०३ असार २०८३, बुधबार

विद्यालयको खानेपानीमा विष : गाउँलेलाई सपनाजस्तै ! गम्भीर बिरामीको आईसीयूमा उपचार हुँदै

विद्यालयको खानेपानीमा विष : गाउँलेलाई सपनाजस्तै ! गम्भीर बिरामीको आईसीयूमा उपचार हुँदै

विराटनगर – मोरङको लेटाङ नगरपालिकाको जाँतेस्थित श्री माध्यमिक विद्यालयमा बिहान करीब १० बजे अघि नै विद्यार्थी विद्यालयमा पुगिसकेका थिए । १० बज्न ५ मिनेट बाँकी हुँदा विद्यालयका प्रधानाध्यापक खेमराज दुलाल पनि विद्यालयमा पुगे ।

विद्यालयमा प्रधानाध्यापक पुग्दा चहलपहल थियो । विद्यालयमा ४ सय ९२ विद्यार्थी छन् । केहीबेरमा जब केही विद्यार्थी एकाएक पेट दुख्यो भन्न थाले, अनि खोजबिन शुरू भयो । त्यही बिचमा केही विद्यार्थी कार्यालयमा रहेको खानेपानी पिउन गएका थिए । शिक्षक तथा अन्य कर्मचारीले धाराको पानी खानुस् भन्दा विद्यार्थीले गन्ध आएको र खानै नहुने रहेको भनेपछि बल्ला विद्यालयले त्यता ध्यान दियो ।

धारामा गएर पानीको अवस्था बुझ्दा विषादी भएको थाहा पाएपछि त्यसबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरी आएको थियो । प्रधानाध्यापक दु्लालका अनुसार विद्यालयको खानेपानी ट्यांकीमा विषादी मिसिएको पाइएपछि विद्यालय विदा गरिएको थियो । त्यसपछि विद्यार्थी बिरामी पर्न थालेको खबर आएपछि विद्यालयले गाउँभरि माइकिङ नै गराउनु परेको प्रधानाध्यापक दुलालले बताए । 

जब गाउँमा माइकिङ भयो, त्यो बेलासम्म धेरै विद्यार्थी घरमा बिरामी परिसकेका थिए । बिरामी परेका विद्यार्थीलाई विद्यालयले उपचारको लागि उपस्वास्थ्य चौकी उर्लावारी ल्याएको थियो । उर्लावारी ल्याएका बालबालिकामध्ये २१ जनाको उपस्वास्थ्य चौकीमा उपचार भएको थियो भने अन्य ४ जनालाई थप उपचारको लागि विराटनगरमा रहेको नोबेल मेडिकल कलेज ल्याइएको छ ।

उपस्वास्थ्य चौकीमा भर्ना भएकामध्ये केही बालबालिका उपचारपछि घर फर्किएका छन् भने केही बालबालिकाको त्यही उपचार भइरहेको प्रधानाध्यापक दुलाले बताए । 

४ जना नोबेलमा

बढी बिरामी भएका सृष्टी निरौला, मनिष थापा, कविता लिम्बु र खुस्बु मिश्रको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ । ४ जनामध्ये खुस्बु मिश्रलाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

कक्षा ९ मा पढ्ने छोरी विषको कारण बिरामी भएको थाहा पाएर आएका फौदराज लिम्बु पनि छोरीसँगै नोबेल अस्पतालमा भेटिए । पहिला कहिल्यै यस्तो नभएको बताएका फौदराजले आज विद्यालयमा भएको घटना सपनाजस्तो लागेको सुनाए । ‘खै आज त के भयो भयो ? अस्पतालमा २४ घण्टासम्म राख्नुपर्छ भनेर डाक्टरले भनेका छन्,’ उनले भने ।

बिरामी विद्यार्थीका अभिभावक सिता निरौलाको बयान :-

बिहान ९ बजे नै छोरीहरू विद्यालय हिँडेका थिए । विद्यालय गएको केही घण्टामै उनीहरू घर फर्किए । बिहान पौने ११ बजे घरमा फर्किएका थिए । बालबालिका भुँडी पोल्यो भन्दै घर आएपछि मलाई डर लाग्यो ।

कागती, मोही खुवाएँ, त्यसले पनि केही गरेन, साबुन घोलेर फिँज खुवाएँ, त्यसले पनि काम नगरेपछि स्कूलको सरलाई फोन गरेर बोलाएँ । सर आएर हेरेपछि सरहरूले मंगलवारे लग्नु भन्नुभयो । दुवै छोरी सृष्टी निरौला र सिर्जना निरौला दुबै बिरामी परेका थिए ।

कान्छी सिर्जनाको मंगलवारेमा उपचार भइरहेको छ भने ठूली सृष्टीलाई लिएर नोबेल अस्पतालमा बसेकी छु । 

salt training

कमेन्ट गर्नुहोस्