३० जेठ २०८३, शनिबार

मन्त्रीज्यू, प्रेसको घाँटी निमोठेर समाजवाद आउन्न !

असार ३, २०७५
मन्त्रीज्यू, प्रेसको घाँटी निमोठेर समाजवाद आउन्न !

शुरूमा सुरबेसुर

राजनीतिका गफले वाक्कदिक्क भएपछि अब त स्तम्भमा मायाप्रेमका, भावनाका र चुम्बनका कुरा पनि समेटौं भन्ने सोचेको थिएँ । सोच्दासोच्दै गोकुल बाँस्कोटाले लफडा मच्चाइहाले । हुन त म नाथेले केही थाहा नपाएजस्तो गरेर सिरकले मुख छोपेर सुतेको भए पनि हुन्थ्यो । तर एकबारको जुनीमा केही यस्ता अभागी पाठकहरू छन्, जसले ‘दिल सर, फलानाको बारेमा लेखिदिनुप–यो’ भन्छन् । मलाई धेरैले सर भन्दैनन् जब कोहीकोहीले भन्छन् निm अचानक भावुक भइदिन्छु । 

तिनै दिल सर भनेर मलाई एकैछिनको लागि भए पनि ठूलो मान्छे बनाइदिनेहरूको सम्मानमा यो लेखोट तयार गरेको हुँ । अन्यथा दुईतिहाइ बहुमतको हुंकार र जगजगी भएको यो लोकमा शक्तिकेन्द्रमा भएका बाँस्कोटा जस्ता बलशाली मन्त्रीको आलोचना गरेर लेख्नु, बोल्नु जटिल विषय हो किनभने पक्राउ पर्न सकिन्छ, कम्युनिस्ट विचार नभएको आरोप लाग्न सक्छ । मान्नुहोस्, जे पनि हुन सक्छ । दरबारले सत्ता हातमा लिएको बेलाँ नि यस्तै डरलाग्दो अवस्था थियो ।

अतः मैले जोखिम उठाएरै भएपनि गोकुल बाँस्कोटाको अहंकारी शैलीका विपक्षमा उभिने निर्णय गरें । थरीथरीका हनुमानहरूको बीचमा, थरीथरीका चाकडीबाजहरूको बीचमा, थरीथरीका झोलेहरूको बीचमा यो झिनो प्रयास राजु थापाको पक्षमा भने हैन । राजु थापा को हुन् व्यक्तिगत रूपमा म चिन्दिनँ । अहिलेसम्म भेटेको पनि छैन, फोन संवाद भएको पनि छैन । उनीसँग गाईको दूध हालेको एक गिलास चिया पिएको साइनो पनि छैन । उनी कसका छोरा हुन्, त्यो पनि थाहा छैन ।

चाकडी र चेतनाको भाषा कस्तो हुन्छ ?

राजु थापाको जागिर गुमेपछि धेरै पत्रकार मित्रहरूले काखी बजाएका छन् । तर राजु थापाको जागिर मात्रै गुमेको हैन, पत्रकारिता पेशाप्रति प्रहार भएको हो भन्ने कुरा कमैले आँकलन गरेका छन् । निजी सञ्चारमाध्यमहरूले महिनौं तलब नदिएर कमैयालाई जस्तै कजाएपछि, तलब माग्दा गलहत्त्याएर निकालेपछि कोकोहोलो गर्दै फेसबूकमा पीडाका स्टेटस लेख्नेहरूले पनि राजु थापालाई नेपाल टेलिभिजनबाट हटाएर विकास र समृद्धिको ढोका खुल्यो भन्ने मिथ्या तर्क गरेका छन् । 

पत्रकार महासंघको निर्वाचनमा प्रेस चौतारीबाट चुनाव लडेका एकजनाले चाकडीको भाषामा फेसबूकमा स्टेटस लेखेका छन् ।  ‘पच्चीस वर्षदेखि मैले बुझेको गोकुल बाँस्कोटा मनका सोझा, पेटका सफा मान्छे हुन् । खरो र ठाडै बोल्छन् । क्याबिनेटमा पनि पीएमसँग सीधै आफ्ना तर्क प्रस्टसँग राख्ने पहिलो नम्बरका मन्त्री उनै हुन् । अर्को पनि बुझेको, यिनले तलमाथि गर्न जानेका नि छैनन् । अनुचित लाभ लिएका नि छैनन् । कहिलेकाहीँ बोल्दा चिप्लिन्छ । लेख्दा नि चिप्लिन्छ । कम्युटर टाइप गर्दा जस्तो सजिलो हुन्न सच्याउन । त्यसैले मूलतः प्रमुख प्रतिपक्षीले केही नपार एउटा इमान्दार पूर्वपत्रकार हालको सञ्चारमन्त्रीको पछि नलाग्नु बेश । बरू विकास र समृद्धिको एजेन्डामा आउनुस्, काफी बहस गरौं ।’

यो उदेकलाग्दो विचारमा राजु थापालाई आखिर नेपाल टेलिभिजनबाट मन्त्रीको ठाडो निर्देशनमा निकाल्न हुन्थ्यो कि हुन्नथ्यो ? यो कुरा कतै खुलेको देखिँदैन । खालि मन्त्रीको गुणगान मात्र देखिन्छ । यहाँ लफडाको विषय गोकुलले कहाँ के बोले, कस्तो स्वभावको छ, इमान्दार छन् कि छैनन् भन्ने नै हैन । त्यो त उनको नितान्त निजी मामिला हो । राजनीतिक जीवनको पाटो हो । सवाल उनले जुन किसिमको प्रेसमा अंकुश लगाउने काम गरेका छन्, के त्यो जायज छ त ?  जायज छैन । जस्तो कि लेखक अभय श्रेष्ठले आफ्नो फेसबूकमा यस्तो लेखेका छन्, ‘जागिर खोसिएका आफ्नै सहकर्मी पत्रकारको खिल्ली उडाएर पीडक मन्त्रीको चाप्लुसी गर्ने केही पत्रकार एवं लेखकको प्रवृत्ति लज्जास्पद छ । आफ्नो आलोचनात्मक चेतकै हत्याको मूल्यमा त तपाईंले पार्टीगत आस्था राख्नुभएको होइन होला । पीडितको विपक्षमा र शक्तिशालीको खुशामदमा लाग्ने लेखक पनि कहीँ लेखक हो ? तिनको वामपन्थी संलग्नता देख्दा वामपन्थ स्वयं लज्जित छ ।’

उही पञ्चायती शैलीमा सरकारी संयन्त्रहरू जम्मै मेरो हो, मैले जे भन्यो त्यही हुनुपर्छ भन्ने हो भने, त्यहाँ गणतन्त्रको स्वाद नमीठो हुन पुग्छ । बरू हामीले हिजोकै सामन्तवादी राज्य व्यवस्थाको वकालत गर्नतिर लागौं ।

वास्तवमा अभयजीको विचार चेतनाको माथिल्लो विन्दुबाट आएको हो । हामीले निरंकुश शासन व्यवस्था फ्याँकेर समावेशी नेपालको गणतन्त्र किन ल्याएको हो ? राजनीतिक विचारको दृष्टिले राजु थापा कांग्रेस हुन् कि तमलोपा, के मतलब भयो र ? मूलतः राजु थापा गणतन्त्र नेपालका नागरिक हुन्, अरूलाई जति स्वतन्त्रता उपभोग गर्ने अधिकार उनलाई पनि छ । आस्थाको आधारमा विभेद गरेर कसैलाई नाजायज अधीनमा राखेर हैकम चलाउन खोज्नेहरूले आफ्नो गिदीबाट संकीर्ण सोच बदलेको दिन मात्रै ऊ वामपन्थी हुन्छ । 

गोकुल शाहीमन्त्री जस्ता

राजतन्त्रविरुद्धका, गणतन्त्र प्राप्तिका समाचार बजाउँदा, लेख्दा एफएम रेडियोका स्टेशनहरू तत्कालीन शाही नेपाली सेनाले कब्जा गरेको थियो । शाही मन्त्रीहरूको आदेशमा छापा मिडियाका थुप्रै सम्पादकहरूलाई धरपकड गरेर दुःख दिएको थियो । त्यो समयमा राजावादी पत्रकारहरू नभएका हैनन्, तिनको चुरीफुरी झन् ठूलो देखिन्थ्यो । तर ती पलास्टिकका चम्चाहरू कालान्तरमा डम्पिङसाइट पुगेर प्रयोगविहीन भए ।

विचारमा फरक हौला, कार्यगत शैलीहरू एकआपसमा बाझिने, मन नपर्ने किसिमका होलान् तर याद गरौं हामी गणतन्त्र नेपालको नागरिक हौं, कुनै प्रजापरिषद्का निकम्मा रैती हैनौं । यहाँ सबै जान्नेसुन्ने छन् ।  फलानो यो पार्टीको, फलानो त्यो पार्टीको भन्ने पार्टी राजनीति सक्कियो अब । मुख्यतः हामी गणतन्त्रको प्राप्तिका लागि सँगै आन्दोलन गरेका सारथी हौं । गणतन्त्र नेपालको अनुभूती सबैले गर्न पाउनुपर्छ ।

चीजहरूमा गुणात्मक परिवर्तन नआउने हो भने, उही पञ्चायती शैलीमा सरकारी संयन्त्रहरू जम्मै मेरो हो, मैले जे भन्यो त्यही हुनुपर्छ भन्ने हो भने, त्यहाँ गणतन्त्रको स्वाद नमीठो हुन पुग्छ । बरू हामीले हिजोकै सामन्तवादी राज्य व्यवस्थाको वकालत गर्नतिर लागौं । त्यसो गर्दा कम्तीमा कित्ता क्लीयर हुन्छ र भ्रम निवारण हुन्छ । हैन भने आफ्ना भावनाहरूलाई वाक् स्वतन्त्रताका माध्यमबाट प्रस्तुत गर्न पाउने अधिकारलाई बन्देज गर्ने नैतिक अधिकार कुनै माइकालाललाई छैन ।

कम्युनिस्टहरू प्रश्नसँग डराउँदैनन्

पत्रकारहरूको काम प्रश्न सोध्ने हो । ती अनुकूल हुन पनि सक्छन्, नहुन पनि सक्छन् । पत्रकारको काम भजन गाउने हैन । हुन त नेपाल टेलिभिजनमा सरकारी मनुष्यहरूलाई सीधा प्रश्न सोध्ने कार्यक्रम पनि रहेछ । यो निकै अनौठो भयो । तर सूचना प्रविधिको युग हो यो । चीजहरूले फड्को मारिसक्यो । चाकडीको भाषा, स्वाभिमानको भाषा सबैले बुझ्न थालेका छन् । आम जनता दुनियाँका सबै समाचारहरूसम्म सजिलै पहुँच राख्नसक्ने युगमा पुगिसके । 

अब लुकाउने कुरा केही छैन । किम जोङ–उनले ट्रम्पलाई भेट्न सिंगापुर आउँदा दिसा, पिसाब गर्ने छुट्टै चर्पी लिएर आएको पनि सबैलाई थाहा भइसक्यो । गोकुल को हुन् र ? एमालेमा छँदा गुटबन्दीको राम्रो सेवा गरेबापत टीका लगाएका छन् । राजु थापाले कस्तो प्रश्न सोधे, यिनले कसरी उत्तर दिए, दुनियाँले हेरेका छन्, बुझेका छन् । यिनका ‘शरीरका भाषा’ कुनै सामन्ती शासकभन्दा कम थिएन । कम्युनिस्टहरू त प्रश्नसँग डराउँदैनन् । इमान्दार र राज्यप्रति बफादार छन् भने पत्रकारलाई तह लगाउनुपर्ने थिती नै हैन यो ।

अहंकार

प्रधानमन्त्री केपी शर्मा ओलीको सुपुत्रसरहको माया पाएर बालकोट दरबारमा विराजमान हुने अवसर पाएका गोकुल बाँस्कोटा रातारात सूचना तथा सञ्चारमन्त्री भए । नेपाल आमाको कोखमा यस्ता बिरलै सन्तान जन्मिएका छन्, जो विना कुनै महान् संघर्ष फ्याट्ट मन्त्री भइदिन्छन् । आईफोन कम्पनीको सामसुङ मोबाइल बोक्ने यी मन्त्रिले हिजो मात्रै ‘भारतको भाले फिर्ता गर्छु’ भनेका छन् । 

त्यसभन्दा अगाडि यिनले एउटा ‘बोल्ड डिसिजन’ गरेका थिए । त्यो हो, आफूलाई अप्ठ्यारो प्रश्न सोधेको भन्दै सरकारनियन्त्रित नेपाल टेलिभिजनमा १२ वर्षदेखि सञ्चालित कार्यक्रम ‘सीधा प्रश्न’ बन्द गराउने निर्देशन दिएर । प्रस्तोता राजु थापाले ‘कम्युनिस्ट’ मन्त्रीहरूले सम्पत्ति विवरणमा खुलाएको श्रीमतीको दाइजोबारे सोधेका थिए । यहि प्रश्नबाट आगो बनेका मन्त्रीको आवेग निभाउने पानी कहीँकतै भेटिएन । अन्ततः यिनी राजाको विचारबाट प्रभावित बने र आफूलाई शासक सम्झे । 

प्रश्न मालिक र मजदूरको 

यहाँ कसैले कसैको जागिर खोस्दैमा महान् कर्म गरेजस्तो नाचगान नगरे हुन्छ । कम्युनिस्टहरू श्रम गर्ने मान्छेको पक्षमा हुन्छन्, मजदूरको पक्षमा हुन्छन् । राजु थापाको राजनीतिक विचार के हो उनको अधिकारको विषय भयो । तर पेशाको हिसाबले उनी पत्रकार हुन् । पत्रकार भनेको प्रतिपक्ष हो । प्रतिपक्ष भनेको प्रेरणाको स्रोत हो । यहाँ भ्रष्टाचार र अनियमितताका समाचारहरू लुकाउन पल्टन खडा गरेका पत्रकारहरू छन् । राजु थापाले त जम्माजम्मी प्रश्न गरेका हुन् । पत्रकारले प्रश्न नगरेर घोडाको पुच्छर तानेर बस्ने त?

यो प्रश्न राजु थापा र गोकुल बाँस्कोटाको हैन । यो मालिक र मजदूरको प्रश्न हो, बदलिँदो नयाँ नेपालमा पुराना सामन्ती शासकहरूको लिगेसीको रवैया हो, आत्मकथा हो । कथित महान् राजनीतिक बुद्धिजीवीहरू भन्लान्, राजनीतिमा यस्ता खेल हुन्छन्, हिजो पनि भएकै हुन्, राजु लोकसेवा आयोग पास गरेर गएका हैनन् । गजब कुरा हो । राज्यको संयन्त्रमा भाडाका टट्टुहरूलाई टीका लगाएर छिराउनुभन्दा बरू लोकसेवाकै व्यवस्था गरेमा त्यो न्यायिक हुनेछ ।

नेपाल टेलिभिजन नेपालीको हो । नेपाल सरकार नेपालीको हो । कम्युनिस्ट पार्टीको बहुमतीय सरकार हुनुको अर्थ प्रतिपक्षका फरक विचारहरूको हत्या गर्दै जानुपर्छ भन्ने हैन । सबैलाई नसमेटेर जाने हो भने देशमा विकासको परिकल्पना नगरेपनि हुन्छ । बालकोट दरबारको आँगन गोकुल बाँस्कोटाको हुन सक्ला, त्यो आँगनमा बगैंचा बनाउने कि आँपको रुख रोप्ने उनको निजी मामिला भयो, तर राज्यको सम्पत्तिमा सबैको बराबर हक छ ।

राज्यका संयन्त्रहरू भर्तीकेन्द्र भएका छन् । त्यो पनि नातावाद अनि कृपावाद, पहुँच र दलीय आस्थाका आधारमा भागबण्डा हुँदा आज संस्थान र गुठीहरूको के हालत भएको छ ? आफ्ना मान्छेबाहेक अरूको मान्छे देख्नै नसक्ने भयो भने समावेशी चरित्र कसरी हुन्छ ? राजु थापाले कसलाई दाइ भन्छन्, कसलाई मामा भन्छन् जस्ता घटिया तर्क गरेर पेशागत अधिकारको क्षेत्रलाई जबर्जस्ती राजनीतीकरण गरिदिने ? शरम करो थोडा बहुत । पत्रकारको धर्म, पेशा, मर्यादा र पीडा समान हुन्छन् ।

अझ यो मामिलामा सबैभन्दा धेरै दाँत पत्रकार मित्रहरूले नै बजाएका छन् । 

सरकारी सञ्चारमाध्यम दलको भर्तीकेन्द्र किन ?

सरकारी संस्थानहरू त गद्दारहरूले लुटे । चर्को राजनीतीकरणकै कारण राज्यको लगानीमा चलेका सञ्चारमाध्यमहरू आज ध्वस्त भइसकेका छन् । जेठो पत्रिका गोरखापत्रको काम लोकसेवा आयोगको नतिजा निकाल्नबाहेक अरू छैन । नेपाल टेलिभिजन भद्रगोल कार्यक्रम हेर्न मात्रै खोलिन्छन् । एफएमको भलबाढीमा रेडियो नेपाल बगिसक्यो । यिनै बिग्रेका थितीलाई बदल्ने चुनौती सरकारसँग छ ।

आज गोकुल बाँस्कोटाले पत्रकारको प्रश्न सोध्ने अधिकारमाथि अंकुश लगाउँदा घोडका बथान जस्ता हजारौंहजार फौज बाहिर निस्केका छन् । दुःखको कुरा त यो छ कि तिनले आफूलाई पत्रकार हुँ भन्ने दाबी गर्छन्

त्यो भनेको राज्यका सबै संरचनाहरूलाई लोकतान्त्रीकरण गरेमा मात्रै जनताले परिवर्तनको अनुभूति गर्न सक्छन् भन्ने मान्यताअनुरूप सरकारनियन्त्रित मिडियाहरूलाई दलका कार्यकर्ताहरूको भर्नास्थल हुनबाट जोगाउने विषय पहिलो थियो । गोकुल बाँस्कोटा स्वयं पूर्वपत्रकार थिए, त्यही अनुभवका आधारमा नेपाली मिडियाको स्तर र पत्रकारहरूको जीवनयापनलाई उकास्ने अवसर पनि यिनले प्राप्त गरेका थिए ।

दिनरात, झरीबादल, घामपानी नभनी नेताको चाकडी गरेको भरमा राज्यका संयन्त्रहरूमा एक चिम्टी टीका लगाएर प्रवेश गर्नेहरूले राज्यको चरम दोहन गरेका छन् । यिनीहरूको मुख्य सरोकार कहिल्यै कामसँग हुन्न, दामसँग हुन्छ । सरकारको प्रवक्ता भइसकेपछि फलना कांग्रेस, फलना राप्रपा, फलना हाम्रो मनुष्य भनेर दाँत बजाउने तरिका त भाँडाकुडाको होलसेल दोकान थापेर बसेको प्रेस चौतारीको जिल्ला सदस्यको जस्तो भयो ।

म बढ्ता बोलेको छैन

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री रहेको समयमा बीबीसीको साझा सवाल कार्यक्रममा ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भनेर एकजना युवालाई हकारेका थिए । चुनावको मुखमा देउवा मिडिया अनफ्रेन्ड्ली हुँदा कांग्रेसलाई नोक्सान त भयो नै । तर देउवा ठीक हुनुहुन्छ भनेर सामाजिक सञ्जालमा एकजनाले पनि भनेन । आज गोकुल बाँस्कोटाले पत्रकारको प्रश्न सोध्ने अधिकारमाथि अंकुश लगाउँदा घोडका बथान जस्ता हजारौंहजार फौज बाहिर निस्केका छन् । दुःखको कुरा त यो छ कि तिनले आफूलाई पत्रकार हुँ भन्ने दाबी गर्छन् ।

शाहीकालका रामप्रसाद खनालभन्दा कडा बनेर निस्किएका गोकुल बाँस्कोटालाई आफ्नो झुटो विवरणको लज्जाबोध होस् । सकभर यिनले राजीनामा दिएर घरतिर कुलेलम ठोकून् । यिनले कुनै एकजना पत्रकारको काम खोसेर फुर्ती गर्न मिल्दैन । यिनले यो निरंकुश निर्णयप्रति आत्मालोचना गर्नुपर्दछ । पत्रकारलाई काममा फर्किने वातावरण निर्माण गर्नुपर्दछ । ओली सरकारका अन्य सरोकारवाला व्यक्तिहरूले गम्भीर चासो लिनुपर्दछ । कडा प्रश्न सोधेकै आधारमा राजु थापालाई नेपाल टेलिभिजनबाट हटाउने कदम नयाँ राजा बन्ने चाहनेहरूको निरंकुश सोच मात्र हो । 
माफ गर्नुहोस्, म बढ्ता बोलेको छैन ।    
 

salt training

कमेन्ट गर्नुहोस्