
विराटनगर- विराटनगर जुटमिलको विवाद बढ्दै गएको छ । व्यवस्थापनको अध्यक्षमा दुई जनाले दाबी गर्दा मिलमा विवाद यथावत नै रहेको छ । मिलमा अहिले मुकुन्दप्रसाद नेपाल र बसन्त वन संञ्चालक समितिको अध्यक्षको रुपमा दाबी गर्दै आएका छन् ।
दुबै पक्ष आफ्नै अडानका साथ अगाडि बढेका वन र नेपाल पक्ष बीच भदौ १८ आईतबार दुई पक्ष विच छलफल भएको थियो ।
बसन्त वनको पक्ष र पुराना कर्मचारी बार्तामा बसेका थिए । लामो समयसम्म वार्ता हुँदा पनि एक आपसमा सहमति हुन सकेन ।
आपसी सहमति हुन नसकेपछि मुकुन्द प्रसाद नेपालको पक्षले एक महिना अगाडि लगाएको ताला आईतबार बसन्त वन पक्षका कर्मचारी तथा मजदुरहरुले तोडेका छन् ।
इलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाको रोहबरमा ताला कर्मचारीले तोडेको मिलका प्रशासन सहायक मनोज पुरीले जानकारी दिए । गत साउन १ गते विराटनगरको जुटमिल प्रशासनमा करार अवधि सकिएर निष्काशनमा परेका कर्मचारीहरूले तलब भत्ता नदिएको भन्दै तालाबन्दी गरेका थिए ।
प्रशासनमा ताला लगाए पनि मिल भित्र भने काम भईरहेको थियो । तर पुनः करार अवधि सकिएर निष्काशनमा परेका कर्मचारीहरूले साउन १६ गते मिल भित्र प्रवेश गर्ने मुल गेटमा नै ताला बन्दी गरको मिलका कर्मचारी सतिश देवानले बताए । पटक पटक वार्ता र छलफलमा बसेका कर्मचारी व्यावस्थपन पक्ष विच सहमति नटुङ्गिएपछि गेटमा लगाईएको ताला फोडेर काम गर्न सुरु गरिएको हो । वसन्त वनका पक्षहरुले सोमबार विहानैदेखि मिल भित्र बगैचा तथा मिलका पार्टपुर्जा सरसफाई गर्ने काम गरिहेका छन् ।
जुटमिल प्रशासन व्यवस्थापन पक्षले एकलौटी ताला तोडेको भन्दै पुराना करारका कर्मचारी अपत्ती जनाएका छन् ।
कामबाट निस्काशन गरिएका कर्मचारीहरूमा मनोजकुमार खड्का, दिनानाथ सिंह, जीतेन्द्र मण्डल, राकेश कर्ण, विपिन कोइराला, अवधेश सिंह, शुक्रराज लिम्बू, बिमला काफ्ले, योगेश काफ्ले र रमा ज्ञावाली रहेका छन्।
उनीहरूले आफूहरूले पाउनु पर्ने सेवा सुविधा नपाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । जुटमिलका अध्यक्ष वसन्त वनले जीर्ण रहेको मिलले विस्तारै तलब भुक्तानी गर्दै जाने बताएका छन् ।