
बाजुरा।बाजुराको हिमाली गाउँपालिका–२ नातिखोलाको एक परिवार ६ वर्षदेखि गाउँ निकालाको उत्पीडन सहन बाध्य छ । साबिकको रुगिन गाविसको कवाडी गाउँमा बस्दै आएका जयलाल बुढाको घरमा २०६९ सालमा एक जना दलित पसेर पानी खाएको गाउँलेले देखेका थिए । अछूतलाई पानी खुवाएको भनेर बुढा परिवारलाई अछूत भन्दै व्यवहार गर्न थालेपछि उनले गाउँ छाडे ।
‘गाउँमा छोराहरूसँग पनि बस्न नपाउँदा मन पोल्छ,’ गाउँबाहिर बस्नुपर्दाको अमिलो मन सम्हाले पनि गहभरी आँसु पार्दै ६० वर्षीया जयलाल बुढाले भने, ‘मान्छेलाई पानी खुवाउनु पनि पाप हो ? त्यसो भए पुण्य के हो ?’ उनका तीन छोराबुहारीहरू उनीभन्दा टाढा छन् । छोराबुहारीलाई पुरानो घरमा छाडेर उनी गाउँबाहिर छन् । ‘जीवन डुब्न लागेको बेला आफन्तको सहारा चाहिन्थ्यो, यही समयमा छोराहरूसँग बस्दा उनीहरू पनि अछूतको आरोप खेप्न बाध्य हुन्छन् कि भन्ने पीर लाग्छ, उनीहरू पनि यहाँ आउँदैनन्,’ उनले भने ।
सदरमुकामदेखि तीन दिनको पैदल दूरीमा रहेको उक्त गाउँपालिकामा यस्ता विषयको निर्णय ठालू (मुखिया) ले लिन्छन् । अहिले यस्ता समस्या वडा कार्यालय र गाउँपालिकामा पुग्छन् ।
जिल्लामा केही वर्षअघिसम्म दलितको हातको पानी खायो वा दलित केटीसँग विवाह ग¥यो भने उसलाई डुमियो (अछूत) भन्ने आरोप लगाएर गाउँ निकाला गर्ने चलनको सिकार भए बुढा । उनले पुख्र्यौली बस्ती छोडे । राजधानी दैनिकमा विस्तृत खबर छापिएकाे छ ।