२९ असार २०८३, सोमबार

अवैध पर्यटन व्यवसायमाथि कानूनी डण्डा : बुटवलका ८ टुर्स एण्ड ट्राभल्समा शील

असार १२, २०७५
अवैध पर्यटन व्यवसायमाथि कानूनी डण्डा : बुटवलका ८ टुर्स एण्ड ट्राभल्समा शील

बुटवल, १२ असार – पर्यटकलाई सेवा दिने उद्देश्यले रूपन्देहीमा सञ्चालनमा रहेका टुर्स एण्ड ट्राभल्स दर्ता बिना नै चलेका पाइएको छ ।

आज अनुगमन गर्दा आधाभन्दा बढी ट्राभल्स् कम्पनी दर्ता बिना सञ्चालन भएको पाइएको हो । कानूनी प्रक्रिया नपुर्याएका ८ वटा टुर्स एण्ड ट्राभल्स कम्पनीलाई वाणिज्य र पर्यटन कार्यालयले आज शील गरिदिएको छ । पर्यटन कार्यालय भैरहवाका कार्यवाहक प्रमुख भीमबहादुर क्षेत्रीले अनुगमन गर्दा कानूनी प्रक्रिया पूरा नगरेका ८ वटा ट्राभल्समा शील गरिएको बताए ।

शील गरिनेमा राना होलिडे, आयुस्मा, मनकामना, रेसुंगा, सुपादेउराली, सुपर स्टार, नालामी र बुद्ध एडभेन्जर टुर्स एण्ड ट्राभल्स् छन् । ‘रूपन्देहीमा सञ्चालनमा रहेका करीब १ सयभन्दा बढी टुर्स एण्ड ट्राभल्स छन् । तीमध्ये ५० भन्दा बढी बिना दर्ता चलेका भेटिएको पाइयो,’ क्षेत्रीले भने ।  

टुर्स एण्ड ट्राभल्सले पर्यटकलाई ठग्ने, राज्यले तोकेको शुल्कभन्दा बढी रकम असुल्न गरेको भनी पर्यटन कार्यालयमा परेको उजुरीको आधारमा अनुगमन गर्दा अधिकांश ट्राभल्स दर्ता बिनाका भेटिएका हुन् । टुर्स एण्ड ट्राभल्स कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुनुपर्छ । कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएपछि घरेलु तथा साना उद्योग कार्यालयमा निवेदन दिनुपर्छ । त्यसपछि आन्तरिक राजस्व कार्यालयमा भ्याटमा दर्ता गरिनुपर्छ । भ्याटमा दर्ता भएपछि पर्यटन कार्यालयबाट व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र (लाइसेन्स) प्राप्त गरेपछि मात्र सञ्चालन गर्न पाउने कानूनी व्यवस्था छ ।

तर, आधाभन्दा बढी कम्पनीले कुनै कानूनी प्रक्रिया नपु¥याई सिधै पसल खोली सञ्चालन गरेको पाइएको हो । आईतबार नेपाल भारत सिमानास्थित बेलहिया बजारका विन टिचर ट्राभल्स, महाराजा ट्राभल्स र लिंक होलिडेलाई पनि बन्द गराएको थियो । लुम्बिनी घुम्न रूपन्देहीमा वार्षिक ३ देखि ४ लाख पर्यटक आउने गर्छन् । ती पर्यटक लुम्बिनी हुँदै पोखरा, सौराहा हुँदै काठमाडौं जान टुर्स एण्ड ट्राभल्स कम्पनीले गाडी रिजर्भ, हवाइजहाजको टिकट बुकिङ गरिदिने गर्छन् ।

नेपाल टुर्स एण्ड ट्राभल्स एसोसिएसन (नाटा) ५ नम्बर प्रदेशका उपाध्यक्ष सागर अधिकारीले अधिकांश टुर्स एण्ड ट्राभल्स कम्पनीलाई नियमन गर्नुपर्ने देखिएको बताए । उनले भने, ‘कानूनी प्रक्रिया पूरा नगरेकालाई सञ्चालन गर्न दिनु हुँदैन । अझै पनि अनुगमनमा छौं ।’

सरकारले ट्राभल ट्रेकिङ नियमावली २०७४ जारी गर्दै ट्राभल तथा ट्रेकिङ कम्पनी सञ्चालन गर्न चुक्ता पूँजी २५ लाख पु¥याएको छ । सरकारले १० लाख रहेको चुक्ता पूँजी वृद्धि गर्दै २५ लाख पु¥याएको हो । पर्यटकीय समय शुरू हुँदा ‘टूर प्याकेज’ पनि ल्याउने गर्छन् । 

वाणिज्य कार्यालय भैरहवाका शाखा अधिकृत लक्ष्मण लम्सालले रूपन्देहीका सबै ट्राभल्स कम्पनीलाई अनिवार्य कानूनी दायरामा ल्याउन अनुगमन थालिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्