
जनकपुरधाम–प्रदेश सभाको आज बसेको बैठकमा बारा जिल्लाका सांसदहरू एक अर्का बीच आरोप प्रत्यारोपमा उत्रिएका थिए । खास गरेर बारा जिल्लाको सदरमुकाम कलैयाबाट जिल्ला मालपोत कार्यालय र नापी कार्यालय जस्ता कार्यालय सार्ने बिषयलाई लिएर त्यस जिल्लाका प्रदेश सांसदहरू एक अर्का बीच आरोप प्रत्यारोपमा उत्रिएका थिए ।
आज सभामुख सरोज कुमार यादबले प्रदेश सभाको बैठकको कारबाही सुरु गर्दै गर्दा बारा जिल्लाका सांसदहरूले आफ्नो टेबल ठोक्दै उक्त बिषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
बैठकको सुरुवातमै ढ्याप ढ्यापे समयको सदुपयोग गर्दै बारा जिल्लाका सांसद पारस साहले बारा जिल्लाको सदरमुकाम कलैया बाट जिल्ला मालपोत र जिल्ला नापी कार्यालय सिमरामा सार्ने भनेर नेपाल सरकारले गरेको निर्णयको बिरोध गर्दै प्रदेश सरकारका मुख्यमन्त्री लाल बाबु राउतको ध्यानाकर्षण गराएका थिए ।
उनले भने,‘सेवा केन्द्रको नाउँमा कार्यालय स्थापना गरेको भए त ठिकै थियो, तर अहिले केन्द्रिय सरकारले ती कार्यालयहरू नै स्थानान्तरण गर्ने नेपाल सरकारले निर्णय गरेको छ, प्रदेश सरकारले के हेरेर बसेको छ ?’ यदि सेवा केन्द्र नै सार्नु छ भने अत्यन्तै बिकट र सदरमुकामबाट धेरै टाढा र बिकट रहेको सिम्रौनगढ़ तथा कर्चार्वा जस्ता ठाउँमा किन सेवा केन्द्र स्थापना भएन भन्दै सांसद साहले अगाडि भने, ‘यदि त्यो निर्णय स्थगित हुँदैन भने साउन १ गते देखि सम्पूर्ण बारा जिल्लाबासी आन्दोलित हुनेछन् र त्यसको जिम्मेबारी केन्द्रिय सरकारले लिनुपर्ने छ ।’
सेवा केन्द्र वा कार्यालय कहाँ स्थापना गर्ने भन्ने कुरा अब संघीयतामा केन्द्रिय सरकारले निर्णय गर्ने हो की प्रदेश सरकारले त्यस बारे समेत सदनमा छलफल हुनुपर्ने उनले बताएका थिए ।
सांसद साहले बोले पछि बारा जिलाकै महिला सांसद सीता गुरुङले भने उनको भनाईलाई काटेर सेवा केन्द्र सिमरामा स्थापना हुनै पर्ने धारणा राखेकी थिईन् । सांसद गुरुङले समेत मुख्यमन्त्री राउतको ध्यानाकर्षण गर्दै भनिन्,‘ सिमरामा ती कार्यालयको स्थानान्तरण भई रहेको छैन, मात्र सेवा केन्द्र स्थापना भईरहेको छ ।’ एका तर्फ बिकेन्द्रिकरणको पनि वकालत गर्ने अर्को तर्फ सेवा केन्द्र स्थापना हुँदा बिरोध समेत गर्ने हो भने यो द्वैध चरित्र भएन र भन्दै उनले भनिन्,‘हरेक कुरामा आन्दोलन गर्ने परिपाटी अब अन्त्य हुनुपर्छ, जनतालाई सेवा दिन सेवा केन्द्रको स्थापना गर्ने पर्छ । सिमराका जनता लाई मात्र होईन, सिम्रौनगढ़ र अन्य ठाउँमा समेत सेवा केन्द्रको बिस्तार गर्नुपर्छ ।’
उनले भन्ने बित्तिकै बाराकै अर्का सांसद बच्चा प्रसाद यादवले भने यसरी सदरमुकाम कलैया बाट कार्यालयहरू बिस्थापित हुंदै जाने हो भने कलैयाबाट सबै कार्यालय पलायन हुने बताए । उनले भने, ‘यस अघि सिमरामा बन कार्यालय लगायत थुप्रै जिल्ला स्तरका कार्यालयहरू सिमरामा स्थापित भएका छन् । यदि त्यसलाई रोकिएन भने कलैयामा केही पनि रहनेछैनन्, आन्दोलन बाहेक अन्य बिकल्प जनता समक्ष रहन्न ।’
यसरी बारा जिल्लाका सांसदहरूले बारा जिल्लाकै सभामुख सरोज कुमार यादव र पर्सा जिल्लाकै मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराए पनि मुख्यमन्त्रीले भने त्यो सबाल बारे जबाफ दिने क्रममा कुनै प्रतिक्रिया दिएनन् ।