
काठमाडौं – माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकएस्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकले केन्द्रीय कार्यालय लगायत मुलुकभर रहेका शाखा कार्यालयबाट सहज रूपमा लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले देशभर ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत २७ शाखारहित बैकिङ्ग सेवा समेत गरी १ सय १५ स्थानबाट ग्राहकलाई सम्पूर्ण बंैकिङ्ग सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर ९९ वटा एटीएम सञ्चालनमा रहेका छन् ।