरक्षणकर्मीहरुको बुझाइ छ । 

संरक्षित क्षेत्रको अवधारणा विपरित स्थानीय सरकारहरुले प्राकृतिक तालहरुलाई ठेक्का दिन थालेपछि बसन्ता कोरीडोरमा रहेका प्राकृतिक तालहरुमा असर पुगेको विगत लामो समयदेखि संरक्षणमा क्रियाशिल भजनीका विजयराज श्रेष्ठ बताउँछन् । 

उनी भन्छन्–‘ प्राकृतिक तालहरुको प्राकृतिक रुपमै संरक्षण गर्नु पर्ने हो, तर त्यस्ता तालहरुलाई ठेक्कामा लगाएर अप्राकृतिक रुपले दोहन गरिदैंछ । फलस्वरुप, कैयौं तालहरुको अस्तित्व पुरिएर वा सुकेर समाप्त भएको छ ।’
भजनी नगरपालिका, कैलारी गाउँपालिका लगायतका स्थानीय तहले बसन्ता कोरीडोरमा रहेका तालहरुलाई माछा पालनका लागि ठेक्का दिएका छन् । 

संरक्षण गर्ने उद्देश्यले नेपाल सरकारले आर्थिक वर्ष २०६४/०६५ मा बसन्ता कोरीडोरलाई संरक्षित क्षेत्र घोषणा गरेको थियो । तर, सरकारको उक्त प्रयास घोषणामामात्र सीमित देखिन्छ । 

संरक्षित क्षेत्रभित्र पर्ने तालहरुलाई ठेक्कामा लगाउन पाइदैन । यद्यपि, संरक्षित क्षेत्रको मर्म र अवधारण विपरित सरकारकै निकायहरुले प्राकृतिक तालहरुलाई माछा पालनका लागि ठेक्कामा दिदैं आएका छन् । जसले गर्दा प्राकृतिक तालहरुको दोहन हुन गइ सिमसार क्षेत्र नै समाप्त हुने खतरा बढेको छ । 

तालको उपयोग गर्ने तर, संरक्षणप्रति ध्यान नदिने परिपाटी विद्यमान छ । फलस्वरुप वरिपरिको माटो बगेर विस्तारै तालमा जम्मा हुने र पुरिने गरेको बताइन्छ । अधिकांश ताल सुख्खा याम नलाग्दै हिउँदमै सुक्ने गरेका छन् । माछा मार्ने क्रममा कतिपय ताललाई सुकाइने गरिएको छ । यहि कारणले जैविक विविधतामा असर पुग्न गएको सिमसार क्षेत्रको अनुगमन गर्दै आएका संरक्षणकर्मी हिरुलाल डंगौराले बताए । 

उनको अनुसार ढोङ्ग्रहवा, नुक्ली, टलबेलुवा, बञ्जरिया, रखौना, जम्नेहटा, चम्रैया, सोनिया, रुपिया, गुर्डहुवा लगायत सबै तालमा माछा पालन गर्ने र जैविक विविधता नष्ट गर्ने कार्य भइरहेका छन् । 

पानीको मुहान प्राकृतिक रुपमा सुक्दै जाने र मानवको उच्छृङ्खल क्रियाकलाप बढेपछि भएका तालहरुको अस्तित्व खतरामा परेको तराई भू–परिधि कार्यक्रममा कार्यरत तिलक चौधरीको बुझाइ छ । ‘बसन्ता कोरीडोरमा रहेको प्रायः सबै तालको अस्तित्व संकटमा परेको देखिन्छ’, उनले भने ।

जंगलमा रहेका प्राकृतिक ताल जनावर र चराचुरुंगीको आहार बिहार, विचरनको प्रमुख स्थान मानिन्छ । वन्यजन्तुहरु तालकै पानी खाएर बाँच्ने गर्दछन् । अझ धेरै प्रजातिका चराचुरुंगीहरुको प्राकृतिक बासस्थान सिमसार क्षेत्र नै रहेको छ । ताल नै रहेन भने यसमा आश्रित वन्यजन्तु र चराचुरुंगीको अस्तित्व नरहने भएकाले संरक्षण गर्नु पर्नेमा संरक्षणकर्मीहरुको जोड छ । 

भौतिक तथा जैविक स्रोतको असन्तुलित प्रयोग, मुलको व्यवस्थापन नहुनु, पानीको प्रयोग बढ्दै जानु जस्ता कारणले प्राकृतिक तालहरुको अस्तित्व मासिने गरेको प्राणीविद डा. मुकेशकुमार चालिसेले बताउँछन् । वन्यजन्तुका लागि अनिवार्य रहने प्राकृतिक तालहरुको समयमै संरक्षण गर्नतर्फ सबैको ध्यान जानु पर्नेमा पनि उनको जोड छ । 

बसन्ता जैविकमार्ग अन्तर्गत विश्व रामसारमा सूचिकृत घोडाघोडी सहित केहि ठूला ताल पर्दछन् । जसमध्ये, खैलाडस्थित ८० हेक्टरमा फैलिएको लौकाहा भौकाहा, ४० हेक्टरमा फैलिएको सोनिया, ६० हेक्टरमा फैलिएको घोडताल, रतनपुरस्थित ३५ हेक्टरमा फैलिएको खौरहवा ताल पहिलेको तुलनामा धेरै खुम्चिएको र गहिराई पनि कम भएको जनाइएको छ । 

तालैतालको जिल्लाको रुपमा परिचित कैलालीमा ताल क्षेत्रमै अतिक्रमण बढ्दो छ । यहाँ रहेका १८७ तालमध्ये कतिपय अब नाम मात्रैको भइसकेका छन् । 

हाल कैलालीमा जिल्ला भ्रमण तथा पर्यटन भ्रमण वर्षको सुरुवात गरिएको छ । जिल्लामा रहेका तालतलैयाहरु नै पर्यटकहरुको आकर्षक गन्तव्य हुन सक्ने प्रसस्त आधारहरु रहेको हुँदा संरक्षण तथा सम्वद्र्धनतिर सरोकारवाला निकायको ध्यान जान उत्तिकै जरुरी छ ।

salt training

कमेन्ट गर्नुहोस्