२९ असार २०८३, सोमबार

आईजीपी खनाल भन्छन्- अपराधीको जातधर्म हुँदैन, कसैले संरक्षण नगरौं

आईजीपी खनाल भन्छन्- अपराधीको जातधर्म हुँदैन, कसैले संरक्षण नगरौं

कलैया, २५ जेठ - नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताएका छन् । 

बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै महानिरीक्षक खनालले जनताको जीउधनको रक्षा गर्नका लागि प्रहरी अहोरात्र खटिरहेको बताए । 

महानिरीक्षक खनालले अपराध गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन कसैसँग सम्झौता नहुने भन्दै अपराध नियन्त्रण गर्नेमा नागरिकको पनि उत्तिकै भूमिका रहेको बताए ।

अपराधीहरूको कुनै जात र धर्म नहुने हुँदा त्यस्ता व्यक्तिलाई कसैले पनि संरक्षण नगर्न उनको आग्रह थियो । 

सोही कार्यक्रमलाई सम्बोधन गर्दै बारा उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष विनोद साहले कलैयाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै २०७२ सालमा पाँचवटा सिसी क्यामरा जडान गरिएकामा तराई मधेशको आन्दोलन ताका आन्दोलनकारीले तोडफोड गरेकाले सुरक्षामा केही जटिलता आएको थियो, भने । 

नगरभित्र ६४ वटा सिसी क्यामरा जडान गर्ने लक्ष्य रहेको भए पनि करीब रु २२ लाख ५० हजारको लागतमा ३२ वटा सिसी क्यामरा जडान गरिएको संघका अध्यक्ष साहले बताए । सिसी क्यामरा जडानसँगै नगरभित्रमा अपराध नियन्त्रण गर्नका लागि निकै सहयोग हुने प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिए । 

संघका अध्यक्ष विनोद साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उद्योग वाणिज्य संघको प्रदेश नं २ का अध्यक्ष अशोक वैद्य, जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंहलगायतले आ–आफ्ना विचार राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्