काठमाडौँ, २९ माघ - विभिन्न विद्यार्थी सङ्गठनहरुले फागुन १४ गतेदेखि हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आचारसंहिता कडाइका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) सहित १० विद्यार्थी सङ्गठनको संयुक्त बैठकले स्ववियु निर्वाचन स्वच्छ तथा मर्यादित बनाउनका लागि आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैठकले प्रत्येक क्याम्पसमा आचारसंहिता पालनको नियमित अनुगमन गर्नका लागि सबै सङ्गठनका महासचिव÷महामन्त्री वा तोकिएका प्रतिनिधिहरु रहेको अनुगमन समिति गठन गर्ने निर्णय गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । बैठकले आचारसंहिता वा कहीँकतै विवाद भएमा सम्बन्धित क्याम्पससँग छलफल गरी केन्द्रीय तहबाटै तत्काल समाधान गरिने निर्णय गरेको छ ।
लामिछानेका अनुसार आचारसंहिता विपरीत केही क्याम्पसमा एकमुष्ट र फर्जी भर्ना गरिएको पाइएकाले त्यस्ता भर्नाहरु छानबिन गरी तत्काल बदर र सम्बन्धित प्रशासनलाई कारबाही गर्न माग गरिएको छ ।
बैठकले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा पूर्ण सहमति जनाउँदै आइतबारदेखि निर्वाचन तालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ ।
यसैबीच, त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रियामा सहभागी भई सम्पन्न गर्न सबै विद्यार्थी सङ्गठनलाई अपिल गरेको छ ।
त्रिविका शिक्षाध्यक्ष तथा त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवं समन्वय समितिका संयोजक प्रा डा सुधा त्रिपाठीले आज एक विज्ञप्ति निकाल्दै केही क्याम्पसमा देखिएका असहज अवस्थालाई सहजतातर्फ उन्मुख बनाउने गरी निर्वाचन प्रक्रियामा सहभागी हुन सबै विद्यार्थी सङ्गठनलाई अपिल गरेकी छन् ।
विज्ञप्तिमा उनले निर्वाचनका बारेमा केही सङ्गठनका असहमतिका कुराहरु पनि बाहिर आएको उल्लेख गर्दै त्रिविले आगामी दिनमा त्यस्ता असहमतिलाई सम्बोधन गर्ने जनाएकी छन् ।
आठ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन हुन गइरहेको भन्दै उनले सवै विद्यार्थी सङ्गठनलाई घोषित प्रतिबद्धताअनुसार सम्पन्न गर्न आग्रहसमेत गरेकी छन् ।