२१ असार २०८३, आइतबार

बुटवलमा बधशाला सञ्चालनको तयारी

साउन १४, २०७५
बुटवलमा बधशाला सञ्चालनको तयारी

बुटवल – बुटवलमा निर्माणाधीन अवस्थामा रहेको पशु बधशाला सञ्चालनका लागि निजी क्षेत्रले सहकार्य गर्ने भएका छन् ।

उपमहानगरको प्रस्तावमा स्थानीय सरोकारवाला क्षेत्रका अगुवाले बधशाला सञ्चालनमा सहकार्यको साझा प्रतिवद्धता पनि जनाएका छन् । बधशाला सञ्चालनका लागि आवश्यक काम गर्न सर्वपक्षीय समितिसमेत गठन भएको छ । सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा बमोजिम बधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने तयारी भएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । 

बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी संयोजक रहेको १३ सदस्यीय समिति पनि गठन भएको छ । पशु वधशाला निर्माण तथा व्यवस्थापन समितिको सहसंयोजकमा मासु व्यवसायी संघ नेपाल बुटवलका अध्यक्ष कृष्णप्रसाद पौडेल रहेका छन् । समितिले आइतवारदेखि नै काम शुरू गरेको छ ।

समितिमा हेफर इन्टरनेसनल, मासु व्यवसायी संघ नेपाल, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ तथा उपभोक्ता हीत संरक्षण मञ्चले सहकार्य गर्ने छन् । 

उत्पादक सहकारीका प्रतिनिधिहरू बिहानी सामाजिक उद्यमी सहकारी कपिलवस्तुबाट तुलसी थापा, उपहार सामाजिक उद्यमी सहकारी रुपन्देहीवाट होमादेवी पौडेल, मिलनसार सामाजिक उद्यमी सहकारी पाल्पाबाट कमला भण्डारी पनि बधशाला सञ्चालनको साझा समितिमा रहेका छन् । समितिमा वडा अध्यक्ष पदम थापा, पशुपन्छी शाखाका झविन्द्र बञ्जाडे, हेफर बजार विकास प्रवन्धक अनन्त सिलवाल र सदस्य सचिवमा बुटवल उपमहानगरपालिका वरिष्ठ अधिकृत विष्णुप्रसाद खनाल छन् । 

बधशाला निर्माणको निम्ति उपमहानगरपालिका, नेपाल सरकार, मासु व्यावसायी, उत्पादक किसान सहकारीले आर्थिक सहभागिता जनाउने र नमूना योग्य बधशालाको रुपमा सञ्चालन गर्ने सहमति समेत भएको नगर प्रमुख सुवेदीले जानकारी दिए । 

बुटवल उपमहानगरपालिकामा सर्वपक्षीय भेलामार्फत् साझा समिति गठन भएको जानकारी दिँदै बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले अब साझा प्रतिवद्धताका साथ बधशाला सञ्चालनमा जुटेको बताए ।

हेफर इन्टरनेसनल नेपालका कार्यक्रम निर्देशक डा. तीर्थराज रेग्मीले बुटवलको परिवेशमा दैनिक २ सय ५० देखि ५ सय खसी बध गर्ने बधशालाको सम्भाव्यता देखिएको बताए  । जसको क्षमता प्रतिघण्टा १ सय वटा खसी हुन्छ । पशु बधशाला तथा मासु जाँच ऐन २०५५ लागू गर्न र जनस्वास्थ्यको संवेदनशीलता अनुरुपको मासु उत्पादनका लागि पनि बधशालाको खाँचो रहेको डा. रेग्मीले बताए ।

बुटवल उपमहानगरपालिका–१० रामनगरमा २ विगाह ३ कट्ठा क्षेत्रफलमा बधशालाको निर्माण भइरहेको छ । बुटवलमा २०६२ सालदेखि बधशाला निर्माणको पहल शुरू भएको थियो । देवीनगरमा शुरू भएको बधशाला निर्माणको काम २०६४ सालमा रामनगरमा गएको थियो । बधशालाको भवन निर्माण भएको छ भने केही उपकरण समेत खरिद भइसकेका छन् । यो सबै कामका लागि हालसम्म २ करोडभन्दा धेरै रकम खर्च भइसकेको समितिका सदस्य सचिव तथा उपमहानगरका वरिष्ठ अधिकृत विष्णु खनालले जानकारी दिए  ।

बधशाला निर्माण तथा सञ्चालनका निम्ति उपमहानगरपालिकाबाट पछिल्लो पटक ८० लाख विनियोजन भएको छ । यसमा मासु व्यावसायी र उत्पादक सहकारीको समेत आर्थिक सहभागिता जुटाइने भएको छ । बधशालालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन साढे ८ करोड रुपैयाँ लागत लाग्ने विज्ञहरूको अनुमान छ ।

कहाँ–कहाँ छन् बधशाला ?

नेपालमा विभिन्न समयमा काठमाडौं, धादिङ्ग, हेटौडा लगायतका स्थानमा पशु बधशाला स्थापना भएपनि व्यवस्थित रुपमा सञ्चालन हुन सकेनन् । ती बधशालाहरू अहिले बन्द भएको अवस्थामा छन् । 
कस्तो छ मासुको बजार ?

नेपालमा बार्षिक ८६ हजार मेट्रिक टन खसीको मासुको माग छ । जसलाई पूरा गर्न ७५ लाख खसी वार्षिक रुपमा आवश्यक पर्दछ । तर, यो संख्यामा नेपालमा खसीको उत्पादन हुन सकिरहेको छैन । बुटबलमा मात्र अनुमानित दैनिक २ सय खसीबोका खपत हुन्छ । 

अधिकांश मासु र मासुजन्य पशुपंक्षीहरू नेपालमा आयात हुँदै आएका छन् । काठमाडौंका तारे होटलमा अस्ट्रेलिया लगायतका देशबाट प्याकिङको मासु आयात हुँदै आएको छ । खसीको आयात प्रतिस्थापन गर्न र स्वच्छ मासु स्वदेशमै उत्पादनका लागि पनि बुटवलमा पशु बधशालाको खाँचो रहेको पशु विज्ञ डा. लक्ष्मण घिमिरेले बताए ।

साना किसानको आम्दानी वृद्धि गरी गरीबीलाई सम्बोधन गर्दै देशको अर्थतन्त्रमा समेत यो क्षेत्रले योगदान गर्ने उनको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्