०३ असार २०८३, बुधबार

'सरकारी अस्पताल भनेर सेवा लिन आयो, औषधिजति मेडिकलबाट महँगोमा किन्नुपर्छ'

भदौ २, २०७५
'सरकारी अस्पताल भनेर सेवा लिन आयो, औषधिजति मेडिकलबाट महँगोमा किन्नुपर्छ'

गोरखा–जिल्ला अस्पतालको फार्मेसीमा आवश्यक औषधि नभएको बिरामीले गुनासो गरेका छन् । अस्पतालले आफैँ फार्मेसी सेवा सञ्चालन गरे पनि निःशुल्क औषधिसमेत बाहिरबाट किन्नुपरेको बिरामीका आफन्तको भनाइ छ ।

म तीन महिनादेखि बुबाको चेकजाँचका लागि निरन्तर आइरहेको छु, अस्पताल परिसरमा भेटिएका हर्क रानाले भन्नुभयो, निशुल्क औषधि पनि बाहिर किनेर लैजानु परेको छ, भित्र पाइँदैन । ८१ प्रकारका औषधि निःशुल्क उपलब्ध गराएको अस्पतालले दाबी गरे पनि एमोक्ससिलिन जस्ता सर्वसुलभ औषधि त्यहाँको फार्मेसीमा छैन । 

देशभरका स्वास्थ्य संस्थामा निःशुल्क भनिएको उक्त औषधि जिल्ला अस्पताल गोरखामा विगत २ महिनायता नभएको अस्पताल स्रोतले बताएको छ । सामान्य समस्या ज्वरो, रुघाखोकीका बिरामीले पनि अस्पतालबाट औषधि पाएका छैनन् । 

फार्मेसीका स्वास्थ्यकर्मीले औषधि छैन भन्दै अनेक आलटाल गरेर बिरामीलाई रित्तै पठाउने गरेको अस्पताल परिसरमा भेटिएका अर्का सेवाग्राही सुमन गुरुङले बताउनुभयो । 

सरकारी अस्पताल भनेर सेवा लिन आयो, औषधिजति मेडिकलबाट महँगोमा किन्नुपर्छ, उहाँले भन्नुभयो, फार्मेसीमा औषधि ल्याए त मेडिकलले के व्यापार गरुन् र ?, अहिले अस्पतालको फार्मेसीमा निःशुल्क भनिएका आधा पनि औषधि छैनन् । मेडिकलसँगको मिलेमतोमा अस्पतालले औषधि खरिदमा चासो नदिएको कतिपयको आरोप छ ।, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्