वासिङटन, २८ माघ – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पारिवारिक कारोवार बढाउन राष्ट्रपति पदको दुरुपयोग गरेको आरोप लागेको छ।आफ्नी छोरीको कपडा पसललाई लिएर उनले ट्विट गरेपछि डेमोक्र्याट सभासद्ले यस्तो आरोप लागेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पकी छोरी इभांकाले कपडाको ब्रान्ड चलाउँछिन्। हालै नोर्डस्ट्रामले ट्रम्पपुत्री इभांकाको ब्रान्डलाई आफूले बिक्री गर्न हटाएको थियो। यसै विषयलाई लिएर राष्ट्रपति ट्रम्पले नोर्डस्ट्रामको आलोचना गर्दै ट्विट गरे।
डेमोक्र्याटिक पार्टीका सांसद बब केसीले राष्ट्रपतिले पदीय गरिमा उल्लंघन गरेको आरोप लगाएका छन्। ट्रम्पको कार्यलाई ‘फेडरल एथिक्स अफिस’ले छानबिन गर्नुपर्ने माग गरेका छन्। पारिवारिक कारोबार बढाउन राष्ट्रपति पदको दुरुपयोग भएको भन्दै उनका विरुद्ध आवाज उठ्न थालेका छन्।
सिनेटर केसीले अमेरिकन अफिस अफ गभर्मेन्ट एथिक्सको ध्यान आकर्षण गराएका छन्। ट्रम्पले ट्विटमा लेखेका छन्, ‘मेरी पुत्री इभांकासँग नोडस्ट्रामले दुव्र्यवहार गरेको छ। उनी निकै असल मानव हुन्। उनले सधैं असल काम गर्छिन्।’ इभांकासँग भएको व्यवहार निकै अभद्र भएको ट्रम्पको जिकिर छ।
ट्रम्पले उक्त ट्विटलाई केही समयपछि अमेरिकी राष्ट्रपतिको आधिकारिक ट्विटर ह्यान्डलबाट पनि ट्विट गरिएको थियो। डेमोक्र्याटिक पार्टीका नेतृ नान्सी पलोसीले पनि यसै विषयलाई लिएर सिनेटमा ट्रम्पको आलोचना गरेकी छन्।
नोर्डस्ट्रामले गत साता इभांकाको ब्रान्डलाई बिक्री नगर्ने घोषणा गरेको थियो।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले ट्रम्पको ट्विट अनुचित नभएको दाबी गरे। उनले भने, ‘राष्ट्रपतिलाई आफ्नो परिवारको कारोबार र सफलताको प्रशंसा गर्ने पूरा अधिकार छ। कसैले राष्ट्रपतिको नीतिलाई लिएर उनका परिवारका सदस्यलाई निसाना बनाउँछ भने त्यो अस्वीकार्य छ।’