
काठमाडौं, १ असार –फूटबलको महाकुम्भ ‘फिफा विश्वकप’ बिहीवारबाट रुसमा शुरु भएको छ ।
सामाजिक सञ्जालदेखि चिया गफसम्म विश्वकपकै चर्चा देख्न र सुन्न पाइन्छ । विश्वकपमा सहभागी देशमा त यसको रौनक हुने नै भयो, सहभागी नभएका देशहरूलाई पनि यसले राम्रैसँग प्रभावित पारेको छ ।
यसै सम्बन्धमा विश्वकपसँग जोडिएका हरेक विषयमा आम मानिसको चासो पाइन्छ । यहाँ हामीले रुस विश्वकपबारे १० तथ्य तपाईंलाई जानकारी दिँदैछौं ।
२१औं संस्करण
यो फिफा विश्वकपको २१औं संस्करण हो । सन् १९३० मा उरुग्वेबाट शुरु भएको विश्वकपले यस्ता २० श्रृङ्खला पार गरिसकेको छ । २० मध्ये ब्राजिलले ५, इटाली र जर्मनीले समान ४, अर्जेन्टिना र उरुग्वेले २–२ तथा स्पेन, फ्रान्स र इंग्ल्याण्डले १–१ पटक उपाधि जितेका छन् ।
कम्तिमा ३ र बढीमा ७ खेल
विश्वकपमा सहभागीमध्ये समूह चरणबाटै बाहिरिने टोलीले सबैभन्दा कम ३ र सेमीफाइनल पुग्ने टोलीले सबैभन्दा बढी ७ खेल खेल्नेछन् ।
सेमीफाइनलका विजयीले फाइनल र पराजित हुनेले तेस्रो स्थानका लागि खेल्ने भएकाले उनीहरूको खेल संख्या ७ पुग्नेछ ।
यदि कुनै टीमले लगातार ७ खेल जितेमा ऊ विश्वविजेता बन्ने छ । समूह चरणमा कुनै खेल हारेर नकआउट चरणमा लगातार ४ खेल जित्दा पनि उपाधि चुम्न सकिन्छ ।
भिडियो असिस्टेन्ट रेफ्री
यस विश्वकपको सबैभन्दा खास विशेषता भिडियो असिस्टेन्ट रेफ्री हो । कतिपय समयमा फिल्डमा रहने रेफ्रीले नदेखेर गलत निर्णय पनि गर्ने गरेकोमा अब भिडियो असिस्टेन्ट रेफ्रीले उनलाई सही निर्णय लिन सघाउने छन् । यसलाई विश्व फूटबलकै ऐतिहासिक फड्को मानिएको छ ।
दुई महादेशमा पर्ने एउटै देशमा खेल
भूगोलको हिसाबले रुस निकै ठूलो देश हो । यसको पूर्वी क्षेत्र एसिया र पश्चिमी क्षेत्र युरोपमा पर्छ । रुस विश्वकप आयोजना गर्ने एक मात्र त्यस्तो देश बनेको छ, जुन दुई महादेशमा फैलिएको छ ।
११ शहर, १२ रंगशाला
रुसका ११ शहरमा विश्वकपका खेल हुँदैछन् । खेल हुने रंगशालाको संख्या भने १२ छ । राजधानी मस्कोका २ र अन्य ११ शहरका १–१ रंगशालामा खेल हुनेछन् ।
सबैलाई पुरस्कार
विश्वकपमा सहभागी हुने सबै टोलीले धेरथोर रकम पाउँछन् । समूह चरणबाटै बाहिरिने १६ टोलीले सबैभन्दा कम ८० लाख डलर र उपाधि जित्ने टोलीले सबैभन्दा बढी ३ करोड ८० लाख डलर पुरस्कार पाउने छन् । विजेताले पाउने रकम करीब ४ अर्ब नेपाली रुपैयाँ हुन जान्छ ।
महारथीविनाको विश्वकप !
रुस विश्वकपमा ४ पटकको विजेता इटाली सहभागी छैन । इटाली विश्वकपका लागि छनोट हुनै सकेन । यस्तै ३ पटक फाइनल खेलेको नेदरल्याण्ड, दक्षिण अमेरिकी च्याम्पियन चिली र उत्तर अमेरिकी पावरहाउस अमेरिका पनि यो विश्वकपमा छैनन् ।
यी सबै टोली छनोट हुन असफल रहे ।
३२ देश, ६४ खेल
अघिल्ला संस्करणहरूमा जस्तै रुस विश्वकपमा पनि ३२ देश सहभागी छ्रन् । यी देशहरूबीच कुल ६४ खेल हुनेछ ।
दुई देशको डेब्यु
विश्वकपमा यसपटक नयाँ दुई टोलीले डेब्यु गर्दैछन् । आइसल्याण्ड र पानामाले पहिलोपटक विश्वकप खेल्न लागेका हुन् ।
आइसल्याण्ड विश्वकपमा सहभागीमध्ये जनसंख्याको हिसाबले सबैभन्दा सानो देश हो । सो देशमा करीब साढे ३ लाख जनसंख्या छ ।
७ सय ३६ खेलाडी
विश्वकप खेल्न रुस पुगेका खेलाडीको कुल संख्या ७ सय ३६ छ । प्रत्येक टोलीमा समान २३ खेलाडी छन् ।