
धनगढी- धनगढी उपमहानगरपालिका बजार क्षेत्रमा मोटरसाइकल पार्किङ स्थल निर्माणमा जुटेको छ ।
पार्किङको ठूलो समस्या रहेको प्रदेश–७ को अस्थायी राजधानी धनगढीमा पार्किङ स्थल निर्माणमा नगरप्रमुख (मेयर) नृप वडले सक्रियता देखाएका छन् ।
शुक्रबार मात्रै धनगढीको तत्कालिन जिल्ला पशु स्वास्थ्य कार्यालय अगाडी धनगढी उपमहानगरपालिकाले निःशुल्क मोटरसाइकल पार्किङ स्थल सञ्चालनमा ल्याएको छ ।
पार्किङ स्थलको उद्घाटन गर्दै नगरप्रमुख वडले भने–‘अर्को व्यवस्था नभएसम्मका लागि मुख्य बजारको सडक क्षेत्रमा रहेको खुला ठाउँलाई सदुपयोग गरी पार्किङ निर्माण गर्दैछौ ।’
धनगढी उपमहानगरपालीकाले बजारको चौराहा र जिल्ला प्रशासन कार्यालय नजिक पनि मोटरसाईकल पार्किङ स्थल निर्माण गरिने जनाएको छ ।
धनगढीको मुख्य बजारमा रहेका बैंक र अस्पताल अगाडी सेवाग्राहीका मोटरसाईकल बाटो नै छेक्नेगरी पार्किङ गरिका हुन्छन् । बजारको सवारी चाप र अव्यवस्थित पार्किङ्गले बजार क्षेत्र अस्तब्यस्त हुने आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले तोकिएको ठाउँमा पार्किङ्ग नगर्नेलाई कारवाही गर्ने जनाएको छ । पार्किङ गर्ने ठाउँमा रेखांकन गरिएको छ भने पार्किङ स्थल भनेर बोर्ड पनि राखिएको छ ।