
सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवातास नियन्त्रणका लागि जुवाडेलाई निशानामा राखेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) उमाकान्त चतुर्वेदीले सम्हालेपछि गत आर्थिक वर्ष २०७३/०७४ मा १६ वटा मुद्दामा ८९ जना जुवाडेलाई कारवाही गरेको हो । त्यसअघि आर्थिक वर्ष २०७२/०७३ मा जुवाबारे एउटा मात्रै मुद्दा परेको थियो । उतिबेला जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई जुवाडेको संरक्षण गर्दै आइरहेको आरोप लाग्ने गरेको थियो ।
गत आर्थिक वर्षमा प्रहरीले जुवा खालबाट नगद र चेकबापत ३९ लाख ६७ हजार ५ सय ४५ रुपैयाँ बरामद गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसपी चतुर्वेदीले ४ सय ६३ जना लागूऔषध प्रयोगकर्तालाई समातिएको र मनोवैज्ञानिक परामर्श समेत दिइएको जानकारी दिए । ४३ ग्राम ब्राउन सुगर तथा ५८ दशमलव ५ किलो चरेश बरामद गरेको उनले बताए ।
उनका अनुसार अवैध यौनजन्य क्रियाकलापमा सहभागी भएको आरोपमा ७५ पुरुष तथा ६३ महिलालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा महिला हिंसाका ४ सय ५९ वटा मुद्दा दर्ता भएकोमा ३ सय ९९ मुद्दाको मिलापत्र भएको छ भने २४ वटा फस्र्याैट हुन बाँकी रहेका छन् । ३६ वटा मुद्दा अन्य निकायमा पठाइएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ ।
‘उजुरी छानविन शाखामा गत वर्षमा १ हजार ३ सय ७६ वटा मुद्दा दर्ता भएका छन्,’ उनले भने, ‘तीमध्ये १ हजार ४३ मुद्दा फस्र्याैट भएका छन् भने ३ सय ३० वटा बाँकी रहेका छन् ।’
सुर्खेतमा आत्महत्याका घटना बढिरहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ९२ वटा आत्महत्याका घटना भएका छन् । जसमध्ये सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्ने रहेका प्रहरीले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार १ वर्षको अवधिमा ७१ जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।
जसमा ४६ महिला र २५ जना पुरुष छन् । २१ जनाले विष सेवन गरी आत्महत्या गरेका छन् । जसमा १३ जना महिला र ८ जना पुरुष रहेको पाइएको छ ।