
बुटवल – नेपाल यातायात स्वतन्त्र मजदूर संगठन प्रदेश नम्बर ५ बुटवलले मुलुकी फौजदारी (संहिता) ऐन – २०७४ मा रहेका यातायात क्षेत्रसँग सम्बन्धित केही व्यवस्था सच्याउन माग गर्दै प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ ।
संगठनका अध्यक्ष कृष्णप्रसाद कंडेल सहितको एक टोलीले सोमवार प्रदेश नम्बर पाँचका भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीलाई ज्ञापनपत्र बुझाउँदै चालकको लापरवाहीबाट दुर्घटना भई त्यसैको कारणबाट कुनै मानिसको मृत्यु हुँदा हुने सजायसम्बन्धी बुँदामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताए ।
‘लापरवाही भनेको के हो ?’ कंडेलले भने, ‘लापरवाही पुष्टि गर्ने वैज्ञानिक आधार के–के हुन् ? मनसाययुक्त लापरवाही र भवितव्य दुर्घटनालाई वैज्ञानिक अनुसन्धान गरी कारण पत्ता लगाउनुपर्छ । दुर्घटनाको सबै दोष चालकलाई दिएर सजायको भागिदार बनाउनु हुँदैन ।’ कुनै पनि चालकले आफूले जानीजानी दुर्घटना नगराउने कंडेलको भनाइ छ ।
ज्ञापनत्र बुझ्दै मन्त्री चौधरीले चालकहरू पनि मर्यादित बन्नुपर्ने बताए । साथै उनले ऐनमा भएका व्यवस्थाबारे छलफल गर्न सकिने पनि बताए ।
साथै लामो समयदेखि सवारी चालक अनुमतिपत्र वितरण नभएको भन्दै त्यसप्रति पनि संगठनले ध्यानाकर्षण गरेको छ ।
सवारी चालक अनुमति पत्र वितरण नहुँदा एक जना चालकले धेरै सवारी साधान चलाउनुपर्ने बाध्यताले दुर्घटना वृद्धि हुने सम्भावना बढेको बताइएको छ । संगठनले यथाशीघ्र सवारी चालक अनुमतिपत्र उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ ।
कार्यक्रममा यातायात मजदूर तथा व्यवसायी भलाइ कोषका पूर्व अध्यक्ष नारायणप्रसाद भट्टराई, ठाकुर गैरे, सन्तोष केसी लगायतको टोली सहभागी थियो ।