
बुटवल–उपचारमा भएको लापहरबाहीका कारण आफ्नै सहपाठी साथीको मृत्यु भएको भन्दै रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा बिद्यार्थीहरुले तोडफोड गरेका छन् ।
बीडिएस चौथौ वर्षमा अध्यनरत जनकपुरका २३ वर्षीय बिद्यार्थी महादेब शाहको मृत्युको बिषयलाई लिएर विद्यार्थीले कलेजको आईसीयू र सिसीसू कक्षमा तोडफोड गरेको कलेज प्रशासनले जनाएको छ । आईसीयू र सिसीयू कक्षमा आत्रमण गर्दा उपचारार्थ बिरामीहरु र उनीहरुका आफन्तहरुबीच कोलाहल मच्चिएको थियो ।
कलेजमै अध्यनरत आक्रोशित बिद्यार्थीहरुले कलेजको लापरवाहीका कारण आफ्नो साथीले ज्यान गुमाउन परेको भन्दै आन्दोलन घोषणा गरेका थिए । आन्दोलित विद्यार्थीहरुले अस्पतालको अन्य क्षेत्रमा पनि तोडफोड गरेका छन् ।
कसरी भयो मृत्यु ?
कलेजमा बीडिएस चौथौ वर्षमा अध्यनरत २३ वर्षीय महादेब शाह गत हप्ता मलद्वारमा संक्रमण भएपछि उपचारका लागि कलेजको अस्पतालमा भर्ना भएका थिए । त्यस बखत संक्रमण भएको स्थानबाट पिप निकालेको उपचारमा संलग्न चिकीत्सकले बताएका छन् । त्यसपछि उनी शुक्रवार राति आकस्मिक कक्षमा उपचार गराउन आउँदा उनको संक्रमण फैलिएर रगतसम्म पुगेको उपचारमा सम्लग्न चिकित्सक पवन बरालले बताए ।

‘त्यसलगतै बिरामीलाई आईसीयूमा राखेर उपचार गराएका हौँ,’ चिकित्सक बरालले भने, ‘अस्पतालमा उपचारका लागि आउँदा बिरामीको अवस्था निकै जटिल भएपछि हामीले उनको अभिभावकलाई पनि खबर गरेका हौ । बिरामीका एक जना दाइ मेडिकल पसल संञ्चालक भएकाले उहासंग बिरामीको अवस्थाका बारेमा हामीले तत्काल जानकारी गराएका थियौं ।’
बिरामी उपचारमा आउँदा उनको दुबै किड्नी फेल भएको अवस्थामा रहेको पनि चिकित्सक बरालको भनाइ छ । ‘घाउबाट निस्किएको पिपका कारण रगतमा इन्फेक्सन भै शरिरका महत्वपुर्ण अंङ्गहरुमा फैलिसकेका कारण अवस्था जटिल भइसकेको थियो,’ बरालले भने ।
बिद्यार्थीहरुले उपचारमा संम्लग्न चिकित्सकलगायत अस्पताल प्रशासनलाई कारबाहीको माग गरेका छन् । उनीहरुले अस्पतालको लापरबाहीका कारण बिद्यार्थीको ज्यान गएको दाबी गरेका छन् ।
आन्दोलित बिध्यार्थीद्वारा पत्रकारको क्यामेरा तोडफोड
आन्दोलित बिध्यार्थीहरुले खबर सम्प्रेषणका लागि भन्दै पत्रकारलाई पनि खबर गरेका थिए । तर खबर संकलनका लागि पुग्दा उनीहरुले पत्रकाहरुमाथि दुव्र्यवहार गर्नुका साथै क्यामेरा तोडफोड गरेका छन् । उनीहरुले एपिवान टेलिभिजनका स्थानीय संवाददाताको क्यामेर खोसेर फुटाइदिएका छन् । आन्दोलनका नाममा उग्र बनेका विद्यार्थीहरुले पत्रकाहरुमाथि पनि पटक पटक आक्रमणको प्रयास गरेका थिए ।

आक्रमणकारीलाई कारबाहीको माग
विद्यार्थीहरुबाट पीडित पत्रकाहरुले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यायल रुपन्देहीमा निवेदन दर्ता गराएका छन् । पत्रकार राधेश्याम बिश्वकर्मा र दिपक घिमिरेले दिएको निवेदनमा तोडफोड गरिएको क्यामेराको क्षतिपूर्ति र घटनामा सं लग्नलाई कारबहीको माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पनि घटनामा संलग्नहरुलाई कारबाहीको माग गरेको छ ।