३१ असार २०८३, बुधबार

मुख्य समाचार : बलात्कारको डरलाग्दो तथ्यांक-हरेक दिन तीन जना बलात्कृत, ढुकुटी रित्याउँदै प्रदेश सरकार

मुख्य समाचार : बलात्कारको डरलाग्दो तथ्यांक-हरेक दिन तीन जना बलात्कृत, ढुकुटी रित्याउँदै प्रदेश सरकार

काठमाडौं– नेपालमा हरेक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको छ । 

तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । बलात्कारको घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भायाभह तथ्यांक छ । 

बलात्कार प्रयासका घटना झन् बढी अर्थात हरेक वर्ष १६ प्रतिशतका दरले बढेको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार बलात्कृत हुनेमा सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेरका बालिका छन् । त्यसपछि १० वर्ष मुनिका बालिका छन् ।, नयाँ पत्रिकामा खबर छ ।

ढुकुटी रित्याउँदै प्रदेश सरकार
५ नम्बर प्रदेश सरकारले ४ वटा संघरसंस्थालाई ५१ लाख रूपैयाँ बाँड्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले बुटवल उद्योग वाणिज्य संघलाई ४० लाख, बुटवल टेक्निकल इन्स्टिच्यूट (बीटीआई) लाई १० लाख र बुटवल महिला जेसिजलाई १ लाख रुपैयाँ गरी ५१ लाख रूपैयाँ अनुदान स्वरूप दिने निर्णय गरेको हो । 

बुटवल उद्योग वाणिज्य संघको भवन प्रदेशसभा र प्रदेससभा सचिवालयको रूपमा प्रयोग भएको छ । अब ती भवन प्रदेश सभाका लागि प्रयोग हुने छन् । सरकारका प्रवक्ता भौतिक पूर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले संघ संस्थाका भवन प्रदेश सभाका लागि प्रयोग हुने भएका ती संघ÷संस्थाले अन्यत्र कार्यालय व्यवस्थापन गर्नका लागि रकम दिने निर्णय गरिएको जानकारी दिए ।

‘उहाँहरूले माग्नुभएको होइन । हामीहरूले आफै मनन गरेर ती संघ संस्थालाई अन्यत्र कार्यालय व्यवस्थापनका लागि रकम दिने निर्णय गरेका हौ,’ चौधरीले भने । अहिलेसम्म यति ठूलो रकम प्रदेश सरकारले अनुदान स्वरूप दिएको यो पहिलो निर्णय हो । कुन मापदण्डका आधारमा अनुदान रकम निर्धारण गरियो भन्ने विषय पनि खुलाइएको छैन ।

इन्काउन्टरमा मारिएका तामाङका अभिभावकले दिए उजुरी
काठमाडौं काँडाघारीका ११ वर्षीय बालक निशान खड्काको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी इन्काउन्टरमा मारिएका सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङको परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन् ।

गोपालका बुवा शुकराम तामाङ र आमा छिन्दोम तामाङ तथा अजयका बुवा निमा तामाङले बुधवार ललितपुरको हरिहरभवनस्थित मानवअधिकार आयोगको कार्यालयमा पुगेर उजुरी दर्ता गराएका हुन् । उजुरी दर्ता गराउने क्रममा अजयका बुवा निमा तामाङले आफ्नो छोरालाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको आरोप लगाए । 

यस्तै गोपालकी आमा छिन्दोमले रुँदै आफ्नो निर्दोष छोराको हत्या भएको बताइन् । निशान खड्काको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले सोमवार भक्तपुरमा गरेको इन्काउन्टरमा गोपाल र अजयको मृत्यु भएको थियो ।

मस्यौदा बनाउन सैद्धान्तिक स्वीकृति
प्रदेश नं ७ को सरकारले प्रदेश प्रहरीको सञ्चालन, नियमन र व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को अर्को बैठकमा पेश गर्ने गरी सम्बन्धित मन्त्रालयलाई मस्यौदा बनाउन स्वीकृति प्रदान गरेको बैठकपछि सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले जानकारी दिए ।

बैठकले प्रदेशसभा सचिवालयसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न तथा जग्गा प्रशासन तथा नापनक्शासम्बन्धी विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो । यसैगरी बैठकले प्रादेशिक उद्योग व्यवसाय सञ्चालन एवं व्यवस्थापन, नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) एवं अन्य प्राकृतिक स्रोतसाधन व्यवस्थापन, प्रदेश राष्ट्रिय वनको संरक्षण, सम्वद्र्धन एवं व्यवस्थापन, प्रदेश सवारी तथा यातायात व्यवस्था, प्रदेश जलस्रोत, प्रदेश सार्वजनिक सडक व्यवस्थापन, सामाजिक संघसंस्था (सञ्चालन तथा व्यवस्थापन) लगायतका विधेयकको मस्यौदा तर्जुमा गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 
  

कार्ययोजना पेश गर्न नेविसंघलाई निर्देशन
नेपाली काँग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई महाधिवेशन सम्पन्न गर्न सकिने आधारसहितको कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।नेविसंघको आन्तरिक संगठन र महाधिवेशनलाई सहजीकरण गर्न काँग्रेसले गठन गरेको संयन्त्रअनुसार निर्वाचित भएको मितिले आगामी भदौ २ गते केन्द्रीय कार्यसमितिको कार्यकाल पूरा हुँदैछ । 

महाधिवेशन हुन सक्नेगरी पर्याप्त तयारी नभइसकेको सन्दर्भमा संघको विधानमा उल्लेखित प्रावधानअनुसार विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने व्यवस्था छ । काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा रहेको संयन्त्रले सो प्रावधान लागू गर्नुपर्ने आवश्यकताअनुरुप कार्ययोजना पेश गर्न आज निर्देशन दिएको पार्टीले जनाएको छ ।

नेकपाः उपसमितिले प्रतिवेदन बुझाए
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट दुई विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) को एकताको निम्ति गठित तीनवटै उपसमितिले कार्यदललाई आआफ्नो प्रतिवेदन बुझाएका छन् । अन्तरिम विधान मस्यौदा, राजनीतिक तथा शैक्षिक र संगठन समायोजन मापदण्ड उपसमितिले तयार पारेको प्रतिवेदन पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका कार्यदलका सदस्य रवीन्द्र अधिकारी, रमेश मल्ल, अनेरास्ववियू अध्यक्ष नवीना लामा र क्रान्तिकारी अध्यक्ष रञ्जीत तामाङलाई बुझाइएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

कार्यदलका सदस्य मल्लले प्रतिवेदनका आधारमा भदौको पहिलो सातासम्ममा एकता पूरा गरिने जानकारी गराए । विधान मस्यौदामा ४९९ सदस्यीय केन्द्रीय समितिको संख्या प्रस्ताव गरेको छ । अहिले ४९९ बनाउने भए पनि महाधिवेशनबाट भने १९९ सदस्यीय कमिटी बनाउने प्रस्ताव गरिएको छ । संगठनको नाम के राख्ने भन्नेमा अझै कुरा मिलेको छैन । 

राष्ट्रियसभा बैठक
राष्ट्रियसभाको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफाबार छलफलको लागि विधायन समितिमा पठाएको छ । बुधबारको बैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालद्वारा प्रस्तुत विधेयकलाई सर्वसम्मतिले समितिमा पठाउने निर्णय गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २८ गते सोमबार ११ बजे बस्नेछ  ।

प्रदेश नं १ः बिहीबार सार्वजनिक बिदा 
प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने सार्वजनिक सूचना जारी गरेको छ । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयल सूचना जारी गर्दै बिहीबार बिदाको घोषणा गरेको हो । 

मन्त्रालयले प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णयअनुसार उल्लिखित बिदा दिने निर्णय भई सोको सूचना नेपाल राजपत्र खण्ड (१) विराटनगर, नेपाल, चैत २९ गते २०७४ (पूर्व अतिरिक्ताङ्क १(अ) मा प्रकाशन भएको समेत जानकारी दिएको छ ।

पूर्वमन्त्री विक पक्राउ 
महानगरीय प्रहरी परिसर काठमाडौँले नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)सहित तीन जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले मकवानपुरको हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बा १४ प २७२९ नं को सवारी साधन चेकजाँचका क्रममा कालीकोटका प्रकाण्डसहित कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालीकोटकै हरिचन्द्र आचार्यलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले विभिन्न उद्योगपति, व्यवसायीसँग अवैधरुपमा रु सात करोडभन्दा बढी चन्दा असुल गरेको भन्दै पक्राउ गरिएको जानकारी दिए । 

विमानस्थल अवरुद्ध हुँदा सास्ती
खोटाङका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । दुई विमानस्थलमा कालोपत्रेको काम र एउटामा पहिरोले क्षति पु¥याएपछि लामो समयदेखि हवाई सेवा अवरुद्ध भएको हो ।

सबै हवाईसेवा अवरुद्धपछि जिल्ला अस्पताल खोटाङबाट अन्यत्र पठाइएका बिरामी पनि समस्यामा परेका छन् । जिल्लावासीले चर्को मूल्यमा हेलिकप्टर चार्टर गरेर बिरामीलाई अन्यत्र लाने गरेका छन् । 

भारतीय ब्याटिङ प्रशिक्षक नेपाल आउँदै
एसिया कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टिममा ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक अपूर्व सुबोधभाइ देसाई आउने भएका छन् । अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म भारतमा हुने एसिया कप छनोटका लागि ब्याटिङ तयारी गर्न आफूहरुले देसाईको नाम आईसीसीमा सिफारिस गरेको नेपाली टिमका प्रशिक्षक जगत टमाटाले बताएका छन् ।

एसियाका टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट प्रक्रियाबाट गएको एक देशले एसिया कप क्रिकेट खेल्नेछ । भारतमा हुने छनोट खेलमा नेपालसँगै हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘ए’मा नेपाल, हङकङ र मलेसिया छन् ।

salt training

कमेन्ट गर्नुहोस्