काठमाडौं, १ असार – उत्तर कोरियाको सरकारी टीभी च्यानलबाट प्रसारित भएको एक फूटजले अमेरिकामा विवाद निम्त्याएको छ ।
फूटेजमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाका एक सैन्य जनरललाई सलाम गरिरहेका देखिन्छन् । सिंगापुरमा मंगलवार किम जोङ–उनसँगको शिखर वार्ताका क्रममा ट्रम्पले यसरी सलाम गरेका रहेछन् ।
फूटेजमा देखिएअनुसार, किमले उत्तरका सैन्य जनरल नो क्वाङ चोललाई ट्रम्पसँग परिचय गराएका थिए । ट्रम्पले सैन्य बर्दी लगाएका जनरलसँग हात मिलाउन खोजे तर जनरलले हात नमिलाएर ट्रम्पलाई सलाम गरे । तत्कालै ट्रम्पले जनरललाई सलाम फर्काए । सलाम गरेपछि ट्रम्प र जनरलले हात मिलाए ।
टीभी फूटेज हेरेपछि अमेरिकाका सैन्य विशेषज्ञहरूले ट्रम्प अब उत्तर कोरियाका सैनिकहरूको कठपुतली बनेको टिप्पणी गरेका छन् । उत्तर कोरियाले सिंगापुर शिखवार्तापछि आफूलाई शक्तिशाली राष्ट्रका रूपमा प्रस्तुत गर्ने मौका
पाएको र त्यसबाट भएका फाइदाहरूको व्यापक प्रचार गरिरहेको सैन्य विशेषज्ञहरू बताउँछन् ।
अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यास टर्नु र प्रतिबन्ध खुकुलो बनाइनु आफ्नो विजय भएको उत्तर बताउँदैछ ।
उता ट्रम्पले भने अमेरिकामा आलोचना खेप्नुपरेको छ । ट्रम्पले आणविक निःशस्त्रीकरणको उपहारस्वरूप उत्तर कोरियालाई चाहिनेभन्दा बढी दिएको भनी आलोचना भइरहेको छ ।
ट्रम्पले बिहीवार अमेरिकी मिडियालाई आलोचना गर्दै मिडियाको एक तप्काले सिंगापुर सम्झौतालाई कम मूल्यांकन गरेको बताए । यसैबीच अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास अनिश्चितकालका लागि स्थगित गरेको
घोषणा गरेको छ ।
Newly released video from North Korean state media shows US President Trump returning a salute to a North Korean general during the summit in Singapore https://t.co/ayan3uBMle pic.twitter.com/1SztB4xrMA
— CNN Politics (@CNNPolitics) June 14, 2018
एजेन्सी