
विराटनगर – बाढी गएको १ वर्ष बित्न लाग्दासमेत राहत नपाएपछि मोरङका बाढीपीडितको आक्रोश बढ्दै गएको छ । राहत नपाएका पीडितले स्थानीय तह घेराउ र तालाबन्दी लगायतका कार्यक्रम गरिरहेका छन् ।
राहत नपाएको भन्दै कटहरी गाउँपालिकाका बाढीपीडितले गाउँपालिका परिसरमा धर्ना दिए । कटहरी गाउँपालिकाका विभिन्न वडाबाट आएका सयौं संख्याका बाढी पीडितले गाउँपालिका परिसरमा जम्मा भएर राहत नपाएको भन्दै आक्रोश व्यक्त गरे । उनीहरूले गाउँपालिका प्रमुख रामकुमार कामतको कार्यकक्ष अगाडि उभिएर राहत नपाएको भन्दै आक्रोश व्यक्त गरे ।
विभिन्न कारण देखाउँदै राहत उपलब्ध नगराइएका कारण आफूहरूको बिजोग भएको बाढी पीडितले गुनासो गरेका छन् । कटहरी गाउँपालिका–२ की रजनी देवीले अहिलेसम्म राहतको नाममा जम्मा २ हजार रुपैयाँ मात्र पाएको बताइन् ।
सयौंको संख्यामा जम्मा भएका बाढीपीडितले गाउँपालिका परिसरमा होहल्ला समेत गरेका थिए । प्रमुख कामतले कटहरी गाउँपालिकामा १ हजार ५ सय १७ जना बाढीपीडित भएकोमा राहतका लागि ३ करोड ७९ लाख २५ हजार रुपैयाँ रकम आएको बताए । तर, पछिल्लो समय जिल्ला प्रशासन कार्यालयले राहत वितरण नगर्न पत्र पठाएपछि रकम वितरण गर्न नसकिएको भन्दै आफू पन्छिएका छन् । जिल्ला प्रशासनको आदेशले राहत वितरण हुन नसकेको जानकारी पाएका बाढीपीडित त्यसपछि भने जिल्ला प्रशासन कार्यालय गएका थिए ।
राहत नपाएको विषयमा उनीहरूले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसमक्ष गुनासो राखेका थिए । बाढी पीडितले राहत पाउनुको साटो आफूलाई दुःख दिने काम मात्र भएको गुनासो गरेका थिए ।
केही दिनअघि मात्र विराटनगर महानगरपालिकाको २ नम्बर वडाका बाढीपीडितले समेत राहत नपाएको भन्दै महानगरपालिकाको सभाकक्षमा होहल्ला गरेका थिए । उनीहरूले महानगर उपप्रमुख इन्दीरा कार्कीलाई भेटेर तत्काल राहत उपलब्ध गराउन माग गर्दै नदिए तालाबन्दी गर्ने चेतावनीसमेत दिएका थिए । बाढीपीडितले राहत नपाएको विषयमा प्रमुख जिल्ला अधिकारी आचार्यले एउटा आर्थिक वर्षको रकम अर्को आर्थिक वर्षमा वितरण गर्न नमिल्ने भएकाले रोक लगाइएको जानकारी बताए ।
रकम आएर महिनौंसम्म बसेपनि असार मसान्त अगाडि वितरण नगरिएकाले समस्या सिर्जना भएको प्रतिक्रिया दिए । गैरबाढीपीडितको नाम सिफारिस लगायतका विभिन्न कारणले मोरङमा राहत वितरण कार्य प्रभावित भएको जानकार बताउँछन् ।