
बुटवल – रुपन्देहीको बुटवल औद्योगिक क्षेत्र विस्तार योजना सफल हुन नसकेपछि उद्योगले क्षमता उन्नयका लागि भवनमा तला थपेर कार्य सञ्चालन गरेको पाइएको छ ।
औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगले जग्गा अभाव भएको भन्दै भवनमा तला थपेर कार्य सञ्चालन गरेका हुन् । २०४२ सालदेखि यता रूपन्देहीमा औद्योगिक क्षेत्र विस्तार गरिएको छैन । औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका कपिलवस्तु फाइबर इन्डस्ट्रिज प्रालि, कोहिनुर मेटल उद्योग, थापा इन्जिनियरिङ इन्डस्ट्रिज प्रालि, रेश्मी पोलिथिन इन्डस्ट्रिज प्रालि, शिवशक्ति सोप इन्डस्ट्रिज प्रालि, युनाइटेड प्रालि र इन्टरटेक प्रालिलगायत उद्योगले क्षमता विस्तारका लागि जग्गाको अभाव हुँदा पक्की संरचनामा तला बनाएका हुन् ।
थपिएका ती तलामा उद्योग व्यवस्थानदेखि उत्पादनसम्म कार्यसञ्चालन भइरहेका छन् । ४ सय ३४ रोपनी क्षेत्रफलमा रहेको बुटवल औद्योगिक क्षेत्रमा नयाँ वा सञ्चालित उद्योग विस्तार गर्न जग्गाको अभाव रहेको छ । जसका कारण उद्योगीले सञ्चालन गर्दै आएको उद्योग भवनमा तला थपेर उद्योग सञ्चालन गर्नुपरेको रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले बताए ।
उद्योगको पूँजी उत्पादकत्वभन्दा पनि पूर्वाधार व्यवस्थापनमा खर्च भएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘जग्गाकै अभावमा केही १ तले उद्योगले तला थपेर २ वा ३ तले बनाइसकेका छन्,’ अधिकारी भन्छन्, ‘जग्गा पर्याप्त भए यस्तो अवस्था आउँदैनथ्यो ।’
वन मन्त्रालयले रुख कटान गर्न इजाजत नदिएपछि बुटवल औद्योगिक क्षेत्र विस्तार योजना अलपत्र छ । जिल्ला प्रशासन कार्यालय, बुटवल उपमहानगरपालिका (तत्कालीन नगरपालिका) र जिल्लामा रहेका उद्योग संगठनले संयुक्तरुपमा औद्योगिक क्षेत्रको विस्तार योजना बनाएका थिए । जसअनुसार पूर्व–उत्तर २ सय ४० रोपनी र दक्षिण–पश्चिममा ३ सय रोपनी गरी ५ सय ४० रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्रको विस्तारको योजना बनेको थियो । तर, वन मन्त्रालयको असहमतिपछि यो काम रोकिएको छ ।
औद्योगिक क्षेत्रको १ सय ४३ रोपनी ओगटेको सरकारी स्वामित्वको धागो कारखाना हाल बन्द अवस्थामा रहेको छ । उद्योगीले धागो कारखाना सञ्चालन नगरिए त्यसले ओगटेको क्षेत्रफलमा अन्य उद्योग विस्तार गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।
यसो गर्न सकेमा औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगले आफ्नो दायरा वृद्धि गर्न चाहेमा जग्गाको अभाव नहुने बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष रामबहादुर गुरुङले बताउँछन् । ‘धागो कारखाना सञ्चालन गर्न नसक्ने हो भने किन जग्गा मात्रै ओगटेर बस्नु ?’ अध्यक्ष रामबहादुर गुरुङले प्रश्न गर्दै भन्छन्, ‘ओगटिएको क्षेत्रफलमा त अन्य उद्योगहरू विस्तार हुन पाउँथे ।’
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, बुटवलका प्रमुख तुलबहादुर रानाले रुपन्देहीको मोतीपुरमा बन्न लागेको औद्योगिक क्षेत्रले धेरै उद्योगीको समस्या समाधान गर्ने बताए । बुटवल औद्योगिक क्षेत्रमा नयाँ उद्योगको लागि बर्सेनि आवेदन परेपनि जग्गाको अभावमा इजाजत प्रदान गर्न नसकिएको उनले बताए ।
‘जग्गा अभावका कारण उद्योगीले झेल्दै आइरहेको समस्या मोतिपुर औद्योगिक क्षेत्रको निर्माण सम्पन्न भइसकेपछि समाधान भएर जान्छ,’ प्रमुख रानाले भने । हाल बुटवल औद्योगिक क्षेत्रमा रहेका ७२ उद्योगमध्ये ६५ वटा उद्योग चालू अवस्थामा रहेका छन् । सरकारको १ करोड ७९ लाख र निजी क्षेत्रको २ अर्ब ७० करोडमा २०३२ सालमा सो औद्योगिक क्षेत्रको स्थापना भएको हो ।
भदौबाट बस्ती व्यवस्थापन शुरू
रुपन्देहीको मोतीपुरमा खोल्न लागिएको प्रदेश स्तरीय औद्योगिक क्षेत्रमा आगामी भदौबाट बस्ती व्यवस्थापनको काम शुरू हुने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थान लिमिटेडका अनुसार साउनको अन्तिमसम्म औद्योगिक क्षेत्रमै कार्यालय खोली आधिकारिकरुपमा बस्ती व्यवस्थापनको काम शुरू हुनेछ ।
लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतले मोतिपुर औद्योगिक क्षेत्रको ८ सय १३ विगाहा जग्गामध्ये १ सय ५० विगाहा क्षेत्रफलमा बस्ती व्यवस्थापन गरिने जानकारी दिए । औद्योगिक क्षेत्रको पर्यावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गरिरहेको नेस कन्सल्टेन्सीले मोतिपुर औद्योगिक क्षेत्रको ईआईए अन्तिम चरणमा पुगेको बताएको छ । काठमाडौंस्थित कन्सल्टेन्सीले आगामी ३ महिनाभित्रै ईआईएको काम सक्ने बताएको हो ।
महाप्रबन्धक बस्नेतले बस्ती व्यवस्थापन र ईआईएको कार्य सम्पन्न भएपछि औद्योगिक क्षेत्रको प्लट वर्गीकरण हुने बताए । त्यसपछि मात्रै उद्योगहरूले इजाजतपत्र पाउन शुरू गर्ने उनको भनाइ छ । हाल लिमिटेडले उद्योग मन्त्रालयमार्फत् औद्योगिक क्षेत्रमा सञ्चालन हुन चाहने उद्योगबाट आशयपत्र संकलन गरिरहेको छ ।
उद्योगलाई प्रारम्भिक सूचिबद्ध गर्न उनीहरूबाट आशयपत्र संकलन गरिएको महाप्रबन्धक बस्नेतले बताए । ८ सय १३ बिघा क्षेत्रफल जग्गा छुट्याइएपनि १ सय ५० बिगाहा क्षेत्रफल जग्गा बस्ती व्यवस्थापन र झण्डै १ सय ६३ बिगाहा जग्गा वन तथा पर्यावरणीय व्यवस्थापनका लागि प्रयोग हुने भएकाले ५ सय बिगाहा क्षेत्रफलमा मात्र उद्योग सञ्चालन हुने छन् । लिमिटेडका अध्यक्ष एवं महाप्रबन्धक बस्नेतले मोतिपुर औद्योगिक क्षेत्रमा झण्डै ७ सय ठूला तथा मझौला उद्योग सञ्चालन गर्न सकिने बताए ।
साविकका मोतिपुर, फर्साटिकर, अमुवा, टिकुलीगढ र आनन्दवन गाविसमा गरी ८ सय १३ बिगाह क्षेत्रफल जग्गाको लालपूर्जा नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नेपाल सरकारबाट प्राप्त गरिसकेको छ ।